तलब लिन प्यान नम्बर अनिवार्य, यसरी लिनुहोस् प्यान कार्ड

काठमाडौं । आन्तरिक राजश्व विभागले व्यवसाय वा आय आर्जनमा संलग्न हुने वा अग्रीम कर कट्टी गर्ने व्यक्तिले स्थायी लेखा नम्बर (प्यान) अनिवार्य रूपमा लिन आग्रह गरेको छ ।

सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेट वक्तव्यमार्फत ‘एक व्यक्ति, एक स्थायी लेखा नम्बर’ भन्ने नीति लिएको छ । आज एक सूचना जारी गर्दै विभागले उक्त नीतिको कार्यान्वयन गर्न सबैलाई लेखा नम्बर लिन भनेको हो।

सरकारले एक हजारभन्दा बढीको भुक्तानीमा अनिवार्य रूपमा प्यान आवश्यक पर्ने व्यवस्था लागू गरिएसँगै झुक्तानी गर्ने प्रक्रियामा सहभागी हुने सबैलाई अनिवार्य प्यान नम्बर लिन भनिएको छ ।

सहज रूपमा लेखा नम्बर उपलब्ध गराउन आफू मातहत आन्तरिक राजश्व कार्यालय तथा करदता सेवा कार्यालयमा प्राथमिकतापूर्वक छुट्टै काउन्टरमार्फत सरल र सहज रूपमा प्यान उपलब्ध गराउने काम भइरहेको विभागले जनाएको छ । बजेट वक्तव्ययता झण्डै एक लाखभन्दा बढीले प्यान नम्बर लिई सकेका छन् । हालसम्म २२ लाखभन्दा बढीले त्यस्तो नम्बर लिइसकेको विभागले जनाएको छ ।

सरकारी कार्यालय, सार्वजनिक सङ्घ संस्था, विद्यालय, विश्वविद्यालय, अस्पताल, गैरसरकारी संस्थालगायत निजी क्षेत्रका सङ्घसंस्था एवं उद्योग व्यावसायिक फर्मले आफ्ना कर्मचारी एवं कामदारबाट अनलाइन फारम भराइ एकमुष्ट निवेदन कार्यालयमा पठाए वा स्थलगत रूपमा टोली खटाइ लेखा नम्बर प्रदान गर्न आग्रह भएमा कार्यालयबाट टोली खटाइ प्यान नम्बर प्रदान गरिने विभागले जनाएको छ ।

विभागले सबै व्यक्तिलाई लेखा नम्बर प्रदान गर्ने सरकारी नीतिको सफल कार्याव्यनका लागि व्यावसायिक स्थायी लेखा नम्बर लिएका व्यक्तिले आफ्नो व्यवसाय रहेको र व्यक्तिगत स्थायी लेखा नम्बर लिने व्यक्तिले आफूलाई पायक पर्ने कार्यालयबाट लिन अनुरोध गरेको छ ।

 

प्यान कसरी लिन सकिन्छ जान्नुहोस्

 

१. आन्तरिक राजस्व विभागको वेभसाइट  www.ird.gov.np मा जानुहोस्

२. होम पेजमा Taxpayer मा क्लिक गर्नुहोस र Registration मा क्लिक गर्नुहोस । त्यसपछि Application For Registration मा क्लिक गरी नाम थर भएको बक्समा आफ्नो नाम र थर लेखेर भर्नुहोस् ।

३. User Name मा आफूले सम्झने नाम राख्नुहोस् अनि Password हाल्नुहोस् र फेरि अर्को बक्स Re password मा राख्नुहोस् । आफ्नो सम्पर्क नम्बर र Email ठेगाना राख्नुहोस् । कुन कार्यालयबाट प्यान नम्बर लिने हो सो ठेगाना IRO नम्बरमा खुलाउनुहोस् । त्यसपछि Ok बटनमा थिच्नुहोस् ।

४. अब तपाइको व्यक्तिगत विवरण माग्छ । सो अनुसार आफ्नो सम्पूर्ण विवरण भर्नुहोस्जा र Submit गर्नुहोस ।

५. Submit भएपछि Print थिचेर त्यसलाई प्रिन्ट गर्नुहोस्।

६. उक्त प्रिन्ट कपि लिएर सम्बन्धित राजश्व कार्यालयमा जानुहोस् ।

७. राजश्व कार्यालयले तपाईंलाई विवरण जाँच गरेर Pan कार्ड दिनेछ । यो सबै प्रक्रिया निशुल्क हो । प्यान कार्ड लिन कुनै शुल्क तिर्नु पर्दैन ।

प्रकाशित मिति: : 2019-07-19 23:55:50

प्रतिकृया दिनुहोस्