काठमाडौं– मुम्बई इन्डियन्सले यस वर्षको आइपिएल उपाधिका लागि चेन्नई सुपर किङ्स समक्ष १ सय ५० रनको चुनौती राखेको छ।
टस जितेर पहिलो ब्याटिङ रोजेको मुम्बईका लागि कप्तान रोहित शर्माले १५, क्विन्टन डी काकले २९, सूर्यकुमार यादवले १५, इशान किशनले २३, किरोन पोलार्डले अविजित ४१ र हार्दिक पाण्ड्याले १६ रन बनाए।
मुम्बईले ८ विकेटको क्षतिमा १ सय ४९ रन बनायो।
४ छक्का हानेर घातक बनिरहेका डी काकलाई सार्दूल ठाकुरले विकेट पछाडि कप्तान महेन्द्रसिंह धोनीबाट क्याच गराएपछि मुम्बईको ठूलो योगफल जोड्ने योजनामा कमी आएको थियो। १५ ओभरसम्म १ सय २ रन मात्र बनाएको मुम्बईका लागि पोलार्ड र पाण्ड्याले पाँचौ विकेटका लागि बिस्फोटक साझेदारी गरे। १६ ओभरमा पाण्ड्याको क्याच सुरेश रैनाले छोडेका थिए। उनले यसपछि एउटा छक्का र चौका हिर्काएका थिए। उनी दीपक चहरको बलमा एलबिडब्लुको शिकार भए। उनीहरूले २२ बलमा ३९ रनको साझेदारी गरेका थिए।
पोलार्डले मुम्बईबाट सर्वाधिक रन बनाए। उनले ३ छक्का र ३ चौकाको सहयोगले २५ बलमा ४१ रन बनाए।
राहुल शर्मालाई आउट गरेका दीपक चहरले ३ विकेट लिए। इमरान ताहिरले २ तथा सार्दूल ठाकुरले २ विकेट लिए।
यस सिजनको आइपिएलमा मुम्बईले चेन्नईलाई तीन पल्ट पराजित गरिसकेको छ।