पुस्तक समीक्षा

'फातसुङ' अर्थात माटोको कथा

साहित्य, कला अनि संगित। यी चिजहरुको कुनै निश्चित भुगोल हुँदैन, न त कुनै सिमितता नै। एउटा सर्जकको हृदयमा जुन कुराको छाप बन्दछ त्यसैलाई सृजनाको माध्यमबाट प्रस्तुत गर्दा त्यो कतै साहित्य बन्छ, कतै कला त कतै संगित।

नेपाली कला, साहित्य र संगितको लेख्य ईतिहास त्यति पुरानो त नहोला तर यसको बर्तमान फैलावट बिराट छ। नेपाली भाषाको दर्बिलो सर्जकहरु नेपालको भौगोलिक सिमाभित्र जति छन् गुणात्मक हिसाबले सिमा बाहिरका सृजनाहरु पनि उत्तिकै अब्बल रहे र रहिरहेका वा आईरहेका छन्। सिमा बाहिर विशेष गरि भारतको पश्चिम बंगाल नेपाली भाषी भारतियहरुको मुख्य बसोबास स्थल हो। सिलिगुरी, गुवाहाटी, आसाम, मणिपुर, दार्जिलिङ्ग, खर्साङ्, कालिम्पोङ्ग जस्ता ठाउँहरुबाट नेपाली भाषाको कला, साहित्य र संस्कृतिको उन्नयनमा निरन्तर लागिरहने श्रष्टाहरुको सुची निक्कै लामो बन्दछ। तिनै सुची मध्येमा पर्ने पछिल्लो बयको एउटा नाम हो- छुदेन काविमो। दार्जिलिङ्गको कालेबुङ्गका छुदेन पेशाले पत्रकार भए पनि नेपाली भाषाको आख्यान जगतलाई केही समय अघि मात्रै फातसुङ नामक औपन्यासिक कृतिको भेट दिएका छन्।

फातसुङ एउटा समय रेखामा चक्का राखेर अहिलेसम्म निरन्तर गुडिरहेको दार्जिलिङ्गको यात्रा कथा हो। भारतिय माटोमा आफुलाई गोरखा जाती भएको र आफ्नो लागि छुट्टै राज्य प्रमाणित गर्न दार्जिलिङ्गले अहिलेसम्म थुप्रै पटक "माटोको लडाइँ" लडिसकेको छ। त्यहिँ लडाइँले उठाएको "गोर्खाल्याण्ड" को माग र त्यो आन्दोलनभित्रका घात, प्रतिघात, बलिदान अनि आम नागरिकहरुको आम-सपनाको बिषयलाई ज्यादै सिलसिलेवर ढंगले वर्णन गरिएको कृति हो-फातसुङ।

सन् १९६८ मा सुभास घिसिङ्गले दार्जिलिङ्ग पहाडको समस्याहरुलाई उठाउने हेतुले  "निलो झण्डा" नामक राजनैतिक संगठनको स्थापना गरे जसले पहिलो पल्ट सन् १९७९ अप्रील २२ मा नेपालिभाषी भारतियहरुका लागि दार्जिलिङ्ग पहाड छुट्टै राज्य बनाईनुपर्छ भन्ने माग गर्‍यो। घिसिङ्गले त्यसका लागि निलो झण्डालाई सन् १९८० मा गोर्खा जनमुक्ती मोर्चाको नाममा रुपान्तर गरे। अलग गोर्खाल्याण्डको माग गर्दै उठेको आन्दोलनले सन् १९८६ देखि १९८८ का बिच रक्तपातपुर्ण निर्णायक संघर्ष गर्‍यो। करिब १२०० जनाले ज्यान गुमाए, कैँयौँको घर-बास जलाईयो अनि असंख्य घाईते भए र थुप्रै बेपत्ता भए। तर सन् १९८८ अगष्ट २२ का दिन घिसिङ्गले दार्जिलिङ्ग गोर्खा पार्वत्य परिषद नामक अर्ध स्वायत्त निकाय गठनका लागि केन्द्र सरकार र राज्य सरकारसंग सम्झौता गरे। यो सम्झौतासंग असन्तुष्ट समुहले आन्दोलनलाई निरन्तरता दिईरह्यो भने एउटा समूह घिसिङ्गसंगै लाग्यो।

फातसुङ त्यहिँ आन्दोलनमा लागेका तिनै भुइँमान्छेहरुको सपनाको कथा हो। राजनिती गर्नेहरुले आम मानिसहरुलाई सपना देख्न सिकाउँछन्, त्यही सपनालाई पच्छ्याउन सिकाउँछन् र आफ्नो लक्ष्य भेट्न लागेपछी सबैलाई लत्याएर आफ्नै दुनो सोझ्याउन लाग्छन् अनि ती भुइँमान्छेहरुका सपनाहरु त्यतै कतै रुमलिएर बस्छन्। हरेक कालखण्डमा भएका राजनैतिक परिबर्तनहरु यस्तै गरि चलेका छन्। आन्दोलनको लक्ष्य एउटा बताईन्छ तर सम्झौता अर्कैमा गरिदिन्छन् जुन सम्झौताले आन्दोलनको पुर्ण सम्बोधन गर्न सक्दैन। फातसुङ त्यस्तै आन्दोलनले सपना देखाएर अन्ततः  घरबार बिहिन्, सपना बिहिन, परिवार बिहिन र बेपत्ता भएका योद्धाहरुको कथा हो। अर्थात आफू जन्मिएको माटोलाई आफ्नै बनाउन गरिएको आन्दोलनको कथा हो।



‘याम्बुनेर’ भित्र याम्बुको खोजी



पत्रकार भईसकेको कथा वाचक लामो समयपछी आफू जन्मिएको गाउँ आईपुग्छ एउटा त्रासदपिर्ण भुकम्पपछी। त्यही भुकम्पले आफ्नो बालसखा रिपदेनलाई बेपत्ता बनाएपछी उसका बारेमा समाचार बनाउनुपर्ने बाध्यतामा परेको उसलाई रिपदेनसंग छुट्टिनु अघिसम्मका सम्पुर्ण यादहरुले पुराना दिनहरुमा पुर्‍याईदिन्छन्।

कथामा कथा वाचकको "फ्ल्यास ब्याक" मा कथा वाचक, रिपदेन, राजु सर मुख्य भुमिकामा छन् भने "फ्ल्यास ब्याक" को अर्को फ्ल्यास ब्याकमा नोर्देन, नासिम, सुर्य दा, चिफ, रिपपन्दी, राजु सर आदिकै वरिपरि कथा घुमिरहन्छ। रिपदेनहरुको बाल्यकाल निक्कै कष्टसाध्य देखिन्छ। न्युनतम पुर्बाधार सहितको स्कुल छैन, सडक सुबिधा, अस्पताल छैन। राजनैतिक पार्टिहरु चुनावमा गाउँ आईपुग्छन् र चुनाव सकिएको भोलिपल्ट बेपत्ता हुन्छन् तर ग्रामिण बस्तिका मानिसहरुको जिन्दगी सँधै उस्तै गरि घस्रीरहन्छ। जातिय बिभेदको जञ्जालले स्थानिय लेप्चा र दलितहरु प्रताडित छन् भन्ने कुरा एउटा बिहेमा गरिएको फरक भान्साको दृष्यबाट देखाईएको छ। 

एकदिन रिपदेनहरुलाई पढाईरहेका राजु सर एकाएक बेपत्ता हुन्छन्, त्यहिँ बेला १९८६ सालतिरै बेपत्ता भएको रिपदेनको बाऊलाई राजु सरले मारेको कुरा रिपदेनहरुले सुन्छन्। कथा वाचक र रिपदेन भागेर  रिपदेनको फुफुको घर पुग्छन्। जहाँ रिपदेनको बाऊको साथिसंग उनिहरुको भेट हुन्छ। रिपदेनलाई भन्दा कथा वाचकलाई रिपदेनको पिर लाग्छ, उसको बाऊको बारेमा चासो लाग्छ र ती झुस्स कपाल दार्‍ही पालेका, खुट्टा खोच्याउँदै हिँड्ने बूढो मान्छेसंग रातभरी बसेर रिपदेनको बाऊ र ८६-८८ को आन्दोलनको कथा सुनिरहन्छ।

नोर्देन र नासिम स्कुलका सहपाठी। नोर्देन गाउँबाट पढ्नका लागि शहर पसेका थियो। ऊ राजु सरसंग बस्थ्यो। एक दिन राजु सरको डेरामा पुग्दा नासिमले राजु सर  गोर्खा राष्ट्रिय मुक्ती मोर्चाको कार्यकर्ता भएको थाहा पायो र सुन्यो आन्दोलन भन्ने नयाँ शब्द। साथै त्यही आन्दोलनको तयारिमा राजु सर, नोर्देन लगायत अन्य मानिसहरु लागेको थाहा पायो। आफ्नो मिल्ने साथी नोर्देन नै आन्दोलित भएको पाएपछी नासिम पनि आन्दोलनमा होमियो। तर आन्दोलन के हो वा केका लागी? उसलाई केही थाहा थिएन। उसो त नोर्देनलाई पनि थाहा त कहाँ थियो र।

आन्दोलनको पहिलो प्रहरमा पोस्टर टाँस्ने काम सकेपछी नोर्देन, नासिमहरुको भेट सुर्य दा संग भयो। सूर्य दा, सानोतिनो नेता थिए। उनी शाहसी कुरा गर्थे। आँटिलो बोल्थे। ल्याण्ड्का लागि ज्यान दिने कुरा गर्थे। एकैछिनमा रिसको पारो शिखरमा पुग्थ्यो। उनिसंग बोल्न अरु मान्छेहरु सितिमिती हिम्मत गर्दैनथे। 

सूर्य दा को समुहले सबै गाउँ बस्तिमा हरियो झण्डा अर्थात गोर्खा राष्ट्रिय मुक्ती मोर्चाको प्रचार प्रसार गरे। भोक, तिर्खा, थकानको परवाह नगरी आन्दोलनका लागि प्रचार गरिरहे, दिनरात एक गरेर। नासिम, नोर्देनहरुले स्कुल जानै छाडे, आन्दोलनकारिहरुको खोजिमा सिआरपिएफ (Central Reserve Police Force), प्रहरी र सिपिएम (कम्युनिस्ट पार्टी मार्क्सबादी) का कार्यकर्ताहरु यत्रतत्र थिए। आन्दोलनमा सहभागी कार्यकर्ताहरु सबैबाट छलिएर आ-आफ्नो जिम्मेवारि पूरा गरिरहेका थिए।

आमसभाको दिन सबैको निर्धारित जिम्मा थियो। नोर्देन, नासिम, सुर्य दा लगायत सबै सभामा  सहभागि हुन आउनेहरुलाई ब्यबस्थित गर्न खटिएका थिए। तर धारा १४४ का कारण आन्दोलनमा सहभागिहरु सभा स्थलसम्म पुग्न पाएनन्। बाटो बिच बिच मै झडप भयो, गोलि चल्यो, १३ जना आन्दोलनकारी मारिए, बिबिसीले समेत त्यो दिनलाई ब्ल्याक सन्डे भनिदियो। त्यही आन्दोलनमा नासिमले मन पराएको रचेलाको पनि चोला उठ्यो। यो घट्नापछी आन्दोलनकारिहरुको मथिंगल हल्लियो। मनस्थितिमा अनेकौँ उतारचढावहरु आए। आफ्ना नेताहरु के गर्दैछन त्यसको पत्तो थिएन। नोर्देनहरु क्याम्पमा बसेर आफ्ना पट्यार लाग्दा समयहरु गुजारिरहेका थिए। एकाएक चिफ आएर बन्दुक बनाउने ऐलान गर्छन् जसले सबैको मनमा एक तमासको उत्साह भरिदियो।

चिफ अर्थात कालू, अर्थात चन्द्रसिंह। पढाईमा निक्कै कमजोर कालू बदमासिमा कहलिएका थिए। पढाइ छोडेर पल्टन लागे। पल्टनको कडा अनुशासनमा टिक्न नसकेपछी गाउँ फर्किए। ६८ सालमा ठूलो बर्षात संगै बाढिपहिरोले दार्जिलिङ्गलाई कोत्रै कोत्रा बनायो। घरको दुख खप्न नसकेपछी कालुले आफ्नो परिचय बदलेर फेरि भर्ती गए र चन्द्रसिंह सुब्बा बने। उनको बलिष्ठ ज्यान देखेर बक्सिङ्ग खेल्न लगाए अफिसरले। १४ बर्ष पल्टनमै बक्सिङ्ग खेलिसकेपछी एकदिन आफ्नो सर्भिस बूक हराए। फौजिमा यसको निक्कै ठूलो सजाय हुन्थ्यो। उनी पिरमा थिए, त्यहिँ बेला एउटा पत्रीकामा देखे, "घिसिङ्गले दार्जिलिङ्गमा अलग राज्य माग्ने.." 

नर्थ ईष्ट ईन्डियाबाट नेपाली भाषिहरु लखेटिईरहेका थिए। हरेकको दिमागमा असुरक्षाको डर थियो। यहि परिबेशमा कालू उर्फ चन्द्रसिंह पल्टन नफर्कने गरि दार्जिलिङ्ग फर्किए र माटोका लागि, आफ्नो जातिका लागि लड्ने प्रण गरे। उनी घर फर्किएपछी एनबी सरसंग भेटिए र पार्टी कार्यालय दार्जिलिङ्ग पुगे। उनिहरुलाई कार्यालयमै हमला गर्न पुगेका सिपिएम कार्यकर्ताहरुलाई चन्द्रसिंहले उल्टै पिटेर लखेटे। त्यसपछी भने उनी एकाएक चर्चामा आए संगै  घिसिङ्गका दाहिने हात मात्र भएनन् GVC (Gorkha volunteer Cell) को चिफ बनेर कालेबूङ फर्किए।

यहि बिन्दुबाट एनबी सरको असन्तुष्टि शुरु भयो। उनले छुट्टै GVC गठन गरे मात्रै होईन चन्द्रसिंह अर्थात चिफहरुको समुहसंग दुस्मनी नै बढाए।

सुर्य दा संगै नासिम, नोर्देनहरु फौजी तालिम लिन थाले त्यसै बेला नोर्देन रिपपन्दिसंग प्रेममा पर्‍यो। घरिघरी रिपबन्दिसंग भेट्न नोर्देन क्याम्पबाट हराउँथ्यो। तालिम संगसंगै क्याम्प मै बन्दुक बनाईन्थ्यो। तर त्यहाँ बनाईएको बन्दुक सहि भएन। अर्थात चलेन।

दार्जिलिङ्ग आन्दोलन र दमनको रापले थिलोथिलो भएको बखत आन्दोलनमा विभिन्न बिभाजनहरु देखिन थाले। एनबी सर छुटेर अर्कै संगठन बनाएर लागेका थिए भने कोहि नेताहरु सिपिएमसंग नजिकिँदै थिए। नोर्देनहरुको क्याम्पमा नयाँ केटाहरुको प्रबेश पनि उत्तिकै चल्दै थियो। तर उनिहरुको समुहलाई सिआरपिएफ, एनबिको समूह र सिपिएमको कार्यकर्ताहरुसंग खतरा थियो। यस्तो समयमा उनिहरुलाई आफ्नो दरिलो उपस्थिती जनाउनु थियो त्यसैले सिआरपिएफको जवानहरुबाट बन्दुक खोस्ने, उनिहरुको गाडिमा आगजनी गर्ने, बम पड्काउने प्रयासमा लागे भने तोपले टिस्टा खोलाको पुल उडाउने असफल प्रयास समेत गरे।  त्यसको प्रतिक्रिया स्वरुप आन्दोलनकारिहरु र तिनको घर परिवारको खोजी गर्दै पक्राऊ र आगजनी हुन थाल्यो। कसैका घर जले, कसैका परिवार मारिए, कसैका काम गर्ने ठाउँहरु भत्काईए। राजनैतिक बृत्तमा गोर्खाल्यान्ड आन्दोलन अब काउन्सिलमा गएर सम्झौता गरिने हल्ला चल्न थाल्यो। तर नोर्देनहरुको समूह भने आन्दोलन रोक्ने पक्षमा थिएन। उनिहरुका चिफ अर्थात चन्द्रसिंह आफ्नै नेताहरुले समेत सम्झौता गर्न खोजे उनिहरुलाई नि नछाड्ने प्रतिज्ञा गरिरहे।

एक रात नोर्देन हरायो। क्याम्पमा ड्युटी गर्दागर्दै हराएकोले उसलाई सिआरपिएफ वा एनबिका मान्छेले उठाएर लगेको आशंका गरियो।  नोर्देनलाई बोङ्बस्ती पुर्‍याईएको खवर आएपछी खोजिमा टोलि हिँड्यो। अपहरणमा परेको आशंका गरिएको नोर्देन रिपपन्दिको घरमा थियो। अर्थात अरुले थाहै नपाई रिपपन्दीसंग उसको त छोरा जन्मिईसकेछ। 

केही समयपछी नोर्देनले रिपपन्दी र छोरालाई आफ्नो घर पुर्‍यायो र आफु आन्दोलनमा होमियो। आन्दोलनकारिहरु आक्रमणमा पर्ने र मारिने क्रम जारी थियो। चिफले बन्दुक किन्न सुर्य, नासिम र नोर्देनलाई नक्सलबारी पठाए।

 अन्य तीन जना सहयोगी सहित एउटा गाडिमा बन्दुक किन्न हिँडेका उनिहरुको यात्रा बाटैमा सिआरपिएफ र एनबिको मान्छेहरु देखेपछी अन्तै मोडियो। लुक्दै, भाग्दै, ज्यान जोगाउँदै भोक तिर्खा निन्द्रा सहँदै निरुद्धेस्य  हिँड्दै गर्दा एउटा डेरा जस्तो ठाउँमा पुगे। उनिहरुले बोकेको पैसा झरिले भिजिसकेको थियो। उनिहरुसंग अब हिँड्नलाई बाटो थिएन, दगुर्नलाई साहस थिएन र पुग्नलाई कुनै लक्ष्य बाँकी थिएन।अनकन्टार कुहिरोभित्र एकोहोरो हिँडिरहेका उनिहरुले कुहिरो हटेपछी थाहा पाए, त्यो ठाउँ नाजोक रहेछ। डेरामा एक जना बुढा मान्छे थिए। केही खानेकुरा दिए तर उनैले झेली पाराले सबैलाई पक्राऊ गराए। उनिहरु एनबिको समुहको कब्जामा परिसकेका थिए। कुटपिट र कठोर यातना पछि अन्यलाई छोडेर सूर्य, नोर्देन र नासिम जोखिम उठाउँदै भागे। पछि पछि उनिहरुलाई लखेटिरहेका थिए। रेलि खोलाको छाँगाबाट तिनै जना हामफाले। लगातार पानी परेकोले रेलि खोला उर्लिएको थियो। सुर्य  एकैछिनमा पारी पुगेर उकालो दौडिन थाल्यो, नोर्देन खोलामा पस्यो तर बाढिले बगाउन थाल्यो। नासिम भने खसेको ठाउँमा जुत्ता छेँडेर खुट्टामा  ढुँगा छिरेपछी अघि बढ्न सकेन। तर लखेट्न आउनेहरु भने छाँगाबाट हामफाल्न आँट गरेनन्। अलि तलसम्म बगेपछी नोर्देन खोला किनारमा निस्क्यो। ज्यान जोगाउन खुट्टा खोँच्याउँदै बगरै बगर दौडिरह्यो। ती तीन जनाको त्यही भेट नै अन्तिम थियो।

"नोर्देन, सुर्य, नासिमहरु घाईते भएर छुट्टिएपछि गोर्खाल्यान्डको आन्दोलन पनि घाईते भयो, लंगडो भयो र दार्जिलिङ्गमा अलग राज्य होईन गोर्खा पार्बत्य परिषद (Gorkha Hill Council) बन्यो।"  लेखक छुदेनले मुख्य कथाको अन्त्य यसरी गरेका छन्।

नोर्देन अर्थात रिपदेनका बाऊ थिए उनि। अनि आन्दोलनको सारा कथा सुनाउने मान्छे चाहिँ को थिए त? यो रहस्यले अन्तिमसम्म पच्छ्याईरहन्छ।

कथा वाचकले रिपदेनको हराएको बाऊको कथा बिहान हुने बेलासम्ममा सुनिसक्छ। रिपदेन भने आनन्दले निदाउँछ। भोलिपल्ट बिहान उनिहरु घर फर्किए। घर आएको पर्सिपल्ट कथा वाचक पढ्नका लागि शहर गयो, रिपदेन गाउँमै छुट्यो। त्यसपछी उनिहरु कहिल्यै भेटिएनन्। आज १५ बर्षपछी आफ्नो त्यही साथिको मृत्यूको खवर संकलन गर्न पत्रकार बनेर गाउँ आएकोछ।

यसरी फातसुङले दार्जिलिङ्गलाई राजनैतिक संक्रमणको त्यो दारुण अवस्थामा पुर्‍याएको एउटा समयलाई देखाएको छ। उपन्यासमा भाषिक आञ्चलिकताको प्रयोग सजिव छ। दार्जिलिङ्गे लवजमा रखिएका संवादहरु जिवन्त छन् भने पात्रहरुको मनोदशा, परिस्थितिको विश्लेषण गर्न प्रयोग गरिएको भाषा र शैली मनमोहक छ। कथा वाचनको शैलिले पाठकलाई तानिरहन्छ। अर्थात शब्दहरुको प्रयोगले हरेक दृष्यहरुलाई सजिव बनाईदिन्छन्। उपन्यासको स-साना उपकथाहरुमा राखिएका प्रेम प्रसंगहरु अत्यन्तै सुन्दर छन्। रिपपन्दी र नोर्देन, नासिम र रचेला, सुर्य दा र पुनम एक आपसमा बेजोड प्रेम गर्थे तर देखाएर गरेनन्। त्यो प्रेम उनिहरु महसुस गर्न सक्थे। त्यो सुखद प्रेम थियो। समग्रमा यो उपन्यास ती भुइँमान्छेहरुको सपनाको कथा हो जसलाई धारा १४४ र गाउँमा आउने पानीको धाराको बिच फरक थाहा पाएका छैनन्। त्यो समयमा गोर्खाल्याण्ड आन्दोलनको रक्तरञ्जित सपनाहरुको कारुणिक पटाक्षेप भएको कथा बोकेको फातसुङ पढिरहँदा एक दशक लामो सशस्त्र संघर्ष बेहोरेको नेपाली समाज समेत कताकता भेट्न सकिन्छ। आन्दोलनको नेतृत्वकर्ता र आन्दोलित सर्वसाधारणका मनोबिज्ञानहरु कत्ती फरक हुँदारहेछन अर्थात ठुला ठुला सपना देखाईने आन्दोलनहरुको अन्त्य कसरी हुने रहेछ भन्ने दृष्टान्त भने हर समाजका लागि "कमन" हुने रहेछ भन्ने कुरा भेटिन्छ।

आन्दोलनले सबै रुप देखाउँछ भन्ने कुरा बुढाथोकिको छोरिमा देखाईएको छ। आन्दोलनमा लागेको रामप्रसाद सहिद भएपछी उसको जहान बुढाथोकिको छोरिको अवस्था आन्दोलनको दारुण दृष्य हो।

स्थानिय लेप्चा भाषाको शब्द "फातसुङ" को अर्थ "माटोको कथा" हो भनेर लेखकले प्रष्ट्याएका छन्। अलिकती खट्किएको कुरा चाहिँ बास्तवमा गोर्खाल्याण्ड अर्थात गोर्खालिहरुको आफ्नो भुमी वा माटोको आन्दोलन किन गरियो/गरिँदैछ भन्ने बिषय भने प्रस्ट पारिएको देखिएन। यो आन्दोलनभन्दा अगाडि दार्जिलिङ्ग अत्यन्तै शान्त, सुखी र सुन्दर थियो। सबै मान्छेहरु खुसी थिए भन्ने व्याख्या लेखकले गरेका छन्। नेपालिभाषिहरुलाई राज्य सरकारले लखेट्न लागिएको कुराबाट आन्दोलनको शुरुवात भएको देखिन्छ। तर उनिहरुलाई किन लखेट्न खोजिएको हो भन्ने स्पस्ट देखिएन। अर्को कुरा लगभग तीन दशक पश्चिम बंगालमा सत्ता सञ्चालन गरेको भारतिय कम्युनिस्ट पार्टी (मार्क्सबादी) लाई राजनैतिक दल नभएर कुनै ग्याङ्ग जस्तै लाग्नेगरी देखाईएको छ। उपन्यासको कथा अनुसार १९८६-८८ को समयमा समेत सिपिएम सत्तासिन भएको एक दशक बितिसकेको थियो। चिफ, सुर्य दा लगायत नोर्देनहरुको समुहमा मान्छे कुट्ने, बदला लिने र माटोको लागि मर्न तयार हुने कुरा मात्रै भएको देखिन्छ। उनिहरु एउटा राजनैतिक संगठनको कार्यकर्ता थिए, त्यसकारण राजनितिक सचेतताका बिषयहरु छलफलमा आएको भए राम्रो हुन्थ्यो जस्तो लागिरह्यो। बढी रक्सी मात्रै खाईरहे। टिस्टाखोलाको पुलमा तोप हानेपछी भाग्न नसकेका राजु सर कता बेपत्ता भए या अर्कै गुटमा गए त्यो देखिएन। के उनी आन्दोलनका गद्दार थिए या भगौडा? उनी रिपदेनहरुको स्कुलमा फेरि देखिएका छन्। त्यो बिचमा उनको कथा छुट्दा खल्लो लाग्यो। आखिर सुर्य दा र नोर्देन रेलि खोला तरेर सकुशल गएका हुन्, त्यसपछी उनिहरु किन बेखवर भए त? आन्दोलन मोडिएकोले बिरक्त लागेर हो वा उनिहरुको ज्यान नै रहेन? यो प्रश्नको जवाफ भने लेखकसंग मात्रै होला।

गोर्खाल्याण्ड आन्दोलनले खासमा दार्जिलिङ्गका ती भुइँमान्छेहरुको जिवनमा कुनै तात्विक भिन्नता ल्याएन। दमन, उत्पिडन मात्रै खप्नुपर्‍यो। सर्बसाधारणका लागि आन्दोलन उपलब्धिबिहिन भयो। केही खास नेताहरु सुबिधा उपभोग गर्ने ठाउँमा पुगे। त्यहाँ पुग्न नसक्ने नेताहरु फेरि पुग्ने प्रयासमा  लागिरहे। तर आन्दोलनमा ज्यान माया मारेर लाग्नेहरु कति बेपत्ता भए, कत्ती घाईते भएर मर्नु न बाँच्नुको दोसाँधमा छन्, जीवन गुजाराका लागि कैँयौँले टिस्टा र रेलि खोलाको बगरमा दिनभर गिट्टी कुटिरहेका छन्। अनि साँझमा नोस्टाल्जिक हुँदै सपना बिहिन रात काटिरहेका छन्। फातसुङको लगभग निष्कर्ष हो यो। तसर्थ फातसुङले गोर्खाल्याण्ड आन्दोलनले प्राप्त उपलब्धिहरुलाई उल्लेख गर्न अलि कञ्जुस्याइँ गरेको हो कि भन्ने लाग्छ।

छुदेन लेख्छन्, "हातखुट्टा काटियोस्। आँखा फुटोस्। कान चुँडियोस्। केही छैन, मान्छे अलिअली खुसिसंगै बाँच्न सक्छ तर सपना नटुटोस्। नत्र मान्छे जिउँदो लास बन्छ।"  के त्यो समय गोर्खाल्याण्डको सपना टुटेको थियो त?

प्रकाशित मिति: : 2021-03-06 10:00:00

प्रतिकृया दिनुहोस्

यो पनि पढ्नुहोस्