नेपाली एसिडपीडितको सहयोगार्थ 'सगरमाथा'मा दौडिए बेलायती राजदूत

एभरेस्ट म्याराथुन दौडमा सहभागी हुँदै बेलायती राजदूत रिचर्ड मोरिस । तस्बिर सौजन्य: एभरेष्ट म्याराथुन

नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिसले एभरेस्ट म्याराथुन दौडमा भाग लिएर एसिडपीडित नेपालीका लागि सहयोग जुटाएका छन्। पाँचसय पाउण्ड उठाउने लक्ष्यमा साथ दौडेका उनले त्यसको तीन दोब्बरभन्दा बढी अर्थात् एकहजार छ सय ६८ पाउण्ड उठाए।

विश्वकै सबैभन्दा उच्च स्थानमा हुने एभरेस्ट म्याराथन उनले सात घण्टा ५१ मिनेटमा पूरा गरे। यो म्याराथन दौड सगरमाथा आधार शिविरबाट सुरू भई नाम्चे बजारमा टुङ्गिन्छ। 

यो दौडमा सहभागी हुनकै लागि उनी १० दिन लामो पदयात्रा गर्दै सगरमाथा आधार शिविर पुगेका थिए। 

एभरेस्ट म्याराथनको क्रममा संकलित रकम एसिड पीडित नेपालीको उपचारमा संलग्न बर्न भाइलेन्स सर्भाइभर नेपाल (बीभीएसएन) लाई प्रदान गरिने बताइएको छ। 

आर्थिक सहयोग जुटाउन राजदूत मोरिसले जस्टगिभिङडटकम नामक फन्डरेजिङ साइटमा बेग्लै पेज पनि बनाएका थिए।

४२.१९५ किलोमिटर दुरी तय गर्नुपर्ने म्याराथन दौड पूरा गरेपछि राजदूत मोरिसले लेखेका छन् – ‘सकियो। १० दिन लामो पदयात्रा र दौडको क्रममा अद्भूत दृश्य र गज्जब मित्रता अनुभव गर्न पाइयो। सम्पूर्ण प्रायोजकहरूको उदारताप्रति नमन।’

 

प्रकाशित मिति: : 2019-06-02 05:56:59

प्रतिकृया दिनुहोस्