ओलीबाट नेपाल झन एक्लिए, प्रचण्डलाई पार्टीको कार्यकारी नेतृत्व मिल्ने संकेत

काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि विदेश जाने सम्भावना बढिरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा सञ्चालनको सक्रिय कार्यकारी नेतृत्वका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्राप्त हुने संकेत देखा परेको छ। यसअघि उपचारका लागि ओली सिंगापुरमा हुँदा दाहाललाई त्यही हैसियत प्राप्त भएको थियो ।

तर ओली स्वदेश फर्किएपछि आफ्ना पूर्व आश्वासन कार्यान्वयन नगर्ने मुडमा देखिएको भन्दै दाहाल र ओलीबीच दूरी बढेको सूचनाहरु आएका थिए। त्यो दाहालले सार्वजनिक कार्यक्रममा दिएका केही अभिव्यक्तिबाट पनि बुझिएको थियो । 

पार्टी उच्च स्रोतका अनुसार ओली फेरि उपचारका लागि विदेश जाने अड्कलबाजी भइरहँदा ओली र दाहालबीच निकटता बढेको मात्रै होइन दुवैजना पार्टीका अर्का वरिष्ठ नेता माधव नेपाललाई झन अलग्याउने या कमजोर बनाउने खेलमा लागेका छन् र केही हदसम्म सफल पनि देखिएका छन् उनीहरु।

हालै सात प्रदेशका प्रमुखहरुलाई वर्खास्त गरी नयाँ प्रदेश प्रमुखहरु नियुक्त गर्ने क्रममा ओली र दाहाबीच पूर्व एमाले र माओवादीका गरी चार र तीनका आधारमा बाँडफाँड गरिएको थियो।

नेकपा सचिवालय बैठकले प्रदेश एकमा सोमनाथ अधिकारी, प्रदेश २ मा तिलक परियार, प्रदेश तीनमा विष्णु प्रसाईँ, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश पाँचमा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदुरपश्चिममा  शर्मिला त्रिपाठीलाई नियुक्त गरेको थियो।

र, ओलीले दाहालप्रति देखाएको उदारता पूर्व एमाले र माओवादीबीच एकताका क्रममा भएका बाँडफाँड भन्दा ठूलो हो ।

 

प्रकाशित मिति: : 2019-11-07 18:21:26

प्रतिकृया दिनुहोस्