क्वालालाम्पुर । नेपाल मलेसियामा जारी एसीसी यू१९ इस्टर्न रिजनको फाइनलमा प्रवेश गरेको छ।
घरेलु टोली मलेसियाले दिएको ८८ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा नेपालले १५ ओभर ५ बलमा ३ विकेट गुमाउँदै जित हात पार्यो।
नेपालको सहज जितमा कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले ६० रनको साझेदारी गरे। रोहित २९ बलमा १ छक्का र २ चौकासहित ३१ रनमा अभिजित रहे। सार्कीले ३३ रन जोड्ने क्रममा ३४ बलमा १ छक्का र २ चौका हिर्काए।
नेपालका लागि ओपनर पवन शरार्फले १८ रन बनाए। १६ बल खेलेका उनले २ छक्का र १ चौका प्रहार गरे।
अर्का ओपनर रित गौतम ३ रनमै आउट हुँदा खडगबहादुर बोहोरा शून्यमै आउट भए।
यसअघि किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४०.५ ओभरमा सबै विकेट गुमाएर ८७ रनमा समेटिएको थियो।
मलेसियाका लागि मोहम्मद अमिरले सर्वाधिक २४ रन बनाए। हैक्वाल मोहद खैरले १२ रन जोड्दा वान आमिरूलले ११ तथा अहमद अकमलले १० रन जोडे। बाँकी खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।
नेपाललाई इनिंगको पहिलो ओभरमै कमल सिंह ऐरीले विकेट दिलाएका थिए। असलम खान खाता नखोली क्याच आउट भए।
दोस्रो विकेटको लागि वान अमिरुल र मुहम्मद आमिरले ३७ रनको साझेदारी गर्दै इनिङ्स उकास्ने प्रयास गरे। १२ औं ओभरमा कुशल मल्लले आमिरलाई बोल्ड गरेपछि मलेसियाको विकेट पतन सुरु भयो। आमिर २४ रन बनाएर आउट भए।
सागर ढकालले ११ रन बनाएका जुलकरनियान, ३ रन बनाएका बिश्वरुबेन कुमारलाई पेभेलियन फर्काए। भीम शार्कीले १ रन बनाएका विजय उन्नीलाई उत्कृस्ट रन आउट गरे। सागरले मोहम्मद आरिफलाई खाता नखोल्दै पेभेलियन पठाउदा ३८/२ को स्थितिबाट मलेसिया ५५/६ को अवस्थामा पुग्यो।
त्यसपछि लेग स्पिनर तिलक भण्डारीले ४२ बलमा ७ रन बनाएर क्रिजमा अड्किरहेका तनिस अरोराको विकेट लिए। १२ रन बनाएका हैकल खैरलाई कुशल मल्लले बोल्ड गरे।
३३ औं ओभरमा ७५/८ पुगेको मलेसीयाको नवौं विकेट लिन नेपालले ८ ओभर कुर्नु पर्यो। अकमल अलिफ र सचिनु हेट्टीगेले १२ रनको साझेदारी गरे पनि नेपालको प्रतीक्षा लम्ब्याए। ४१ औं ओभरमा अलिफलाई रशिद खानले रन आउट गरे जसले ३६ बलमा १ चौका प्रहार गर्दै १० र बनाए। त्यही ओभरमा रशिदले सचिनुलाई बोल्ड गरे। २९ बलमा उनले मात्र १ रन बनाए।
नेपालको बलिंगमा सागर ढकालले सर्वाधिक ३ विकेट लिए जुन क्रममा १० ओभरमा ३ मेडन ओभर गर्दै मात्र १६ रन खर्चिए। चीनसँगको खेलमा पनि सागर एक्लैले ६ विकेट लिएका थिए। यस्तै कुशल मल्लले २ विकेट ( ९-५-१३-२ ) तथा कमल सिंह ऐरी ( ५-०-१४-१ ) र तिला राज भण्डारी ( ६-२-१३-१ ) ले १/१ विकेट लिए।
प्रतियोगितामा नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले तथा दोस्रो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो। डिफेन्डिङ च्याम्पियन नेपालले सन् २०१७ मा नेपालले हंगकंगलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको थियो।
प्रतियोगिताको विजेता टिम श्रीलंकामा यसै वर्ष अगस्ट/सेप्टेम्बरमा आयोजना हुने एसीसी अन्डर-१९ एसिया कप खेल्न छनोट हुनेछ।
श्रीलंकामा हुने एसिया कपको लागि पश्चिम क्षेत्रबाट कुवेत र युएई छनोट भईसकेका छन्। प्रतियोगितामा टेस्ट राष्ट्रका यु १९ टिमहरु भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वतः छनोट भइसकेका छन्।