न्युजिल्यान्डका अलराउन्डर जिम्मी निशमले इंग्ल्यान्डविरूद्ध विश्व कपको फाइनलमा सुपर ओभरमा हानेको छक्काले उनको स्कुलका पूर्व प्रशिक्षकको ह्दयघातका कारण निधन भएको छ।
आइतबार लर्ड्समा भएको फाइनल खेलमा निशमले सुपर ओभरमा छक्का प्रहार गरेका थिए। सुपर ओभरमा पनि दुबै टिमको योगफल बराबरी भएपछि इंग्ल्यान्ड सर्वाधिक बाउन्ड्री प्रहार गरेको आधारमा विश्व विजेता बन्यो।
निशमको स्कुले प्रशिक्षककी छोरी लियोनीले यो घटनाको जानकारी दिएकी हुन्। उनले आफ्ना प्रशिक्षक बावु डेभिड जेम्स गोर्डन फाइनल खेल हेर्न रातभरी बसेको र सुपर ओभरमा निशमले दोस्रो बलमा छक्का हान्दा मृत्यु भएको बताइन्।
फाइनल खेल पुरा हुँदा न्युजिल्यान्डमा सोमबार बिहान भएको थियो। लियोनी आफै नर्स हुन्। उनले सुपर ओभरका खेल प्रवेश गर्दादेखि नै बुवाको मुटुको ढुकढुकी बढ्न थालेको बताइन्।
विहिबार निशमले ट्वीट गरेर आफ्नो प्रशिक्षकलाई श्रद्धाञ्जली दिए। उनले लेखेका छन्, ‘डेभ गोर्डन मेरो हाई स्कुलका टिचर र प्रशिक्षक मात्र होइन साथी पनि थिए। म विश्वस्त छु तपाईले गर्व महसुस गर्नु भयो होला। तपाईको आत्मलाई शान्ति मिलोस्।’
निशमको ट्वीटपछि लियोनीले पनि भनेकी छिन्, ‘मेरो बुवा पनि तिमीलाई लिएर गर्व महसुस गर्नुहुन्थ्यो।’
गोर्डन लोकी फर्गुसनका पनि प्रशिक्षक हुन्। उनले निशम र फर्गुसनलाई अकल्यान्डको ग्रामर स्कुलमा अध्यापन गराएका थिए।