राष्ट्रपति सीको सुरक्षा: विमानस्थलमा कडाई, मोरङमा ५ तिब्बती पक्राउ

फाइल फाेटाे। बिएल।
चिनियाँ राष्ट्रपति सी चिनफिङको सुरक्षालाई ध्यानमा राख्दैं प्रहरीले बिहीबार मोरङबाट ५ तिब्बतीमूलका नागरिकलाई नियन्त्रणमा लिएको छ। काठमाडौंमा हुने पुजाका लागि भारतबाट आएका तिब्बतीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ। बिहीबार कन्चनपुरबाट पनि ४ तिब्बतीलाई भारततर्फ फर्कोइएको छ। पोखरामा हुने पुजामा आएका उनीहरुलाई प्रहरीले सोधपुछ गर्दा उनीहरु आफै भारत फर्कन राजिभएको प्रहरीले दावी गरेको छ।

चिनियाँ राष्ट्रपतिको सुरक्षामा खटिएका प्रहरीले तिब्बती नागरिक बसोबास गर्ने क्षेत्र, शरणार्थी क्याम्प र गुम्बालाई निगरानीमा राखेको छ। काठमाडौंसँग जोडिने बिमानस्थलमा समेत सुरक्षा ब्यवस्था कडा पारिएको छ। प्रहरी मुख्यालयले बिहीबार देशका राजधानीसँग जोडिने बिमानस्थलमा रहेका सुरक्षाकर्मीलाई बिमानस्थल हुँदै काठमाडौं आउने यात्रुको चेकजाँचमा विषेश ध्यान दिन निर्देशन दिएको थियो। नेपालगंज, भैरहवा, पोखरा, बिराटनगर, सिमरालगायतका बिमानस्थल हुँदै काठमाडौं भित्रिने यात्रु र सरसामानको चेकिङमा विषेश ध्यान दिन प्रहरी प्रधान कार्यालयले परिपत्र जारी गरेको प्रहरी स्रोतले जानकारी दियो। यसैगरी प्रहरीले भारतलगायत तेस्रो मुलुकबाट नेपाल आउने तिब्बतीलाई कडाई गरेको छ।

चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि सबै सुरक्षा निकायलाई पनि परिचालन गरिसकेको छ। स्रोतका अनुसार चिनियाँ राष्ट्रपतिको सुरक्षामा १६ हजार प्रहरी र १५ सय ट्राफिक प्रहरी परिचालित हुनेछन्। त्यसैगरी नेपाली सेना,सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान बिभागका सुरक्षाकर्मीलाई एकीकृत रुपमा परिचालन गरिने गृहमन्त्रालयले जनाएको छ। २३ वर्षपछि हुने यो भ्रमणलाई सरकारले विषेश महत्वका साथ हेरेको छ।

राष्ट्रपतिको बासस्थानदेखि सवारी सडकलाई प्रहरीले बिहीबारदेखि नै विशेष निगरानीमा राखेका छन्। राजधानीको बौद्ध, स्वयम्भु र जावलाखेललाई प्रहरीले उच्च सतर्कतामा राखेको छ। यसैगरी चिनियाँ दुतावास रहेको क्षेत्र हात्तिसारलाई पनि उच्च निगरानीमा राखेको छ।
प्रकाशित मिति: : 2019-10-11 13:12:21

प्रतिकृया दिनुहोस्