इंग्लिस क्लब चेल्सीले आफ्नो स्टार खेलाडी इडेन हजार्डलाई बेच्न लागेको समाचार फ्रान्सबाट प्रकाशित हुने पत्रिका ला’इक्युपले जनाएको छ।
फ्रेन्च पत्रिकाले रियल म्याड्रिडलाई १ करोड १३ लाख अमेरिकी डलरमा बेच्ने प्रक्रिया चेल्सीले पुरा गरिसकेको र यसको घोषणा युरोपा लिगको फाइनल सकिने वित्तिकै हुने बताएको छ।
अखबारको रिपोर्टलाई विश्वास गर्ने हो भने दुई क्लबबीचको सम्झौता गत साताअघि नै भइसकेको र स्पेनिस क्लबले व्यक्तिगत रुपमा हजार्ड र उनको प्रतिनिधिसँगको सम्झौता टुँग्याउन बाँकी रहेको बताइएको छ।
हजार्ड रियल म्याड्रिडमा आवद्ध हुने कुरा ६ महिनादेखि नै चर्चामा थियो। चेल्सीका व्यवस्थापक माउरिजो सारीले क्लब समर्थकहरूलाई हजार्डको निर्णयप्रति सम्मान गर्न आग्रह गरिसकेका छन्।
ला’इक्युपका अनुसार हजार्डसँग म्याड्रिडले ६ वर्षको अनुबन्ध गर्दैछ।
हजार्डले ७ सिजन चेल्सीमा विताएका थिए। उनी २०१२ मा फ्रेन्च क्लब लिलेबाट चेल्सी आएका थिए। उनले चेल्सीबाट ३ सय ५१ खेल खेल्ने क्रममा १ सय ८ गोल गरेका थिए र गोलका लागि ९१ पल्ट अवसर जुर्याइदिएका थिए।
चेल्सीमा रहँदा उनी दुई पल्ट उपाधि विजेता खेलाडीको रुपमा दरिए।