बलिउड नायिका दिया मिर्जाले अन्तत ११ वर्ष लामो वैवाहिक सम्बन्धको अन्त्य गर्ने भएकी छिन्।
उनले बिहीबार सोशल मिडियामार्फत श्रीमान साहिल संघासँग छुट्टिएर बस्ने निर्णय गरेको जानकारी दिएकी छिन्। उनको यो निर्णयले सबैलाई अचम्ममा पारेको छ।
दिया र साहिलबीच सन् २००८ मा विवाह भएको थियो।
दियाले इन्स्टाग्राममा राखेको पोस्टमा छुट्टिने निर्णय दुबैले लिएको बताएकी छिन्। उनले पोस्टमा भनेकी छिन्, ‘११ वर्ष सँगै बसेपछि हामीले आपसी सहमतिमा छुट्टिने निर्णय गरेका छौं। हामी सधैं साथी रहने छौं। भविष्यमा पनि एकअर्काप्रति प्रेम र सम्मानका साथ बाच्ने छौं। हामीलाई माया गर्नु भएकोमा परिवार र साथीहरू प्रति विशेष धन्यवाद भन्न चाहन्छु। म विश्वस्त छु, मिडियाले पनि हाम्रो निर्णयको सम्मान गर्नेछ र हाम्रो व्यक्तिगत जीवनप्रति उच्च भाव राख्ने छ।’
दियाले पछिल्लो समय २०१८ मा रणबीर कपुरसँग ‘सन्जु’ फिल्ममा काम गरेकी थिइन। उनी अहिले वेभ सिरिज ‘काफिर’ लाई लिएर निकै चर्चामा छिन्। उनी यो फिल्ममा टिभी एक्टर मोहित रेनासँग मुख्य भूमिकामा छिन्।