एसीसी प्रिमियर कप

एसीसी प्रिमियर कप आजबाट, नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै

मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालको शुभारम्भ आजबाट

photo: CAN
photo: CAN

एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कप आज (मंगलबार)बाट नेपालमा सुरु हुँदैछ।

उद्घाटन खेलमा आज दुई खेल हुँदैछन्। दुबै खेल बिहान ९ बजेबाट सुरु हुँदैछन्, जसअन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र मलेसिया तथा मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हङ्कङ र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ।

नेपालले मलेसियासँग पहिलो पटक ५० ओभरको खेल खेल्न लागेको हो।

१० देश सहभागी कपको समूह ‘ए’मा नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान छन भने समूह ‘बि’मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई छन्।

वैशाख १८ गतेसम्म चल्ने प्रतियोगीतमा दुबै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्ने छन्। र, सेमिफाइनल जित्ने दुई टोलीले उपाधिको लागि वैशाख १८ गते त्रिवि मैदानमा प्रतिस्पर्धा गर्ने छन्।

प्रतियोगिताको विजेता टोली आगामी सेम्टेम्बरमा हुने एसियन कपको लागि छनोट हुनेछ। त्यस्तै शीर्ष तीनमा रहने टोली एसीसी इमर्जिङ कपको लागि छनोट हुने छन्।

आजबाट मुलपानी मैदानको शुभारम्भ

नेपालको एक मात्रै अन्तर्राष्ट्रिय क्रिकेट मैदान, मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज पहिलो पटक खेल हुँदैछ। नेपालले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा इतिहासमै पहिलो पटक खेल सुरु गर्न लागेको हो।

एसीसी प्रिमियर कप अन्तर्गत मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको माथिल्लो मैदान आज पाहुना टोली उद्घाटन गर्ने छन्। त्यहाँ बिहान ९ बजेबाट हङ्कङ् र सिंगापुरबीचको प्रतिस्पर्धा सुरु हुँदैछ।

नेपालले करिब १२ वर्ष लगाएर मुलपानी क्रिकेट मैदान खेल्न योग्य बनाए पनि यसको निर्माण कार्य पूर्ण रुपमा सम्पन्न भएको छैन। आजबाट खेल सुरु हुने मैदान रंगशालाको प्रमुख मैदान होइन।

नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नै आजबाट आफ्नो अन्तर्राष्ट्रिय मैदानमा खेल सञ्चालन गर्न पाएकोमा खुसी व्यक्त गरेको छ। क्यानमा अध्यक्ष चतुरबहादुर चन्दले यो नेपालको लागि गौरवपूर्ण कुरा रहेको बताएका छन्।

यस्तो छ नेपाली टिम

एसीसी प्रिमियर कपको प्रमुख दाबेदार नेपालले आज खेलमा जित निकाल्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ। नेपालले यसअघि भएका पाँच खेलमा लगातार जित निकाल्दै आएको छ।

आजको खेल पनि जितेर आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने कप्तान रोहितकुमार पौडेलको दाबी छ।

नेपाली टिम

रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, करण केसी ,सन्दीप लामिछाने, प्रतिश जिसी, सोमपाल कामी, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल र गुल्सन झा।

प्रकाशित मिति: : 2023-04-18 07:56:00

प्रतिकृया दिनुहोस्