कैलाली बिस्फोटको जिम्मा नेकपाले लियो (विज्ञप्तिसहित)

फाइल तस्बिर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले बिहिबार कैलालीमा भएको बम विस्फोटमा परी ज्यान गुमाउने राम बहादुर सिंहलाई शहिद घोषणा गरेको छ।

साथै उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारजनप्रति समावेदना तथा दुःख समेत व्यक्त गरेको छ। पार्टी कामको सिलसिलामा आत्म सुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ विस्फोट भएर उनको ज्यान गएको नेकपाले जनाएको छ।

बिहिबार नेकपा सेती महाकाली ब्यूरो इन्चार्ज निर्माणले एक विज्ञप्ति सार्वजनिक गर्दै घटनामा घाइते भएका सर्वसाधारणहरुको सिघ्र स्वास्थ्य कामना गरेका छन्।

‘हिजो साँझ धनगढी उप-महानगरपालिका सहिद गेटनजिकै पार्टी कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ विस्फोट हुदाँ सहादत प्राप्त गर्नुभएका राम बहादुर सिंह क. राजेशलाई एकीकृत जनक्रान्तिका महान सहिद घोषणा गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यत गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समावेदन प्रकट गर्दछ,’ इन्चार्ज निर्माणद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

घटना घट्नुको मुख्य जिम्मेवार वर्तमान सरकार रहेको दाबी गर्दै इन्चार्ज निर्माणले घाइते परिवारप्रति गहिरो सहानुभूति प्रकट गरेका छन्।

विज्ञप्तिमा अगाडि भनिएको छ- ‘बिस्फोटमा परी घाइते हुनुभएका सर्वसाधारण नागरिकको स्वास्थ्य लाभको कामनासहित परिवारजनप्रति गहिरो सहानुभूति प्रकट गर्दछौं। घाइतेहरुको उचित उपचारको ब्यबस्था पार्टीले गर्ने प्रतिबद्धतासहित अस्पताल अस्पताल परिवार र उपचारमा संग्लन स्वास्थ्यकर्मीहरुमा उपचारमा कुनै पनि कमी हुन नदिन पार्टी बिनम्र अनुरोध गर्छ।’

इन्चार्ज निर्माणले घाइतेहरुको उपचारको व्यवस्था पार्टीले नै गर्ने प्रतिबद्धता व्यक्त गर्दै अस्पताल परिवारलाई समेत उपचारमा कमी आउन नदिन आग्रह गरेका छन्।

उनले उक्त घटनाक कारण सर्वसाधारण जनतामा पर्न गएको असरप्रति समेत दुख व्यक्त गरेका छन् । घटना घट्नुको मूल कारण दलालपुजीवादी संसदीय व्यवस्था भएकोले यसको सम्पुर्ण जिम्मा केपी ओली नेतृत्वको सरकारले लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

‘यस घटनाले सर्वसाधारण नागरिकहरुमा पर्न गएको असहजताप्रति दुख व्यक्त गर्दछौं । यो दु:खद घटनाको पछाडिको मूल कारण दलालवादी संसदीय व्यवस्था भएकाले यसको सम्पूर्ण जिम्मा केपी ओलीको सामाजिक फासिवादी सरकारले लिनुपर्छ।’

बिहिबार साँझ भएको उक्त बिस्फोटमा परी गम्भीर घाइते राम सिंहको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा गए राति ११:१५ बजे मृत्यु भएको थियो।

सिंहको कम्मर पछाडिको भागमा गम्भीर चोट लागेको थियो। घाइते भएसँगै माया मेट्रो अस्पताल पुर्‍याइएका सिंहलाई चिकित्सकले तत्काल बाहिर लैजान सिफारिस गरेका थिए । तर, थप उपचारका लागि बाहिर लैजाने प्रयास हुँदाहुँदै उनको ज्यान गएको प्रहरीले जनाएको छ।

उनको शव अहिले पोस्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ। सिंह बझाङका स्थायी बासिन्दा हुन्।

यस्तै अर्का घाइते कञ्चनपुरको बेलडाँडी गाउँपालिका ५ का लक्ष्मण सेरेलाको अवस्था पनि गम्भीर छ। उनको पनि कम्मर आसपासको क्षेत्रमा शरीरभित्र फलामका टुक्रा अड्किएका छन्। उनको, सल्यक्रिया गरेर शरिरमा रहेका फलामका टुक्रा निकालिने अस्पताल स्रोतले बताएको छ।

विष्फोटमा होटल छेउमै ग्यारेज गरी बसेका भारतको लखिमपुर जिल्लाका मोबिन खान, धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का जितेन्द्र यादव र होटल मालिक केशवराज पाण्डे पनि घाइते भएका छन्। उनीहरुको अवस्था खतरामुक्त भएको अस्पतालले जनाएको छ। ग्यारेज सञ्चालक खान र जितेन्द्र यादव होटलमा चिया खान बसेका थिए।

यादव पशुपंक्षी व्यवसायी संघका कैलाली जिल्ला अध्यक्ष हुन्। यादवको शरीरभरि छर्रा लागेको छ भने खानको मुखमा ठुलो चोट लागेको छ। घाइते सबैको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: : 2019-07-19 12:59:19

प्रतिकृया दिनुहोस्