क्यानडामा नेपाली क्रिकेट : रुखको फेददेखि रेडकार्पेट लक्ष्य

तस्विर: बीएल-टोरन्टो

स्थापनाको छोटो समयमै थुप्रै ‘सहयोगी हात’ भेट्टाएको ‘नेप्लिज क्यानेडियन क्रिकेट क्लब’ क्यानडामा नेपाल र नेपाली चिनाउने माध्यम बन्दैछ। क्रिकेटमा हत्ते हाल्ने केही युवाले रुखको फेदमा भेला भएर लहडै लहडमा स्थापना गरेको यो क्लव टोरन्टोको स्थानीय लिग खेल्ने भइसकेको छ।

रुखको फेदबाट गठन भएको आफ्नो संस्थालाई होस्टेमा हैंसे गर्ने दर्जनौं थपिएपछि क्लबका खेलाडी तथा पदाधिकारी ‘एक दिन रेड कार्पेटमा हिँड्ने’ सपना देख्दैछन्। जन्मे-हुर्केको देश छोडेर सात समुद्रपारी बसिरहेका क्रिकेटप्रेमी मैदानमा निस्किँदा अरुले ‘ओ, नेपाली पनि...’ भन्न थालेका छन्।
 
खेल सामग्री नहुँदा नहुँदै पनि सन् २०१६ मा टोरन्टोस्थित ब्राम्प्टनमा एउटा रुखको फेदमा भेला भएर क्लब बनाउने ‘युवा–गफ’ ले डेढ वर्षमा कानुनीरुपमै मूर्तरुप लिएको थियो। सन् २०१८ मा दर्ता भएपछि क्लबप्रति साथ दिने अगुवा थपिँदै जाँदा यसका खेलाडी र पदाधिकारीको लक्ष्य फराकिलो बन्दै गएको हो।


 
‘हामीमा क्रिकेट खेल्ने इच्छा तीब्र थियो, तर साथमा केही पनि थिएन’ क्लबका अध्यक्ष इमरान खानले शनिवार ब्राम्प्टनमा आयोजित एक कार्यक्रममा भने, ‘नेपाल छँदै क्रिकेटप्रति लगाव थियो, त्यसलाई यहाँ पनि निरन्तरता दिन क्लब जन्मायौं, अब क्रमशः उचाईमा पुग्नेछौं।’
 
त्यसबेला मोरङका इमरानले क्लब ‘गठन गर्ने’ प्रस्ताव अरु क्रिकेटप्रेमी साथीभाइलाई मात्रै सुनाएनन्, टोरन्टो क्षेत्रमा बस्दै आएका नेपालीमूलका थुप्रै अगुवासम्म पनि पुगे। त्यसक्रममा त्रिकेट ‘बुझ्ने’ले मात्रै होइन, ‘नबुझ्ने’ ले पनि सकेको सहयोग गर्ने बचन दिए।
 
फलस्वरुप, क्यानडामा लामो समयदेखि कानुन व्यवसाय गर्दै आएका अतुल सुबेदीले क्लवलाई दर्ता गर्न कागजपत्र जुटाउनेदेखि प्रक्रिया मिलाउनेसम्म सघाए। रियल स्टेट, रेष्टुरेन्ट र इन्स्योरेन्स व्यवसायमा लागेका नेपालीमूलका अगुवाले यथासक्य रकम दिएर खेल सामग्री किन्न सघाए।
 
‘आज हामीसँग धेरैवटा ब्याट र बल जुटिसकेका छन्, अनि धेरैको सहयोगले पहिलेभन्दा बढी आत्मविश्वास पनि बढेको छ’ गत वर्ष पहिलो लिग खेलिसकेका र दोस्रो लिगको तयारीमा रहेका इमरानले भने, ‘हामी रुखको फेदबाट उठेर यहाँसम्म आइपुग्यौं, अब दोस्रो पुस्ताले उपाधि जितेर रेड कार्पेट नाप्ने लक्ष्य राख्नुपर्छ।’
 
क्यानडामा नेपाल र नेपाली चिनाउन क्रिकेट क्लब एउटा कोशेढुंगा सावित हुनसक्ने सम्भावना औंल्याउँदै एनआरएनए क्यानडाका अध्यक्ष गोपीकृष्ण काफ्लेले क्लबप्रति सुरुबाटै साथ सहयोग दिँदै आएको बताए।क्लबले क्रिकेटमा राम्रो प्रगति गर्नसक्दा ‘नेपालीको क्लव’ भनेर सबैले गर्व गर्न सकिने उनले सुझाए।
 
‘देउसी भैलो खेल्न घर घर बोलाउनेदेखि सके जानेको सल्लाह दिँदै आएको छु’ काफ्लेले क्लबप्रति सदैब सदासयता रहेको उल्लेख गर्दै भने, ‘त्यसरी संकलित रकमले खेल सामग्री किन्न सहयोग भएको होला, सामग्री जुटेपछि खेलाडी र पदाधिकारीमा हौसला र आत्मविश्वास त बढ्ने नै भयो।
 
’क्यानडामा फुर्सद निकाल्न मुस्किल हुँदाहुँदै पनि खेलाडी र पदाधिकारीले नेपाली समुदायमा क्रिकेटप्रति रुचि जगाउन प्रयास गरिरहेको क्लवका सदस्य तथा एनआरएनए क्यानडाका युवा संयोजक कृञ्जल केसीले बताए।बालबालिकालाई खेल्न पठाएर क्लबप्रति सहयोग गर्न उनले अभिभावकलाई आग्रह गरे।
 
अहिले क्लबमा ४५ बर्षसम्मका खेलाडी रहेको उल्लेख गर्दै क्लबका सचिव निराजन श्रेष्ठले नेपालीमूलका अभिभावकले छोराछोरीलाई क्रिकेटप्रति रुचि जगाइदिन सुझाब दिए।‘हामीले क्लब जन्मायौं र खेल्ने वातावरण मिलाइ दिँदैछौं’ श्रेष्ठले भने, ‘ठूला प्रतियोगिता जितेर अझ माथि पुग्न चाहिँ दोस्रो पुस्ता आकर्षित हुनैपर्छ।’
 
क्लबका खेलाडीलाई अहिले नेपाली राष्ट्रिय टोलीका क्रिकेटर नरेश बुढाऐरले स्वयंसेवीरुपमा प्रशिक्षण दिँदैछन्।टोरन्टोकै ब्लुम्फिल्ड क्रिकेट एकेडेमीमा सहायक प्रशिक्षक रहेका बुढाऐरले ‘आफू पनि खेल्दै नेपाली क्लबलाई पनि सघाउने सोचेर’ स्वयंसेवा गरिरहेको बताए। क्लबले उनलाई कार्यक्रममा सम्मान गरेको थियो।
 
क्लबले आगामी मे ११ देखि टोरन्टोमा हुँदै गरेको ‘मिसिसागा त्रिकेट लिग’ खेल्दैछ, जसमा क्लबसहित पाँच टिम सहभागी छन्।नेपाली टोलीको मानबहादुर बिकेले नेतृत्व गर्नेछन्।क्लबले दोस्रो पुस्तालाई क्रिकेटप्रति आकर्षित गरेर भविष्यमा जुनियर टिमवीच लिग खेलाउने सोच राखेको छ।
 
क्यानडामा छरिएका नेपालीलाई क्रिकेटमार्फत् एकतावद्ध गर्न क्लबले राम्रो भूमिका निर्वाह गर्न सक्ने कार्यक्रमका सहभागीले बताए।कार्यक्रममा क्लबलाई विभिन्न समयमा सहयोग गर्ने व्यवसायी राज महत, अनिल थापा, नाम भूषाल, आशिर्वाद सुबेदी तथा कानुन व्यवसायी अतुल सुबेदी आदिलाई सम्मान गरिएको थियो।

प्रकाशित मिति: : 2019-05-05 07:03:46

प्रतिकृया दिनुहोस्