जिल्ला खेलकुद पदाधिकारीको विदाई

बिएल

जिल्ला खेलकुद विकास समिति मोरङले अध्यक्ष, कोषाध्यक्ष र एक सदस्यलाई सम्मानसहित विदाई गरेको छ।

विराटनगरको सहिद मैदानस्थित कार्यकक्षमा आइतबार आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष किशोरलाल अमात्यसहित कोषाध्यक्ष सुजय गौतम र सदस्य भुवन खतिवडाको चार वर्षे कार्यकाल पूरा भएसँगै समितिले विदाई गरेको हो।

विदाईमा अमात्यले कार्यकाल सन्तोषजनक रहेको उल्लेख गरे । भौतिक पूर्वाधार निर्माणदेखि सातौं राष्ट्रिय प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको बताउँदै उनले खेलकुदमा देखिएका विकृति र विसंगति न्यून गर्न सफल भएको दाबी गरे। एथलेटिक्सका पूर्व खेलाडी अमात्यले भने, ‘खेलकुदमा काम गर्ने भन्दा पनि कुरा काट्ने जमात ठूलो रहेको छ । त्यस घेराबाट बाहिर निस्कन सकेमात्र खेलकुदमा विकास हुनेछ ।’

त्यसैगरि कोषाध्यक्ष पदबाट मुक्त भएका गौतमले खेलकुदमा सक्रिय रहेको बताउँदै पुनः फर्कनसक्ने संकेत गरेका थिए । समितिमा भावी अध्यक्ष पदको दाबी गरिरहेका गौतमले राजनीतिक नियुक्ती हुने भएकाले भोलिका दिनमा फेरि आउन सक्ने बताए । उनले भने, ‘यस कार्यकालमा समितिले भौतिक संरचना निर्माणमा विशेष जोड दिएको थियो । जुन सन्तोषजनक रहेको छ र अबको पाटो भनेको खेलक्षेत्रमा रहेको विकृतिलाई हटाउनु रहेको छ ।’

यसअघि तीनै जनाले २०७२ साल साउन १२ गते पदभार ग्रहण गरेका थिए । अमात्यको यस चारवर्षे कार्यकालमा सहिद मैदानलाई तत्कालिन उपमहानगरपालिकासँगको सहकार्यमा पुनः निर्माण गरिएको थियो । उपमहानगरपालिकाको १ करोड रुपैयाँ आर्थिक सहयोगमा सहिद मैदानको घाँस, तारबारको घेरा, चेन्जिङ रुपको लागि ५० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

त्यसैगरि, यसै कार्यकालमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना विराटनगरमा भएको थियो । सो क्रममा समितिकै पहलमा बैजनाथपुरस्थित स्पोर्टस कम्प्लेक्समा अवस्थित क्रिकेट मैदानका लागि १ करोड रुपैयाँ, सुटिङ रेन्ज र हलका लागि ६० लाख रुपैयाँ र सफ्ट टेनिस कोर्टका लागि ४० लाख रुपैयाँ खर्चिएको थियो ।

हाल सफ्ट टेनिस र सुटिङ हल प्रयोगविहीन अवस्थामा रहेको छ । यसैसमितिले गएको आर्थिक वर्षमा लक्ष्मीमार्ग खेलमैदान र पथरीस्थित खेलमैदानका लागि समान १० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

यससँगै यसवर्ष मनमोहन स्मृति गोल्डकप फुटबल र पथरी गोल्डकप फुटबल प्रतियोगिता हुन नसक्दा समान ५ लाख रुपैयाँ बजेट फ्रिज भएको छ । त्यसैगरि, महानगरमा विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजना नहुदाँ २ लाख रुपैया बजेट फ्रिज भएको समितिले जनाएको छ ।

कार्यक्रममा उपाध्यक्ष शंकर खरेल, विनोद राउत, विमल पोखरेल, कार्यालय प्रमुख देवराज कट्वालसहित अन्य खेलकुद पदाधिकारी, कर्मचारीको उपस्थिती रहेको थियो ।

४ वर्षे कार्यकालको क्रममा समितिको कार्यसमितिमा राजनीतिक भागवण्डाका आधारमा १३ जनाको नियुक्त भएको थियो । यसअघि एक जना सदस्य उत्तरकुमार खवासले भने स्थानीय तहको निर्वाचन पश्चात राजीनामा दिएका थिए ।

 

प्रकाशित मिति: : 2019-07-28 23:18:13

प्रतिकृया दिनुहोस्