१३ औं साग: प्याराग्लाइडिङमा नेपालले मात्रै भाग लियो

फाइल तस्बिर

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा समावेश हुने भनिएको प्याराग्लाइडिङ हटाइएको छ। पहिलोपल्ट सागमा प्याराग्लाइडिङ समावेश गरिएको हो।

पोखराको साराङकोटमा हुने भनिएको प्याराग्लाइडिङमा नेपालबाहेक अन्य राष्ट्रले सहभागिता नजनाउने भएपछि यस खेललाई हटाउनुपरेको हो।

यद्यपि प्याराग्लाइडिङ हटाइएको आधिकारिक निर्णय भने गरिसकेको छैन । ‘पाकिस्तान खेल्न तयार छ र भारतले मानेको खण्डमा प्याराग्लाइडिङको प्रतिस्पर्धा हुनेछ। भारतको प्याराग्लाइडिङको अन्तर्राष्ट्रिय संस्था नभएकाले सहभागी हुन केही समस्या देखिएको छ,’ राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले भने। उनले पूर्वाधारका कारण साग नरोकिने जनाउँदै भने, ‘साग आयोजनाको चिन्ता सबैभन्दा बढी मलाई छ। निर्धारित मितिमै आयोजना हुनेमा म ढुक्क छु।’

कसले कति खेलमा प्रतिस्पर्धा गर्छन्?

नेपाल र श्रीलंकाले सबै २६ खेलमा प्रतिस्पर्धा गर्नेछन् । बंगलादेशले ट्रायथलनबाहेक अन्य २५ खेलमा सहभागिता जनाउने छ । भारतले २१, पाकिस्तानले १८, भुटानले १४ र माल्दिभ्सले ११ खेलमा आफ्ना खेलाडीलाई उतार्ने पक्का गरेका छन्। भारतले आर्चरी, क्रिकेट, कराँते, तेक्वान्दोलगायत खेलमा भाग लिने छैन। भारतको आर्चरी निलम्बनको अवस्थामा छ भने कराँते र तेक्वान्दोमा विवाद रहेकाले नखेल्ने बताइएको छ। पाकिस्तानले क्रिकेट, फुटबलसहित आर्चरी, साइक्लिङ, फेन्सिङ, ह्यान्डबल, कबड्डी, खोखो र ट्रायथलनमा प्रतिस्पर्धा नगर्ने भएको छ।

कसको कति खेलाडी?

आयोजक नेपालले सबैभन्दा बढी ६ सय ३६ खेलाडी उतार्ने सम्भावना छ। त्यस्तै बंगलादेशका ५ सय ९१, श्रीलंकाका ५ सय ५६, भारतका ५ सय ३५, पाकिस्तानका ३ सय ७८, माल्दिभ्सका २ सय ५२ र भुटानका १ सय १७ खेलाडीले सागमा प्रतिस्पर्धा गर्ने भएका छन्। डिङबाहेक पोखरामा ८ खेल र जनकपुरमा कुस्ती तथा अन्य सबै खेलको प्रतिस्पर्धा राजधानीमा हुनेछ। पोखरामा आर्चरी, ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल, हयान्डबल, ट्रायथलन, बिच भलिबल र भारोत्तोलन हुनेछ । सागको उद्घाटन र समापन दशरथ रंगशालामा हुनेछ।

प्रकाशित मिति: : 2019-11-09 14:19:35

प्रतिकृया दिनुहोस्