सुडानी सैन्य शासक र आन्दोलनकारीबीचको वार्ता पछि सर्‍यो

तस्बिरः एजेन्सी

खार्तुम । सुडानका सैन्य शासक र आन्दोलनकारीबीचको वार्तापछि सरेको छ।

शक्ति बाँडफाँडको विषयमा दुई पक्षकाबीचमा सहमति भएको भोलिपल्ट हुने तय भएको वार्ता अनिश्चित समयका लागिपछि सरेको एक नेताले शुक्रबार जानकारी दिएका छन्।

‘आन्दोलनकारी शक्तिहरूसँग हुने भनिएको वार्ता पछाडि सरेको छ,’सुडानी प्रभावशाली नेता ओमर अल डाइजरले एएफपीसँग भने,‘संयुक्त दृष्टिकोण बनाउनुभन्दा पहिले हामीलाई अझ धेरै आन्तरिक छलफल र परामर्शको आवश्यकता देखिएको छ।’

उनले वार्ताका लागि अर्को कुनै मिति तय भइनसकेको पनि जानकारी दिए।

अर्का आन्दोलनकारी नेता सिद्धिग यौसेफले पनि वार्ता पछाडि सरेको पुष्टि गरे। अहिले सैन्य सरकार रहेकोमा नागरिक-सैनिक संयुक्त सरकार बनाउने उद्देश्यले दुई पक्षकाबीचमा बिहीबार मात्रै प्रारम्भिक ‘राजनीतिक घोषणा’ भएको थियो ।

शुक्रबार हुने भनिएको वार्तामा दुई पक्षले विविध विषयलाई समेटेर ‘संवैधानिक घोषणा’लाई अन्तिमरूप दिने तयारी थियो। उनीहरुले आन्दोलनका क्रममा आन्दोलनकारी विरुद्ध भएको हिंसा, सङ्क्रमणकालीन संसद्को गठन, सांसदहरूको भूमिकालगायतका विषयलाई पनि समेट्ने गृहकार्य गरेका छन्।

सरकार विरुद्ध भएको आन्दोलनमा सहयोग गरेका तीन ओटा विद्रोही सङ्गठनले भने बिहीबार भएको सम्झौताप्रति असन्तुष्टि जनाएका छन्। ‘असन्तुष्टमध्येको सुडान रिभोलुसनरी फ्रन्टसँग वार्ता गर्न म अदिस अबाबातर्फ जाँदैछु’ डिजरले भने। अर्का नेता यौसेफले पनि विद्रोहीहरू खुशी नभएको बताए।

सुडानमा लामो समयदेखि भएको आन्दोलनपछि केही महीना अगाडि सैनिक सरकार गठन भएको छ भने आम नागरिकले सैनिक सरकार पनि अस्वीकार गर्दै नागरिक सरकार गठनको माग गर्दै आन्दोलन गरेका  थिए ।

उनीहरूको आन्दोलनका कारण सैनिक सरकार र आन्दोलनकारीबीच समझदारी भएर संयुक्त सरकार बनाउने तयारी भएको बताइएको छ ।

प्रकाशित मिति: : 2019-07-19 23:31:35

प्रतिकृया दिनुहोस्