स्थानीय तह निर्वाचन

वडा सदस्यको दौडमा २० वर्षीय हेमन्त, भन्छन्– सिंगो वडाकै काँचुली फेर्ने छु

मिलन के राउत

उर्लाबारी

राजनीतिक सुझबुझ भएका युवा हुन्, हेमन्त थापा। नेकपा (एमाले) निकट युवा संघ उर्लाबारीका सचिव उनी आसन्न स्थानीय तहकाे निर्वाचनमा उम्मेदवारीको दौडमा छन्। एमालेकै तर्फबाट उर्लाबारी नगरपालिका–८ को वडा सदस्य पदको उम्मेदवारमा दाबी गरेका छन्।

‘सबैसँग सन्तुलित व्यवहार गर्दै आएको छु’, हेमन्तले भने, ‘विपक्षीको मत तान्न सक्ने भएकाले पार्टीले टिकट दिएमा सहज जित निकाल्ने छु।’

उर्लाबारीका वडाहरुमा उम्मेदवार बन्ने चर्चामा आएकामध्ये हेमन्त थापा सम्भवतः कान्छा हुन्। उनी २० वर्षका भए। उर्लाबारी बहुमुखी क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत हेमन्त उर्लाबारी जेसीज वर्ष २०२० का उपाध्यक्ष पनि हुन्।

विद्यार्थी जीवनमै राजनीति र सामाजिक क्षेत्रलाई ‘फ्युजन’ बनाएर उनी अघि बढेका छन्। आफ्नो वडामा चिरपरिचित छन्। बुवा रामबहादुर र आमा देवीमायाका कान्छा सुपुत्र हेमन्त पारिवारिक पृष्ठभुमिकै कारण राजनीतिमा जोडिएको बताउँछन्। सिंगो परिवार नै एमालेमा संगठित भएकाले आफू एमाले इतरको राजनीतिलाई सोच्न पनि नसकेको उनको भनाई छ।

‘८ नम्बर वडामा एमाले यसैपनि बलियो छ, हामी अझ बलियो बन्न चाहन्छौँ’, वडा सदस्य बन्ने ताकमा रहेका हेमन्त भन्छन्। सुगम, सुव्यवस्थित र सु–सम्पन्न ८ नम्बर वडाको भिजन र कार्ययोजनासहित उम्मेदवारी दिने उनको चाहना छ।

यद्यपि उनी पार्टी निर्णयको पर्खाइमा छन्। साविक राजघाट गाविस हुँदाको अवस्था र हाल उर्लाबारी नगरपालिकामा समेटिँदाका तीन वटै स्थानीय चुनावमा ८ नम्बर वडामा एमाले भारी मतका साथ विजयी हुँदै आएको छ। गत चुनावमा पनि प्यानल नै जितेर ८ नम्बर वडालाई एमालेले आफ्नो ‘बाघखण्ड’ सावित गरिसकेको छ।

सूर्यध्वजाबाहक उम्मेदवार जो-कोही उठेपनि सो वडामा जित्ने अवस्था रहेको उल्लेख गर्दै हेमन्तले भने, ‘सबैले अवसर पाउन्, पुस्तान्तरण हुनुपर्यो, युवालाई मौका दिनुपर्यो भन्ने मेरो भनाई हो।’

आफ्नो ठाउँको विकास गर्न युवा नै नेतृत्वमा आउनुपर्ने भन्दै उनले धेरैबाट पाएको सल्लाह, सुझाव र हौसलाबाट थप उत्साहित भएको जनाए।

‘मैले आफू जन्मेको माटोमा मेरो ज्ञान, सीप र क्षमताको उच्चतम् उपयोग गर्दै सिंगो वडालाई सुन्दर र समृद्ध बनाउने सपनासहित वडा सदस्य बन्ने अभिलाषा राखेको हुँ’, उनले भनेका छन्।

हेमन्तले मुलुक समृद्ध बनाउन नयाँ सोच र जोस भएका युवा आवश्यक रहेको पनि बताए। जित्नुभन्दा टिकट पाउन सकस परेको भन्दै सिंगो वडाकै काँचुली फेर्ने आफूमा खुबी रहेको उनले सुनाए।

उर्लाबारीको दुर्गापुरी चौकमा अवस्थित द आर्ट स्टुडियोका संचालक हेमन्त जनसेवाबाहेक आफ्नो अरु कुनै स्वार्थ नभएकाले पार्टीले अवसर दिनुपर्ने बताउँछन्।

प्रकाशित मिति: : 2022-04-06 12:33:00

प्रतिकृया दिनुहोस्