विप्लव समूहसँग वार्ता गर्न जेलदेखि अज्ञात स्थलसम्म सत्तारूढ दलका नेता, सरकारका प्रवक्ता भन्छन्  वार्ता के का लागि गर्ने?

बीएल

काठमाडौं । प्रतिबन्धित नेत्र विक्रम चन्द (बिप्लव) नेतृत्वको माओवादीसँग वार्ताका वातावरण बनाउन भन्दै सत्तारूढ दल नेकपाका नेताहरू जेलमा विप्लव समूहका नेता भेट्नदेखि अज्ञात स्थलमै पुगेर अनौपचारिक छलफल थालेका छन्।

तर, सरकारले भने विप्लवसँगको वार्ताका बारेमा फरकमत राखेको छ।

मन्त्रिपरिषदले गरेका निणर्य सार्वजनिक गर्न बिहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विप्लव समूहसँगको वार्ताबारे फरक मत राखेका छन्।

पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले हिंसालाई वैद्यता दिने विप्लव समूहले वार्ताको हल्ला चलाएको भन्दै बाहिर वार्ताको जे जति हल्ला चलेको छ, त्यसको सार्थकता नभएको बताए।

बाँस्कोटाले हिंसालाई वैधता दिने विप्लव समूहले वार्ताको हल्ला चलाएको आरोपसमेत लगाए।

विप्लव समूहले आफ्नो फाईदाका लागि वार्ताको प्रचार गरेकोसमेत दाबी गरे।

‘प्रचारको लाभ लिन, क्षयीकरण भएको शक्ति आर्जन गर्न र हिंसालाई वैद्यता दिन ‘हिंसा गर्ने समूह’ ले वार्ताको चलाएको हो,’ मन्त्री बाँस्कोटाले भने।

पत्रकार सम्मेलनमै उनले ‘हिंसा गर्ने समूहले वार्ता गर्ने कुरा गन्तव्य बिनाको वार्ता र हिंसालाई वैद्यता गराउने कुराजस्तो मात्रै हुने दाबी गरे। ‘हिंसा गर्ने समूहले वार्ता गर्ने कुरा गन्तव्य बिनाको वार्ता र हिंसालाई वैधता गराउने कुराजस्तो मात्रै हुन जान्छ कि जाँदैन?’

अहिलेको अवस्थामा विप्लव समूहसँग वार्ताको सम्भावना नभएको भन्दै उनले कमजोर धरातलमा उभिएर वार्ता–वार्ता भनेर नहुने जिकिर गरे।

‘वार्ता केका लागि? किन गर्ने? विचार नगरी हिंसात्मक रूपमा हिँडेको समूहसँग वार्ता गर्ने?,’ मन्त्री बाँस्कोटाले प्रश्न गरे।

'उहाँहरुले संविधान काम नलाग्ने, राज्य व्यवस्था काम नलाग्ने भनेर अर्को चिज माग्नु भएको छ,' उनले प्रश्न गरे, ‘के हामी त्यहाँ पुगेको हो?’

विप्लव समूहले बाहिर ल्याएका कुरा अनुचित, गैरजिम्मेवार र असम्भव र आधुनिक दुनियाँ र नेपालले थेग्न नसक्ने माग रहेको उनले बताए।

यता सत्तारूढ दल नेकपाका नेताहरूले विप्लव माओवादीसँग वार्ता गर्ने भन्दै जेलदेखि अज्ञातस्थलमा धाउँदै गरेका छन्।

यता मन्त्री बाँस्कोटाले अनौपचारिक कुराकानी र प्रयास सामान्य रहेको बताउँदै बाहिर आएजस्तो केही नभएको जिकिर गरे।

यस्ता समूहले वार्ता दाउपेच र शक्ति सञ्चयका लागि गर्ने गरेकाले सरकार सचेत रहेको बताए। यस्तै अवस्था २०५२ देखि झेलेको उल्लेख गरे। वार्ताअघि पक्राउ परेका विप्लव समूहका नेताहरु रिहा गर्न नसकिने जानकारी दिए।

प्रतिस्पर्धा गर्ने उद्देश्यका साथ शान्ति, लोकतन्त्र, संविधान र नागरिअधिकारमा प्रश्न नउठाउने हो भने वार्ता गर्न तयार रहेको बताए। उनले भने, ‘हिंसा त्याज्य हुन्छ। यसमा स्पष्ट भएर आउनुहुन्छ भने हामी कुरा गर्न तयार छौं। तर, हो-हल्ला मच्चाएर प्रचारका लाभ लिने उनीहरुको चक्रमा सरकार फस्दैन।’

उनले हिंसा छाडियो, प्रतिष्पर्धाको राजनीतिमा आइयो, संविधान मानियो भनेर विप्लव समूहले भन्यो भने स्वागत गर्ने बताए।

यस्तो बेला सरकारका प्रवक्ताको यस्तो धारणाले वार्ताबारे फेरि शंका पैदा भएको छ।

प्रकाशित मिति: : 2019-07-18 18:14:38

प्रतिकृया दिनुहोस्