महिला क्रिकेट शुरू: पहिलो खेलमा सुदूरपश्चिम विजयी

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा राष्ट्रिय खेलकूद परिषद्को आयोजनामा आजदेखि प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता शुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई नौ विकेटले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको गण्डकीले २० ओभरमा सबै विकेट गुमाएर ५८ रन बनाएको थियो। गण्डकीका शिला रेग्मीले १९ र सुशिला गुरुङले १७ रन बनाउनुबाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन्।

सुदूरपश्चिमका तर्फबाट कविता कुँवर, लक्ष्मी साउद र जानकी भट्टले समान दुई विकेट तथा कविता जोशीले एक विकेट लिए। गण्डकीका तीन खेलाडी रन आउट भएका थिए ।

५९ रनको सामान्य लक्ष्य पछ्याएको सुदूरपश्चिमले एक विकेट गुमाएर निर्धारित २० ओभरको खेलमा सात ओभरमै पुरा गर्‍यो।

सुदूरपश्चिमका तर्फबाट कविता कुँवरले २१ तथा कविता जोशी र रेवती धामीले समान १२-१२ रन बनाए।

गण्डकीका तर्फबाट मनिषा उपाध्यायले एक विकेट लिइन्। खेलको म्यान अफ दी म्याच कविता कुँवर भइन्।

प्रकाशित मिति: : 2019-06-19 13:54:11

प्रतिकृया दिनुहोस्