विश्व कप क्रिकेट आजबाट, दुई अभागी टिम इंग्ल्यान्ड र दक्षिण अफ्रिका भिड्दै

तस्वीरः एजेन्सी

आइसिसी एकदिवसीय विश्व कप क्रिकेटको आजबाट सुरु हुने खेलमा विश्वका दुई अभागी टोली एक अर्कासँग प्रतिस्पर्धा गर्दैछन्। आयोजक इंग्ल्यान्डको प्रतिस्पर्धा दक्षिण अफ्रिकासँग हुँदैछ।

नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा सुरु हुने यो खेल लण्डनको केनिङ्टन ओभल मैदानमा हुँदैछ। दुवै टिमले अहिलेसम्म विश्व कप जित्न सकेका छैनन्। इंग्ल्यान्डका लागि यसपालि आफ्नै देशमा विश्व कप जित्ने अवसर छ। पछिल्लो केही वर्षयता इंग्ल्यान्ड उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ।

क्रिकेट विश्लेषकहरूले पनि इंग्ल्यान्डलाई विश्व कप जित्न सक्ने टोलीको संज्ञा दिएका छन्। इंग्लिस टोलीमा हाल ६ खेलाडी यस्ता छन्, जसको नामको अगाडिको शब्द ‘जे’ बाट उठ्ने गर्छ। त्यसैले इंग्ल्यान्ड टिमलाई ‘जे आर्मी’ को संज्ञा दिइएको छ। १५ सदस्यीय टोलीमा जोनी बेयरेस्टो, जेसन रोय, जो रुट, जोस बटलर, जेम्स विन्स र

जोफ्रा आर्चर यस्ता खेलाडी हुन्, जसको नामको अगाडिको शब्द ‘जे’ बाट उच्चारण हुन्छ।

‘जे आर्मी’ का सदस्यमध्ये ४ जना प्रायः प्लेइङ सेटमा समावेश हुने गरेका छन्। विकेटकिपर तथा प्रारम्भिक ब्याट्सम्यान बेयरेस्टो विस्फोटक ब्याटिङका लागि चिनिन्छन्। उनलाई जेसनले माथिल्लो क्रममा राम्रो सहयोग गर्दै आइरहेका छन्। पहिलो विकेटको पतनपछि क्रिजमा उत्रिने कप्तान रुट प्रभावशाली छन्।

यसपछि क्रिजमा उत्रिने उपकप्तान बटलरको खेलमा विगत दुई वर्षयता थुप्रै परिवर्तन देखिन्छ। उनी दक्षिण अफ्रिकाका पूर्व कप्तान एबी डिभिलियर्स जस्तै ३६० डिग्रीमा ब्याटिङ गर्दै मैदानको सबैतिर छक्का हान्न माहिर मानिन्छन्।

एलेक्स हेल्सको स्थानमा इंग्लिस टोलीमा स्थान बनाएका जेम्स विन्स पनि यतिबेला उत्कृष्ट लयमा छन्। बारबाडोसमा जन्मिएका जोफ्रा आर्चर पनि बिस्फोटक ब्याटिङका लागि परिचित छन्।

दक्षिण अफ्रिकी टोलीमा प्रमुख बलर डेल स्टेन चोटका कारण देखा पर्ने छैनन्। उनको अनुपस्थितिमा कागिसो राबाडा र लुङ्गी नागिडीले तीब्र बलिङको मोर्चा सम्हाल्ने छन्। इंग्लिस पीचमा उनीहरूको प्रदर्शनले अफ्रिकाको जितमा ठूलो अर्थ राख्छ। स्पिनर इमरान ताहिरको भूमिकालाई लिएर अफ्रिकी टोली निकै आश्वस्त देखिन्छ। उनी टोलीको ‘ड्रम कार्ड’ पनि हुन्।

ब्याटिङमा कप्तान फाफ डु प्लेसिसको भूमिकाले खेलमा ठूलो अर्थ राख्नेछ।

प्रकाशित मिति: : 2019-05-30 09:26:42

प्रतिकृया दिनुहोस्