बंशीधर बंगलादेश, नारदनाथ कतार, महेशराज अस्ट्रेलिया र दावाफुटी स्पेनको राजदूत नियुक्त

प्रतिनिधिसभा अन्तर्गत संसदीय सुनुवाई समितिको सोमबारको बैठकमा स्पेनका लागि प्रस्तावित नेपाली राजदूत दावाफुटी शेर्पाको सुनुवाई हुँदै । तस्वीर – रोशन सापकोटा

संसदीय विशेष सुनुवाइ समितिले चार देशका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको सोमबार सिंहदरबारमा भएको बैठकले प्रस्तावित राजदूत क्रमशः बङ्गलादेशका लागि डा वंशीधर मिश्र, कतारका लागि डा नारदनाथ भारद्वाज, अष्ट्रेलियाका लागि महेशराज दाहाल र स्पेनका लागि दावाफुटी शेर्पालाई अनुमोदन गरेको हो ।

समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित चार जना राजदूतको सुनुवाइ भएको र उनीहरूको योग्यता, क्षमता र अनुभवका आधारमा उक्त पदका लागि नाम सर्वसम्मतिले अनुमोदन भएको सञ्चारकर्मीलाई जानकारी दिए।

परराष्ट्र मन्त्रालयको पत्रबमोजिम नेपालको संविधानको धारा, २९२ को उपधार १ बमोजिम संसदीय सुनुवाइका लागि पठाइएकामा सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली–२०७५ को नियम २५ र २६ तथा समितिको कार्यविधि–२०७५ बमोजिम चार राजदूतको सुनुवाइपछि नाम अनुमोदित गरेको हो । मन्त्रिपरिषद्को गत जेठ २३ गते भएको बैठकले चार जनालाई प्रस्तावित राजदूतका लागि सिफारिस गरेको थियो ।

सरकारले राजदूतका लागि सिफारिस गरेका चारै जना राजदूतको सोमबारै सुनुवाइ भएको थियो । सम्बन्धित देशका लागि प्रस्ताविज राजदूतले समितिसमक्ष आ–आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए। उनीहरूले कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ बनाई, लगानी भित्र्याउने, पर्यटन प्रवद्र्धन तथा श्रमिकका समस्या समाधानतर्फ योजनाबद्ध कार्य अघि बढाउने योजना सुनाए।

समितिका सदस्य सुरेन्द्र पाण्डे, ज्ञानेन्द्रबहादुर कार्की, राजेन्द्र श्रेष्ठ, योगेश भट्टराई, पुष्पा भुसाल, पूर्णकुमारी सुवेदी, पार्वत गुरुङ, निरुदेवी पाललगायतले प्रस्तावित राजदूतलाई राजदूत बनेपछि गर्ने कामका बारेमा प्रश्न गरेका थिए।

राजदूतमा अनुमोदन हुनुभएकामध्ये बङ्गलादेशका लागि राजदूत डा मिश्र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता हुन्। उनी यसअघि स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भइसकेका छन्।

कतारका लागि राजदूत अनुमोदित भएका डा भारद्वाज पुराना कम्युनिष्ट नेता हुन्। उनले तत्कालीन झापा विद्रोहमा सक्रिय भई १२ वर्ष जेल जीवन बिताएका थिए।

तत्कालीन नेकपा (एमाले) का सल्लाहकार सदस्य तथा विदेश विभाग सदस्यसमेत रहेका भारद्वाज अङ्ग्रेजी साहित्यका ज्ञाता र लेखकसमेत हुन्।

अष्टे«लियाका लागि नेपाली राजदूत दाहाल नेपाल टेलिभिजनका पूर्वअध्यक्ष र नेपाल जेसिसका केन्द्रीय अध्यक्षसमेत हुन्। अनुसन्धान र तालीममा उनको लामो अनुभव छ ।

त्यसैगरी स्पेनको राजदूतमा अनुमोदन हुनुभएका दावाफुटी शेर्पा प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाकी छोरी हुन्। अमेरिकामा अध्ययन गरेर हालै नेपाल फर्किएकी उनी पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानको अध्यक्षसमेत हुन्।

प्रकाशित मिति: : 2019-07-08 23:10:22

प्रतिकृया दिनुहोस्