नेपाली चलचित्र क्षेत्रका एक सिद्धहस्त निर्देशक किशोेर रानाको निधन भएको छ ।
दुबै मृगौलाले काम गर्न छोडेपछि लामो समयदेखि डायलोसिस गराउँदै आएका रानाको बुधबार अपरान्ह साँढे तीन बजे ललितपुरको पुल्चोकस्थित निदान अस्पतालमा निधन भएको हो । उनी ६४ वर्षका थिए ।
नेपालको पहिलो सिनेमास्कोप चलचित्र राँको र एतिहासिक पृष्ठभूमिको सीमारेखा रानाले निर्देशन गरेका नेपाली चलचित्रका बेञ्चमार्क चलचित्र हुन् । उनले यी दुई चलचित्रका अलावा कर्जा, करोडपति, एक नम्बरको पाखे, सन्तानको माया, कब हुई मिलन हमार, मिस्टर मंगले, चक्र आदि चलचित्रको निर्देशन गरेका थिए।
लामो समयसम्म बलिउडमा संघर्ष गरेर चलचित्रको प्राविधिक ज्ञान हासिल गरेपछि उनी नेपाली चलचित्रमा प्रवेश गरेका थिए । उनी एक सिद्धहस्त र मनैदेखिका चलचित्रकर्मी त थिए नै, मृदुभाषी र मिलनसार स्वभावका पनि थिए । थोरै र मसिनो बोल्ने उनको स्वभाव धेरैका लागि अनुकरणीय हुन सक्छ ।
रानालाई केही समय पहिले मात्र नेपाली चलचित्र क्षेत्रको सबैभन्दा ठूलो सम्मान दीर्घसेवा सम्मान प्रदान गरिएको थियो ।
रानाको निधनबाट नेपाली चलचित्र क्षेत्र स्तव्ध भएको छ । यस क्षेत्रका विभिन्न संघ-संस्था र व्यक्तिहरूले उनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
भारतको बङ्लोरमा अध्ययरत छोरा द्र्व्य राना काठमाडौै आएपछि विहीबार मात्र उनको अन्त्येष्टि गरिने बताइएको छ ।