कश्मिर विवादको अन्त्यका लागि अमेरिका मध्यस्थता गर्न तयार रहेको एकपल्ट फेरि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दोहर्याएका छन्।
थाइल्यान्डको राजधानी बैंककमा जारी नवौं पूर्वी एसिया शिखर सम्मेलन (आसियान समिट) मा विदेश मन्त्रीहरूको बैंठकमा अमेरिकाका विदेश मन्त्री माइकल पोम्पिओले प्रस्ताव राखेका हुन्।
उनले पाकिस्तान र भारतीय प्रधानमन्त्रीले चाहेको खण्डमा अमेरिका मध्यस्तता गर्न इच्छुक रहेको भारतीय विदेश मन्त्री जयशंकरलाई जानकारी दिएका हुन्।
यसै महिना अमेरिकाको भ्रमणका क्रममा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अमेरिकी राष्ट्रपतिसँग कश्मिर विवादको मुद्धा उठाएपछि ट्रम्पले आफू मध्यस्तता गर्न तयार रहेको बताएका थिए।
उनले पाकिस्तानी प्रधानमन्त्रीसँग ह्वाइट हाउसमा भएको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि वार्ताका लागि प्रस्ताव गरेको खुलासा गरेका थिए।
भारतले भने ट्रम्पको बयानलाई झुटको संज्ञा दिँदै आइरहेको छ। आसियान समिटमा विदेशी मन्त्रीहरू बीच बैंठकको दोस्रो दिन अमेरिकी विदेश मन्त्रीको प्रस्तावलाई जयशंकरले पुनः खारेज गरेको भारतीय अखबारहरूले लेखेका छन्।
जयशंकरले कश्मिर विवादमा भारत र पाकिस्तानबीच मात्र वार्ता हुन सक्ने, तेस्रो पक्षको संलग्नता आफूहरूलाई ग्राह्य नभएको बताएका थिए। जयशंकरले पोम्पिओको भेटवार्ताको कुरा उप्काउँदै ट्वीट गरेका छन्, ‘आज बिहान अमेरिकी समकक्षी माइक पोम्पिओलाई स्पष्ट शब्दमा अवगत गराएका छौं, कश्मिरको विषयमा कुनै पनि चर्चा, यदी सम्भव भयो भने मात्र पाकिस्तानसँग हुनेछ।’