अल्जारी जोशेफको कीर्तिमानी बलिङसँगै मुम्बईको तेस्रो जित, हैदारावाद ४० रनले पराजित

तस्बिरः आईपिएल

वेष्टइन्डिजका बलर अल्जारी जोशेफले कीर्तिमानी ६ विकेट लिएसँगै मुम्बई इन्डियन्सले जारी आइपिएलमा तेस्रो जित निकालेको छ।

मुम्बईले दिएको १३७ रनको सामान्य लक्ष्य पछ्याएको सनराइज हैदारावादले निर्धारित २० ओभरमध्ये १७.४ ओभरमा अलआउट हुँदै ९६ रनमा समेटियो।

हैदारावादलाई सस्तैमा समेट्ने क्रममा मुम्बईका जोशेफले ३.४ ओभर बलिङ गर्दै १ मेडन राख्दै १२ रन खर्चिएर ६ विकेट लिए।

आईपिएलमा डेब्यू गरिरहेका जोशेफले ओपनर डेभिड वार्नर, विजय शंकर, होडा, रासिद खान, भुवनेश्वर कुमार र कौललाई आउट बनाए।

हैदारावादका लागि होडाले सर्वाधिक २० रन बनाउँदा बेसथ्रुले १६ तथा डेभिड वार्नरले १५ रन बनाए।मोहम्मद नाभीले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो रनको स्कोर छुन सकेनन्।

यसअघि राजीव गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियम हैदरावादमा टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३६ रन बनाएको थियो।

मुम्बईका लागि काइरान पोलार्डले अन्तिम दुई ओभरमा विश्फोटक ब्याटिङ गर्दै सम्मानजनक योगफल सम्म पुर्‍याए । पोलार्डले २६ बलमा ४६ रन जोडेका थिए। उनले ४ छक्का र २ चौका प्रहार गरेका थिए।

खराब सूरुवात गरेको मुम्बईका कप्तान रोहित शर्मा ११, क्विन्टन डी कक १९,सूर्य कुमार यादव ७,इशान किशन १७ र कूनाल पान्ड्या ६ र हार्दिक पान्ड्या १४ रनमा आउट भए।

हैदरावादका सिद्धौथ कौलले २, राशिद खान,मोहम्मद नाबी,सन्दीप शर्मा र भुवनेश्वर कुमारले समान एक विकेट हात पारे ।

यो जितसँगै मुम्बई अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ।

प्रकाशित मिति: : 2019-04-06 23:54:13

प्रतिकृया दिनुहोस्