लामो समयको खोजी पछि अखिल भारतीय फुटबल संघ (आइएफएफ) ले राष्ट्रिय टोलीको प्रशिक्षकमा क्रोएसियाका इगोर स्टिमाकलाई नियुक्त गरेको छ।
५१ वर्षीय इगोर आफ्नो समयका उम्दा खेलाडी हुनुका साथै सफल प्रशिक्षक पनि मानिन्छन्।
उनलाई बुधबार संघले प्रशिक्षक नियुक्त गरेको घोषणा गरेपछि क्रोएसियाका यी भेट्रान फुटबल खेलाडीका अगाडि अब २०२३ मा आयोजना हुने एएफसी एसियन कप छनोट र २०२२ को विश्व कप छनोट खेल महत्वपूर्ण हुनेछ।
उनले ५ जुनमा थाइल्यान्डमा आयोजना हुने किङ्स कपबाट भारतीय टोलीको जिम्मेवारी सम्हाल्ने छन्। इगोर अनुशाषनमा निकै कडा मानिन्छन्।
भारतीय फुटबल टिमको प्रशिक्षक भएपछि उनले सबै खेलाडीलाई शारीरिक र मानसिकरुपमा तयार रहन भनेका छन्।
एसियन कपमा भारतको बर्हिगमनपछि पूर्व प्रशिक्षक स्टेफन कन्स्टनटाइनको स्थानमा इगोरलाई नियुक्त गरिएको हो।
इगोरले सन् २०१४ को विश्वकपमा क्रोएसियालाई प्रशिक्षण दिएका थिए। सेन्टर ब्याकका यी पूर्व खेलाडीले आफ्नो देशबाट ५३ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्।