भक्तपुर १ ‘ख’मा नेकपाका देवीप्रसाद ढकालले दिए उम्मेदवारी

बिएल

प्रदेशसभा सदस्यका लागि भक्तपुर १ ‘ख’मा हुने उपनिर्वाचनमा नेकपाका देवीप्रसाद ढकाल (डीपी)ले उम्मेदवारी दर्ता गरेका छन् ।

दुई वर्षअघि यो क्षेत्रबाट तत्कालीन एमालेबाट हरिशरण लामिछाने निर्वाचित भएका थिए । उनको मृत्यु भएपछि मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो ।

ढकालले नेता बामदेव गौतम, पूर्वमन्त्री तथा सांसद महेश बस्नेतलगायत नेताहरुको उपस्थितिमा उम्मेदवारी दर्ता गराएका हुन् । ढकाल नेकपा भक्तपुरका जिल्ला कमिटी सचिवसमेत हुन् ।

यस्तै नेपाली कांग्रेसबाट कृष्ण भँडेलको पनि उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ताका क्रममा कांग्रेस कार्यकर्ताहरु जुलुसहित निर्वाचन कार्यालय पुगेका थिए ।

भक्तपुर प्रभाव क्षेत्र भएको नेपाल मजदुर किसान पार्टीले निरज लवजुलाई उम्मेदवार बनाएको छ । उनले पनि दलबलसहित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।

सो क्षेत्रबाट राप्रपा संयुक्तका रामशरण लामिछानेले पनि उम्मेदवारी दिएका छन् ।

यस्तै समाजवादी पार्टीबाट सुदर्शन मुनकर्मीले मनोनयनपत्र दर्ता गराएका छन् भने साझा पार्टीबाट सुरज प्रधानले पनि उम्मेदवारी दर्ता गराए ।

सो क्षेत्रबाट तीन स्वतन्त्र उम्मेदवारले समेत उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति: : 2019-11-07 13:52:24

प्रतिकृया दिनुहोस्