कर्णालीका खेलाडी प्रतियाेगिता खेल्न सिमीकाे खेती गर्दै

trailrunningnepal.org

कर्णाली स्पोर्टस क्लबले यो वर्ष दोस्रो पटक जुम्ला रारा अल्ट्रा म्याराथनको आयोजना गर्दैछ। भदौ २९ देखि आयोजना हुने प्रतियोगिताको यतिबेला तयारी तिब्र रुपमा अगाडि बढेको छ। 

देशभरी आयोजना हुने पाँचवटा ठूला म्याराथनमा जुम्ला–रारा अल्ट्रा म्याराथन पनि एक हो।

यसअघि अन्य चार प्रतियोगिता सम्पन्न भैसकेका छन् भने बाँकि एउटा जुम्ला–रारा अल्ट्रा म्याराथन हो ।

अन्तराष्ट्रिय धावक हरि रोकाया संरक्षणक रहेको कर्णाली स्पोर्टस क्लबले आयोजना गर्ने जुम्ला–रारा अल्ट्रा म्याराथन अक्टोबर महिनामा अन्नपूर्ण गोल्ड वर्ल्ड ट्रेल रेसको सेमिफाइनल खेल पनि हो। जसबाट छानिएका ६ जनाले अन्तर्राष्ट्रिय स्तरको उक्त खेलमा सहभागी हुन पाउनेछन्।

आयोजनाको तिब्र तयारी भैरहेको अवस्थामा विभिन्न जिल्लाबाट जुम्ला आएर प्रतियोगिताको तयारी गर्नेको संख्या पनि बढिरहेको छ।

यस्तै मध्यकी एक हुन् सिन्धुपाल्चोक जिल्लाकि लामपुटी लामा। उनीसहित ६ जनाको टोली विगत एक महिनादेखि जुम्लामै आएर प्रतियोगिताको तयारी गरिरहेका छ। उनीहरु सबै अन्तर्राष्ट्रिय विश्व च्याम्पियन अल्ट्रा धाविका मिरा राईको सम्पर्कमा जुम्ला पुगेका हुन्।

यतिबेला बिहानदेखि अभ्यास गरिरहेका खेलाडी दिउँसो चन्दननाथ मन्दिरको स्वामित्वमा रहेको शेरा जिउलोमा सिमी लगाउने काम गरिरहेको भेटिन्छन्।

क्लबका अध्यक्ष सरोज शाही, अन्तर्राष्ट्रिय धावक हरि रोकाया, स्पोर्टस क्लबसँग आबद्द रहेका खेलाडी तथा बाहिरबाट आउने खेलाडी पनस सिमी लगाउने काममा निरन्तर खटिरहेको छन्। हाम्रो कृषि सहकारी संस्थाले भाडामा लिएर इटालियन फुजि स्याउ लगाएर खाली रहेको जमिनमा २५ प्रतिशत सहकारी संस्थाले र ७५ प्रतिशत क्लबले पाउने गरि सिमी खेती गर्न लागिएको छ।

यसरी उत्पादन भएको सिमी खेलाडीको खाजा नास्तामा खर्च गरिने क्लबका अध्यक्ष सरोज शाही बताउँछन्। खेलाडीका लागि आवश्यक पर्ने खाजा, ट्राउजर, जुत्ता लगायतका सामाग्री जुटाउन गाह्रो भएको क्लबको आम्दानीको लागि यस्ता काम गर्नु परेको शाहीले बताए।

यसअघि धावक रोकायाले जग्गा उपलब्ध गराएपछि क्लबको स्वामित्वमा कुटानी पिसानी मिल संञ्चालनमा ल्याइएको छ। ‘खेलाडीको खर्च जुटाउन विभिन्न काम गरिरहेका छौं। मिल संचालन, सिमी खेती गर्ने लगायतका अन्य काम गरिरहेका छौं’, रोकाया भन्छन्,‘कतिपय अवस्थामा खेलाडीलाई जिल्ला बाहिरका प्रतियोगितामा भाग लिन जानु पर्ने हुन्छ। उनीहरुलाई सहभागी गराउन पनि यस्ता काम गर्नु परिरहेको छ।’

प्रकाशित मिति: : 2019-07-24 22:59:48

प्रतिकृया दिनुहोस्