चिलीलाई हराउँदे पेरू फाइनलमा, उपाधिका लागि ब्राजिलसँग खेल्ने

तस्बिरः एजेन्सी

एजेन्सी ।

पेरू ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेको छ।

बिहिबार बिहान भएको खेलमा लगातार दुई पटकको च्याम्पियन चिलीलाई ३–० गोल अन्तरले हराउँदै पेरू प्रतियोगिताको उपाधि नजिक पुगेको हो।

पेरूलाई जिताउन एडिन फ्लोरेस, योशिमार यतुन र जोस पाओलो गुरेरोले गोल गरे।

पहिलो हाफमै २–० को अग्रता लिएको पेरूले दोस्रो हाफमा एक गोल थप्दै सहज जित निकालेको हो।

खेलको २१ औं मिनेटमा एडिन फ्लोरेसले गोल गर्दै खेलमा पेरूलाई सुरूवाती अग्रता दिलाएका थिए। खेलको ३८ औं मिनेटमा योशिमार यतुनले अग्रतालाई दोब्बर बनाए। दुवै गोल आन्द्रे कारिलोको पासमा सम्भव भएको थियो ।

खेलको अन्तिम मिनेटमा जोस पाओलो गुरेरोले गोल गर्दै टिमको जित सुनिश्चित गरे। उनले रेनाटो टापियाको पासमा गोल गरेका थिए । लगत्तै चिलीले पेनाल्टीमा सान्त्वना गोल फर्काउने मौका पाए पनि एडुआर्डो भार्गासको प्रहार गोलरक्षकले बचाएका थिए।

अब पेरूले उपाधिका लागि  घरेलु टोली ब्राजिलको सामना गर्नेछ। ब्राजिल यसअघि अर्जेन्टिनालाई २-० ले हराउँदै फाइनलमा स्थान पक्का बनाएको हो।

प्रकाशित मिति: : 2019-07-04 12:02:26

प्रतिकृया दिनुहोस्