चिनियाँ राष्ट्रपति सीको आजको भेटघाटः नेकपा नेताहरूसँग सामूहिक भेट, १ बजे चीन प्रस्थान

तस्बिरः रासस

नेपालको दुई दिने राजकीय भ्रमणमा काठमाडौं आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले आइतबार राजनीतिक भेटवार्तामा व्यस्त हुनेछन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङको आजको राजनीतिक भेटघाट नेकपाका सचिवालय सदस्यहरुसँगबाट सुरू हुने कार्यतालिका छ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सचिवालय सदस्यहरुले अहिले बिहान साढे १० बजे चिनियाँ राष्ट्रपति सीसँग होटल सोल्टीमा सामूहिक भेटवार्ता गर्दैछन्। त्यसलगत्तै अध्यक्ष दाहाल र सीको एक्लाएक्लै भेटवार्ता हुने पनि कार्यक्रम तय भएको छ ।

यस्तै चिनियाँ राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग ११ बजे सोल्टी होटलमै एक्ला एक्लै भेटवार्ता गर्नेछन्।

प्रधानमन्त्री ओलीसँगको शिष्टाचार भेटवार्ता लगत्तै नेपाल-चीनका प्रतिनिधिसम्मिलित द्विपक्षीय बैठक बसी विभिन्न सहमति र सम्झौतामा हस्ताक्षर गर्ने कार्यतालिका छ ।

यसअघि शनिबार सीले नेपाली समकक्षी विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका छन्।

द्विपक्षीय वार्ता सकेर १२ बजे सी एयरपोर्टका लागि प्रस्थान गर्नेछन् भने १ बजे एयर चाइनाको विशेष विमानबाट बेइजिङका लागि उड्ने कार्यतालिका छ।

प्रकाशित मिति: : 2019-10-13 09:13:05

प्रतिकृया दिनुहोस्