१३ औं साग खेलकुद प्रतियोगिताको लोगो सार्वजनिक

तस्बिरः बिएल

सरकारले ‘१३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिता–२०७६’ को लोगो सार्वजनिक गरेको छ।

युवा तथा खेलकुद मन्त्रालयले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘१३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिता–२०७६’ को लोगो सार्वजनिक गरेको हो।

प्रतियोगिताको लोगो युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्म, राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव केशवकुमार विष्ट र ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सार्वजनिक गरेका हुन्।

आगामी मंसिर १५ देखि २४ गतेसम्म आयोजना हुने प्रतियोगिताको कामलाई तीव्रता दिने गरी लोगो सार्वजनिक गरिएको युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले जानकारी दिए।

कलाकार भोलानाथ पौडेलले तयार पारेको सो लोगोमा राखिएको परेवाको आकृति र त्यसमा प्रयुक्त रंगले शान्तिलाई दर्शाउँछ भने त्यसको पृष्ठभूमिमा राखिएको सोही रंगको रेखाले हाम्रो देशलाई प्रतिनिधित्व गराउने निश्चल हिमाललाई झल्काउँछ।

लोगोमा सार्क राष्ट्रहरुको प्रतिनिधित्व गराउन प्वाँखको सात आकृति समावेश गरिएको छ। मन्त्री विश्वकर्माले सो प्रतियोगिताको पूर्वाधार निर्माणको कामलाई पनि तीव्रता दिइएको बताए।

सरकारले सो खेलकुद प्रतियोगिताका लागि करिब ४ अर्ब खर्च लाग्ने अनुमान गरेको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए।

सो बजेटको व्यवस्थापनका लागि परिषदका उपाध्यक्ष पिताम्बार तिम्सिनाको संयोजकमा ५ सदस्यीय आर्थिक व्यवस्थापन समिति पनि गठन गरिएको छ ।

सरकारले सो प्रतियोगिता सम्पन्न गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा निर्देशन समिति तथा मन्त्री विश्वकर्माको अध्यक्षतामा व्यवस्थापन समिति गठन गरिसकेको छ।

त्यस अन्तर्गत रहने गरी अरु पनि विभिन्न समिति गठन गरिएको र सो प्रतियोगिताको कामलाई तीव्रता दिइएको युवा तथा युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ।

यसअघि १२ औं साग प्रतियोगिता भारतको गुहाटी र सिलोङमा आयोजना भएको थियो।

 

प्रकाशित मिति: : 2019-05-13 20:35:07

प्रतिकृया दिनुहोस्