एजेन्सी ।
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलका पेरूले बोलिभियालाई हराएको छ।
मंगलबार राति भएको खेलमा बोलिभियालाई ३–१ गोल अन्तरले हराउँदै पेरू तालिकाको दोस्रो स्थानमा पुगेको छ।
मार्सेलो मोरेनोले पेनाल्टीमा निर्णायक गोल गर्दै बोलिभियालाई सुरुवाती अग्रता दिलाएका थिए।
तर बोलिभयाको अग्रता धेरै समय टिक्न सकेन। जोसे पाओलो गुरेरोले पहिलो हाफको अन्तिम मिनेटमा खेल बराबरीमा ल्याएका थिए।
पहिलो हाफमा १-१ गोलको बराबरी रहेको खेलको ५५ औं मिनेटमा जेफरसन फार्फनले गोल गर्दै पेरूलाई अग्रता दिलाए।
यस्तै ईडिसन फ्लोरिसले खेलको अन्तिम मिनेटमा गोल गर्दै पेरूको सहज जित सुनिश्चित गरेका थिए।
यो जितसँगै समूह एमा १ जित र १ बराबरीसहित दुई खेलबाट ४ अंक जोडेको पेरू तालिकाको दोस्रो स्थानमा छ।
यस्तै भेनेजुयलालासँग गोलरहित बराबरी खेलेको ब्राजिल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
बुधबार बिहान भएको खेलमा ब्राजिलले गोलरहित बराबरी खेलेको हो। बराबरीले ब्राजिललाई ४ अंकसहित शीर्ष स्थानमा पुर्याएको हो। समान चार अंक भएपनि पेरु गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ।
भेनेजुयला २ अंक सहित तेस्रो स्थानमा रहँदा बोलिभियाले भने अंक जोड्न सकेको छैन।