बार्सिलोनाका स्टार अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीले आफ्ना पूर्व सहकर्मी स्ट्राइकर ब्राजिलका नेइमारलाई क्लबमा भित्र्याउन दबाव दिएका छन्। उनले क्लबमा नेइमारको आगमनपछि मात्र आफूले बार्सिलोनासँग लामो अनुबन्धको प्रक्रियालाई अघि सार्ने भन्दै क्लबलाई दबाव दिएका हुन्।
बार्सिलोनाका क्लब अध्यक्ष जोसेप मारिया बार्टोमेउको कार्यकाल सन् २०२१ मा समाप्त हुँदैछ। उनी आफ्नो कार्यकाल समाप्त नहुँदासम्म मेसीलाई क्लबमा राख्न चाहन्छन्।
अन्तिम पल्ट क्लबले च्याम्पियन्स लिगको उपाधि जित्दा अग्रपंक्तिमा एमएसएन (मेसी, स्वारेज र नेइमार) को प्रभाव रहेको भन्दै मेसीले पुनः नेइमारलाई क्लबसँग जोड्न दबाव दिइरहेका छन्।
नेइमार गोल गर्न मात्र होइन, गोलका लागि बल मिलाउन पनि माहिर मानिन्छन्। नेइमारको अनुपस्थिति यस वर्ष क्लबले महसुस गरेको थियो। यसमा पनि विशेषत मेसीले अनुभव गरेका थिए।
मेसी यतिबेला आफ्नो रणनीतिक चातुर्यतालाई बुझने, उनलाई खेल्नका लागि ‘स्पेस’ मिलाइदिने खेलाडीको खोजीमा छन्। र, त्यो काम नेइमार बाहेक अन्य खेलाडीले गर्न नसक्ने उनको निस्कर्ष छ।
गत वर्ष महंगो रकममा बार्सिलोना छोडेर फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) मा हाम्फालेका नेइमारले क्षमता अनुसारको प्रदर्शन गर्न सकिरहेका छैनन्। उनले केही समयअगाडि आफू पुनः बार्सिलोना फर्किन चाहेको भन्दै सबैलाई चकित तुल्याएका थिए।
मेसीको दबावकै कारण बार्सिलोनाले ‘स्वाप डिल’ अन्तर्गत नेइमारलाई भित्र्याउन अन्तर्राष्ट्रिय क्लब फुटबलकै सबैभन्दा ठूलो प्रस्ताव अघि सारेको छ। बार्सिलोनाले नेइमारको लागि ११ करोड ५० लाख अमेरिकी डलरको प्रस्ताव पिएसजीसँग राखिसकेको छ।