एजेन्सी। इंग्ल्याण्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत लिग चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकासँग १० रनले पराजित हुँदै अष्ट्रेलिया दोस्रो भएको छ ।
योसँगै जारी विश्वकपको सेमिफाइनल समिकरणसमेत पुरा भएको छ। अब सेमिफाइनलमा शीर्ष स्थानमा रहेको भारतले चौथो स्थानमा रहेका न्युजिल्यान्डसँग जुलाई ९ मा पहिलो सेमिफाइनल खेल्नेछ।
यस्तै दोस्रो स्थानमा रहेको अष्ट्रेलियाले तेस्रो स्थानमा रहेको आयोजक इंग्ल्यान्डसँग जुलाई ११ मा दोस्रो सेमिफाइनल खेल्नेछ।
म्यान्चेष्टरमा भएको खेलमा ३ सय २६ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलिया ४९.५ ओभरमा अल आउट हुँदै ३ सय १५ रनमा समेटियो।
अष्ट्रेलियाका ओपनर डेविड वार्नरले १ सय २२ रनको योगदान दिए पनि टोलीको हार टार्न सकेनन्। उनले १ सय १७ बलमा १५ चौका र २ छक्का प्रहार गरेका थिए। विश्वकपमा वार्नरको यो तेस्रो शतक हो।
त्यस्तै एलेक्स केरीले ८५ रनको योगदान दिए। केरीले ६९ बलमा ११ चौका र १ छक्का प्रहार गरेका थिए।
कप्तान आरोन फिन्च ३ रनमै आउट भए भने स्टिभ स्मिथ ७ रनमा एलवी डब्लुको धराप पारे। मार्कस स्टोइनिस २२ तथा ग्लेन म्याक्सवेल १२ रनमा आउट भए। मिचेल स्टार्क १६,जेसन बेहरनडर्फ ११ र नाथन लायनले ३ रन जोडे ।
दक्षिण अफ्रिका लागि कागिसो रबाडाले १० ओभरमा ५६ रन खर्चेर ३ विकेट हात पारे। ड्वनी प्रिटोरियस र एन्डिलो फेहलुवकलो समान २ विकेट लिए । इमरान ताहिर र क्रिस मोरिसको नाममा समान १ विकेट रह्यो ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय २५ रन बनायो।
अफ्रिकाका लागि कप्तान फाफ डु प्लेसिसले सतकीय इनिङ्स खेले। ९४ बल खेलेका उनले ७ चौका र २ छक्कासहित १०० रन जोडे।
त्यस्तै रस्सि भान डर दुसेनले ९७ बलमा समान ४ चौका र छक्का सहित ९५ रन जोडे। दुसेन र प्लेसिसले तेस्रो विकेटका लागि १ सय ५१ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए।
ओपनर क्विन्टन डी ककले ५१ बलमा ७ चौका सहित ५२ रनमा अविजित रहे । जेपी ड्युमिनी १४ रनमा क्याच आउट भए।
अष्ट्रेलियाका लागि नाथन लायन र मिचेल स्टार्कले समान २ विकेट हात पारे । जेसन बेहरनडर्फ र प्याटकमिन्सको नाममा १-१ विकेट रह्यो ।
यो सँगै समूह चरणका सबै खेलहरू सकिएका छन्। भारत ९ खेलमा ७ मा जित र १ मा हारका साथ १५ अंक जोड्दै शीर्ष स्थानमा रह्यो। अष्ट्रेलिया ९ खेलमा ७ मा जित र २ मा हारका साथ १४ अंक जाड्दै दोस्रो स्थानमा रह्यो । घरेलु टोली इंग्ल्यान्ड ९ खेलमा ६ मा जित र ३ मा हारका साथ १२ अंक सहित तेस्रो स्थानमा रह्यो। ९ खेलमा ५ मा जित र ३ मा हारका साथ ११ अंक बटुल्दै न्युजिल्यान्ड चौथौ स्थानमा रह्यो।