भारतका पूर्व स्टार ब्याट्सम्यान सचिन तेन्दुलकर आइसिसीको ‘हल अफ फेम’ मा समावेश भएका छन्।
विहिबार लन्डनमा उनलाई ‘हल अफ फेम’ मा समावेश गरिएको हो। उनी ‘हल अफ फेम’ मा समावेश हुने छैटौं भारतीय खेलाडी हुन्। यसअघि सुनिल गावस्कर, बिशनसिंह बेदी, कपिल देव, अनिल कुम्बले र राहुल द्रविडलाई आइसिसीले ‘हल अफ फेम’ बाट सम्मानित गरेको थियो।
सचिन आइसिसीको ‘हल अफ फेम’ मा सन्यास लिएको निकै छिटो समावेश भएका हुन्। उनी सन्यास लिएको पाँच वर्षभित्रै ‘हल अफ फेम’ मा समावेश भएका हुन्।
सचिनले सन् २०१३ को नोभेम्बरमा क्रिकेटबाट सन्यास लिएका थिए। उनी २ सय टेस्ट खेल्ने एक्लो क्रिकेटर हुन्।
सचिनले टेस्टमा १५ हजार ९ सय २१ रन र एकदिवसीयमा १८ हजार ४ सय २६ रन बनाएका थिए। उनी अन्तर्राष्ट्रिय क्रिकेटमा सतकको सतक बनाउने एक मात्र ब्याट्सम्यान हुन्।
उनले टेस्टमा ५१ र एकदिवसीयमा ४९ सतक बनाएका छन्। सन् २०११ मा भारतले विश्व कप जित्दा उनी भरतीय टिमको प्रमुख खेलाडी थिए।
सचिनसँगै दक्षिण अफ्रिकाका तीब्र बलर एलन डोनाल्ड पनि ‘हल अफ फेम’ मा समावेश भएका छन्।
डोनाल्ड सन्या लिएको १५ वर्षपछि ‘हल अफ फेम’ मा समावेश भएका हुन्। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा ६ सय २ विकेट लिएका छन्। सन् २००४ मा सन्यास लिएका डोनाल्डले टेस्टमा ३ सय ३० र एकदिवसीयमा २ सय ७२ विकेट लिएका थिए।
यस्तै, अस्ट्रेलियाको महिला क्रिकेट टिमको तीन वर्षसम्म प्रशिक्षक रहेकी ५१ वर्षीय क्याथरिन फिट्जप्याट्रिकलाई पनि ‘हल अफ फेम’ बाट सम्मानित गरिएको छ।
उनले सन् १९९१ देखि २००७ सम्म १ सय ८० एकदिवसीय र ६० टेस्ट खेलेकी थिइन।
उनी १९९७ र २००५ मा विश्व कप जित्ने महिला टोलीकी सदस्य थिइन। उनी २०१२ देखि २०१५ सम्म महिला टिमकी प्रशिक्षक थिइन। उनको नेतृत्वमा अस्ट्रेलियाले एकदिवसीयको एउटा र टि–२० को दुईवटा विश्व कप जितेको थियो।
आइसिसीले क्रिकेटमा योगदान गर्ने खेलाडीलाई ‘हल अफ फेम’ को सूचिमा समावेश गर्ने गर्दछ। हालसम्म ९० खेलाडी यो उपाधिबाट विभूषित भइसकेका छन्।