मनाङ, च्यासल र एनआरटीलाई कारवाही गर्ने एन्फाकाे चेतावनी

फाइल तस्बिर: बिएल

साविक विजेता मनाङ सिग्नेचर मर्स्याङ्दी क्लब, न्युरोड टिम (एनआरटी) र च्यासल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक कार्यक्रम बहिस्कार गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिगको नियमावली उपलब्ध नगराई खेल तालिका सार्वजनिक गरेको भन्दै तीनै क्लबले बहिस्कार गरेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार आयोजना गरेको खेल तालिका सार्वजनिक गरेको थियो। एन्फाले आइतबारसम्म नियमावली उपलब्ध गराउने भनेपनि मनाङ अध्यक्ष छिमि उर्गेन गुरुङ, च्यासलका अध्यक्ष रमेश ब्यन्जनकार र न्युरोड टिम (एनआरटी)का सुरेन्द्र श्रेष्ठले ‘ड्र’ कार्यक्रम छाडेका थिए।

'सेवासुविधा के कति पाइन्छ भनेर जानकारी लिन आउनु भएको थियो।' एन्फाका एक पदाधिकारीले भने,'हामीले पछि छलफल गरेर मिलाउछौं भन्दा भन्दै उहाँहरुले कार्यक्रम बहिस्कार गर्नुभयो।'

याे पनि

विमल,अन्जन र दिनेश सागको टिमबाट पनि फालिए, यस्ता‍े हुँदैछ कारवाही

त्यसका बावजुद बाँकी १२ क्लबका प्रतिनिधि र एन्फाका पदाधिकारीको उपस्थितिमा खेल तालिका सार्वजनिक गरिएको थियो। कार्यक्रम बहिस्कार गरेपनि लिग खेल्ने/नखेल्ने भन्ने बारेमा कुनै जानकारी नआएको उक्त पदाधिकारीले बताए।

'हामीलाई कुनै औपचारीक जानकारी आएको छैन्।भाग लिने नलिने उहाँहरुको कुरा हो। हामीले जवर्जस्ती भाग लिनुस् भन्न मिल्दैन्। यदि ए डिभिजनमा रहेको कल्बले भाग नलिए कारवाही गर्ने नियम छ। उक्त नियम अनुसार हामी  कारवाही गर्छौं', उक्त पदाधिकारीले भने।

यसअघि एन्फाले रानिपोखरी कर्नर टिम (आरसिटी) र न्युरोड टिम (एनआरटी)लाई लिगमा भाग नलिएको भन्दै आर्थिक जरीवाना तिराएको थियो। उक्त पदाधिकारीले यदि भाग नलिए एन्फाको बैठक बसेर कारवाही गर्न सक्ने बताए।

मंसिर २८ गतेबाट सुरु हुने लिग फागुन ३ गते सकिने छ। 

पहिलाे खेल मच्छिन्द्र र बीबीसीबीच हुनेछ। दोस्रो दिन मंसिर २९ गते दुई खेल सिएमजी क्लब संकटा र च्यासल युथ क्लब तथा त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लबबीच हुनेछ। मंसिर ३० गते सरस्वती युथ क्लब र एनआरटीबीच तथा मनाङ र एपिएफबीच हुनेछ।

त्यस्तै पहिलो चारणको अन्तिम दिन पुष १ गते रुस्लान थ्री स्टार क्लब र जावलाखेल युथ क्लब तथा नेपाल पुलिस क्लब र हिमालय शेर्पा क्लबबीच हुनेछ। पहिलो साताको कुनै एक खेलमा लिगको उद्घाटन गरिने बताइएको छ।

यस पटकको लिग रेलिगेसनसहितको हुनेछ। एन्फाले गत वर्ष आयोजना गरेको रेलिगेसनबिनाको लिगको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको थियो। लिग दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा हुनेछ।

२०७२ वैशाखको विनाशकारी भूकम्पका कारण रंगशाला क्षति भएपछि त्यहाँ कुनै पनि फुटबल प्रतियाेगीता भएको छैन।

तर,१३ औं दक्षिण एसियाली खेलकुद (साग)काे लागि रंगशाला तयार भएकाे छ। अब हुने घरेलु प्रतियाेगिता यहिँ मैदानमा आयाेजाना गर्न सकिने एन्फाले जनाएकाे छ। यस्तै च्यासल मैदानलाई भने विकल्पका रुपमा राखिएको छ।

 

प्रकाशित मिति: : 2019-11-29 22:24:34

प्रतिकृया दिनुहोस्