भाइरल हुने बहानामा लोकप्रियता हराउँदै गयोः गायक शिरिष देवकोटा

तस्बिरः बिएल

धर्म कर्म छोडी मयााकै नाम जपियो, झन् पिरलो थपियो…

खरबारीमा जान्छु मुठी लिन्छु टोलाउँछु, पात बजाउँदै बोलाउँछु...

यी गीतका हरफ हुन् गायक शिरीष देवकोटाका। सुमधुर स्वरका धनी देवकोटा गायनसँगै मनछुने शब्द र लोकगीतमा मिठो लयसमेत भर्छन्।

करिब डेढ दशकको सांगीतिक यात्रामा उनले थुप्रै चर्चित गीतहरू गाइसकेका छन्। ‘म त आउने थिइनँ...’, ‘दुर्गा हौ कि भवानी...’, माया लाउन मिल्छ र...?’ लगायत उनका दर्जनौं गीत चर्चामा छन्।

लोक सङ्गीत क्षेत्रका गायक देवकोटालाई विशेषतः रोइला गायक भनेर पनि धेरैले चिन्छन्।

समसायीक विषयमा बिएल नेपाली सेवाले गरेको कुराकानीमा देवकोटाले पछिल्लो समय भाइरलको नाममा सस्तो लोकप्रियता बढ्दै गएको र वास्तविक लोकप्रियता हराएकोमा चिन्ता व्यक्त गरे।

‘सस्तो लोकप्रियता कमाउनका लागि मान्छेहरू आजभोलि लोकदोहोरीको मर्म नबुझिकन जे-पायो त्यही गीत गाएर रातारात भाइरल हुने ध्याउन्नमा हुन्छन्’, उनले भने, ‘हाम्रो लोक संस्कृतिमाथिको प्रहार धमिलो रूपमा दिनप्रतिदिन भइरहेकाले मौलिक संस्कृति बचाउनुपर्ने हुन्छ।’

यो पनि हेर्नुहोस्

अझै २० वर्ष लोक गीतमा स्वर भरिरहने रहर छ- बिमलराज क्षेत्री

कलाकारिता क्षेत्रमा स्थापित हुन र दीर्घकालिन लोकप्रियता कमाउन अहोरात्र संघर्ष गर्नुपर्ने उनले बताए।

‘मलाई धनि होइन ग्लानी हुन मन लाग्छ। अनि अल्पकालिन होइन दीर्घकालिन हुन मन लाग्छ’, उनले आफ्नो बारेमा यसरी सम्झन्छन्।

आफूलाई धेरैले रोइला गीतको राजा भने पनि आफू अझै सिकिरहेको बताउँछन्।

पाल्पाको पाँच दर्लमडाँडामा जन्मिएका उनी एसएलसी सकेपछि साइन्स पढ्न भनेर काठमाडौं आए। पढाईमा सधै अब्बल देवकोटा एसएससीसम्म दुई पटक मात्र दोस्रो भए नभए उनलाई जित्ने कोही थिएन।

स्कुले जीवनमा अतिरिक्त क्रियाकलापमा समेत अब्बल देवकोटाले स्कुलमै आयोजना भएका विभिन्न प्रतियोगितामा भाग लिए पनि गीतका प्रतियोगितामा भने कहिल्यै भाग लिएनन्।

बिमाकुमारी दुरा, नारायण रायामाझीको गीत सुन्दै हुर्किएका उनले आफ्नी आमा डुल्कादेवीलाई संगीतको गुरू मान्छन्। आमाले गुनगुनाउने लोक गीत र रोइला गीतबाट प्रभावित भएका थिए।

‘म सानोमा हुँदा मेरी आमाले लोक गीत र रोइला गीत निकै गाउनुहुन्थ्यो। सायद् आमाले त्यो बेला गीत गाउनु भएको थिएन भने मैले आज गाउँको मौलिक शब्दलाई टपक्क टिपेर यसरी गाउन सक्दिनँ थिएँ होला’, उनले भने, ‘आमाले गाउँतिरका ठेट शब्दहरू गीतमा उनेर गाउनुहुन्थ्यो अनि मैले त्यही भाकाहरू टिप्न थालेँ।’

स्कुलका विभिन्न प्रतियोगितामा गीत गाउने उनले सानो हुँदा आमासँगै स्वस्थानीको ब्रतका बेला सांगेमा गीत गाउन जान्थे।

भारतीय सेनाबाट भागेर आएपछि ईखले चम्किएका दुर्गेश

रिटायर्ड मावि शिक्षक बुबा सूर्यप्रसादले छोरालाई डाक्टर-इन्जिनियर बनाउने चाहना राखे पनि उनलाई गायक बन्ने ठूलो धोको थियो।

‘हाम्रो समाजमा अझै पनि छोरो यदि पढाइमा राम्रो छ भने डाक्टर/इन्जिनियर बनाउने धोको आमा बुवाको हुन्छ। तर, मलाई त्यसको सामना ‌गर्नुपरेन किनकि, मेरा आमाबुवाले मलाई राम्रोसँग बुझ्नु भएको थियो।’

२०५८ सालमा काठमाडौं आएर अमृत साइन्स क्याम्पसमा भर्ना भएका देवकोटाले समयलाई राम्रोसँग चिनेका थिए। उनले पढाइसँग सँगै सांगीतिक व्यक्तिहरूसँग भेटघाट बाक्लियो।

भगवान् भण्डारी त्यति बेलाका चर्चित गायक थिए। ‘खैरेनीमा गेट, अन्तै दिन बस्यो कि निरमाया हुनै छोड्यो भेट……’ उनको त्यति बेला चलेको गीत थियो। कान्तिपुर म्यूजिक कम्पनीका मालिकसमेत रहेका भण्डारीले उनको स्वर मन पराए।

‘मैले उहाँलाई भेट्ने बित्तिकै गीत सुनाएँ। मेरो स्वर सुनेर प्रभावित हुनुभयो’, उनले भने, ‘त्यो बेला चलन पनि कस्तो थियो भने राम्रो प्रतिभालाई कम्पनीले पनि लगानी गर्थे। अडियो चक्काहरू बिक्थे बजारमा। ल गीत निकाल्नु पर्छ भन्नुभयो। त्यसपछि पहिलो गीत रेकर्ड गरेँ।’

२०५९ सालदेखि साङ्गीतिक यात्रा सुरू गरेका देवकोटाले २०६१ सालमा पहिलो रोइला (खेली) गीत ल्याए। ‘खरबारीमा जान्छु, मुठी ल्याउँछु...’ त्यो नेपालमै पहिलो थियो। त्यो पनि एक हिसाबले चल्यो।

त्यसपछि ‘ढुक्कै मन गरी बसे अन्त नजर लाइन, छ महिनामा भेट हुँदा नि मिठो बोली पाइनँ…’ गीतले उनलाई कलाकारबीचमा चिनाउन मद्दत गर्‍यो।

‘यसलाई मैले संजीवनी बुटी पनि भन्ने गरेका छु। व्यवसायीक हिसाबले यो धेरै चल्यो। यसले आफैंमा एउटा इतिहास बनायो। मेरो इतिहास पनि यसैले बनायो’, उनले भने।

यही गीतले रोइला गीत सङ्गीतलाई धेरै उचाइमा पुर्‍याएको भन्दै उनले यर्थाथमा लोपोन्मुख चिजहरूमा पनि दम छ। पुराना लोक सङ्गीतको पनि महत्त्व छ भन्ने कुरा यसले पुष्टि गरेको उनले दाबी गरे।

‘यो गीत निस्किएको एक दशक बढी भयो। तर, गीतको रौनक अझै छ। म अहिले पनि जहाँ जान्छु त्यो गीत गाउनुपर्छ। मान्छेको मनमा यसरी बस्यो कि हालका युवा पुस्ताले पनि मसँगै गाउँछन्’, उनले भने।

यसले उनको सांगीतिक यात्रामा थप बल पुर्‍यायो। उचाइ थप्दै गयो।

जब २०६४/६५ बाट राष्ट्र भक्ति गीतहरूको सङ्ग्रह सहितको ‘रगत...’ भन्ने गीत ल्याए । त्यो गीतले उनको आत्मबललाई थप बलियो बनायो।

‘मैले सधैँ एकनासका गीतहरू मात्रै होइन देशका लागि पनि गाउनु पर्छ भन्ने हिसाबले गाएँ। त्यसपछि २०६५ बाट यस क्षेत्रमै छु’, उनले भने।

बुबा आमा पाल्पाबाट बुटवल सरे पनि ३४ वर्षे देवकोटा पाँच वर्षको छोरो र श्रीमतीसँग काठमाडौंमै बस्दै आएका छन्।

गायन क्षेत्रसँगै उनले काठमाडौंमा एउटा कन्सल्टेन्सीसमेत चलाएर बसेका छन्।

उनले नेपाली संगीत क्षेत्रमा अरू गायक/गायिकाले जस्तो संघर्ष गर्नु परेन। मध्यम वर्गीय परिवारका कान्छा छोरा शिरिषले पढाईसँगै संगीतलाई पनि अगाडि लगे।

‘अरूको तुलनामा म भाग्यमानी कलाकार हुँ, मैले छाक टार्नका लागि दोहोरी साँझमा काम गर्नु परेन अनि अरू साथीभाइले जस्तै कडा संघर्ष पनि गर्नु परेन, जे जति संघर्ष गरे आन्तरिक संघर्ष नै गरेँ।’

गीत गाउँदै हिँड्ने क्रममा देशका ६५ जिल्ला पुगिसकेका देवकोटाले विदेशमा समेत पुगेर आफ्नो कला देखाइसकेका छन्।

कर्म दिने आमा जति सुकै भए पनि जन्म दिने आमा आमा नै हुन्छिन। लोकसंगीत भित्र पनि असल कर्म गर्ने हो भने सस्तो लोकप्रियताबाट टाढा रहन सर्जकलाई उनले आग्रह गरेका छन्।

‘लोकसंगित भित्र आउँदै गरेका विकृति र विसङ्गति हटाउन यहाँहरूको पनि ठूलो भूमिका रहन्छ। भाईरल चिजहरूलाई मात्र होइन मौलिक चिजलाई पनि स्थान दिनुपर्छ,’ उनले भने।

नारायण रायामाझीलाई गुरू मान्ने देवकोटाले नेपाली संगीत बजारमा ८० वटाभन्दा बढी गीत लगाइसकेका छन्। सिरिष वर्षमा फाट्टफुट्ट एक दुई वटा मात्र गीत निकाल्छन्। उनका हरेक गीतहरू परिवारका सदस्यले एकसाथ बसेर सुन्न र हेर्न मिल्ने खालका रहेको दाबी उनको छ।

‘अहिलेको बजार त कस्तो छ भने दुई दिनलाई चल्ने गीत ल्यायो अनि हिट भयो । तर मेरो गीत त्यस्तो हुँदैन । जीवन्त हुन्छ। संख्यात्मक हिसाबले मेरा रोइला गीतहरू धेरै चलेका छन्’, उनले भने।

आफ्नै लय, शब्द स्वर वाचनमा एल्बल निकाल्दै आएका देवकोटाले अहिलेसम्म एक दर्जन बढी एल्बम निकालेका छन्। पाँच दर्जन बढी गीतमा स्वर दिएका उनी व्यवसायीयक भीडियो रोईलामा नेपालमै पहिलो एल्बमकर्ताको रुपमा चिनिन्छन्। उनले गाउने अधिकांश गितहरु आमा टुल्कादेवी देवकोटाले संकलन गरेकी हुन्।

‘म त आउने थिईनँ...’, ‘करूवामा पानी....’, ‘दुर्गा हो की भवानी...., माया लाउन मिल्छ र, अन्तिम भेट उनका चर्चीत लोक गीत हुन्। शहिदको रगत र आयो है साईला दाई उनका राष्ट्रभक्ति गीत हुन्।

लोक संगीत मार्फत हाम्रा पुराना कला संस्कृतिलाई जोगाउनु कर्तव्य रहेको बताउने देवकोटा पुराना कला संस्कृतिलाई अहिलेका पिढिले पनि सुन्न पाउँनु र त्यसलाई जोगाई राख्नु सबै कलाकरहरुको जिम्मेवारी रहेको बताउँछन्।

प्रकाशित मिति: : 2019-08-27 15:49:27

प्रतिकृया दिनुहोस्