‘टीयू क्रिकेट मैदान’ निर्माणः पूरा भएन प्रधानमन्त्रीको बाचा

प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानको काम ३०० दिनमा सकिने दाबी गरेका थिए। तर तीनसय २९ दिन नाघ्दासम्म निर्माणको काम जारी छ। प्रधानमन्त्री ओलीले गत असार १ गते प्रधानमन्त्रीको पदभार गरेपछि टीयू मैदान तीनसय दिनमा निर्माण सक्ने निर्णय नै गरेका थिए।

त्यस्तै सहरी विकास मन्त्रालयले वैशाख २४ गतेभित्रै निर्माण कार्य सकिने दाबी गरेको थियो। उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले केही महिना अघि क्रिकेट मैदानको अवलोकन गर्दै तोकिएको मितिभित्र पूरा हुनेगरी काम अगाडि बढिरहेको बताएका थिए।

मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप प्याराफिट निर्माण र फ्लडलाइट जडानको काम ०८१ फागुनमा सम्झौता भइ २०८२ वैशाख २४ गतेभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढाइएको थियो। तर मैदानको अवलोकनका आइतबार कीर्तिपुर पुग्दा निर्माण कार्य धमाधम भइरहेको थियो।

प्याराफिट निर्माणका लागि ४३ करोड ७७ लाखमा ठेक्का लिएको बीकेओआई-केसीडीसी-बीजी जेभीले मैदान निर्माणको कामलाई तिब्रता दिइरहेको देखिन्छ। फ्लड लाइड जडान गर्नका लगि २७ करोड ४० लाख रुपैयाँमा अर्को ठेक्का पाएको विशाण-ईश्वरी जोइन्ट भेन्चरको काम भने रफ्तारमा दौडिएको देखिदैन्। अन्य काम सकिएपछि लाइट जडानको काम सुरु गर्ने विशाण-ईश्वरी जोइन्ट भेन्चरको दाबी छ। लाइटका लागि पूर्वाधारको काम जारी रहेपनि प्याराफिटको काम सकिएपछि थप काम गर्न सहज हुने दाबी गरिएको छ।

काममा सुस्तता देखिएपछि प्रधानमन्त्री ओलीले ३०० दिनभित्र रंगशालाको निर्माण सम्पन्न नभएको भन्दै स्पष्टीकरण नै सोध्न भ्याएका छन्।  उनले सहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई स्पष्टीकरण सोधेका हुन्। उनले थपिएको समयमा जसरी पनि काम सम्पन्न गर्न निर्देशन दिएका छन्। तर निर्माण पक्षले जग्गा प्राप्तिमा ढिलाइ, रुख पन्छाउने काममा कानुनी समयसीमाको समस्या देखाएको छ।

बीकेओआई-केसीडीसी-बीजी जेभीको प्याराफिट निर्माण प्रोजेक्टको डाइरेक्टर भरत गिरीले २४ घण्टा नै खटेर र सबै कामदारहरू परिचालन गरेर काम गरिरहेको बताउँछन्।

‘हामीले ६५ प्रतिशत काम पूरा गरेका छौं।  प्याराफिट कास्टिङको काम जेठ भित्रमा भ्याउँछौं। त्यसपछि कुर्सी इन्स्टल गर्ने काम असारमा गछौं। निर्माण सामग्री र बजेटको कुनै अभाव नभएपनि प्रथप पटक म्याद थप गरेकाले तोकिएको समयमा काम सक्छौं,’ गिरीले भने।

‘३०० दिनको तयारी गरेर सरकार अगाडि बढ्दा २३४ दिन सकिएपछि ६६ दिन बाँकी हुँदा निर्माण व्यवसायीका रुपमा छनोट भयौं। ६६ दिन बाँकी रहदा एग्रिमेन्ट गर्यौं। त्यसपछि करिब १० दिन मौसम र चाँडपर्व, डिजाइनमा परिवर्तन/परिमार्जन गर्नुपर्ने अवस्था आयो। त्यस कारण पनि तोकिएको् समयमा काम गर्न नसकिएको हो। तर थपिएको समयमा निर्माण कार्य सकिन्छ। यो प्रथम पटक म्याद थपिएको हो,’ गिरीले भने।

निर्माण कम्पनीले थप दुई महिनाभित्र प्याराफिट निर्माण र फ्लडलाइट जडानको काम पूरा गर्ने वाचा गरेको प्रधानमन्त्री सचिवालयलको दाबी छ।

सरकारले उक्त मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रुपमा विकास गर्ने घोषणा गरिसकेकाले निर्माण पक्ष थप दबाबमा परेको छ।

आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका थिए। उनले रङ्गशाला लगायतका खेलकुद पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न कानुनी व्यवस्था मिलाइने बताए।

तर पछिल्लो समय भारत-पाकिस्तानबीच देखिएको तनावका कारण कुर्सीलगायतका सामग्री ल्याउन कठिन हुने निर्माण टीमको भनाइ छ। यता, लाइट जडानको जिम्मेवारी पाएको कम्पनीले पनि काम भने जारी राखेको छ।

प्रकाशित मिति: : 2025-05-11 17:55:00

प्रतिकृया दिनुहोस्