लाको मायाँ अर्कैलाई चन्दा भो, आउने जाने मूल बाटो बन्द भो
रानी घाटैमा किन काँडा रोप्यौ नि निरमाया आउने बाटैमा....।
गायिका शर्मिला गुरुङलाई आफूले गाएका गीतहरुमध्येमा यो गीत निकै नै मन पर्ने गीत हो। मोडेल भन्दा पनि गाउँघर डाँडा भन्ज्याङमा घन्किने शब्दहरुलाई टपक्क टिपेर मालामा उनेरझैं मीठो लय हाली गाउने गर्छिन् उनी।
गुरूङलाई भावनामा बगेर गाउन साह्रै मन पर्छ। छ सय भन्दा बढी गीतमा स्वर दिसकेकि शर्मिला भन्छिन्– मलाई उछ्रिङ्खल गीत गाउन सुहाउँदैन र मलाई मायाँ गर्ने दर्शकहरुलाई सधै पुरानो गीत गाएर बिउझाइरहन्छु।
झण्डै देड दशक लोक सङ्गीतमा एकछत्र राज गर्न सफल गायिका शर्मिलाको जन्म वि.सं.२०३५ सालमा स्याङ्जाको वालिङ् नगरपालिका वडा नं चार खाल्टिमा भयो।
गुरूङको परिवारमा अहिले बाबा आमा १ जना भाइ र १ बहिनी छिन्। उनी अहिले काठमाडौंमा बहिनी र आमा बुवासँग बसिरहेकि छिन् भने भाइ अस्ट्रेलियामा छन्।
उनी सानोमा स्याङ्जाको रत्ने मावि सामुदायिक विद्यालयमा पढिन् सम्भवतः सबैलाई आफ्नो बाल्यकाल प्यारो नै हुन्छ तसर्थ उनलाई पनि आफ्नो बाल्यकाल निकै प्यारो लाग्छ यस अर्थमा कि उनले कैयौ वसन्त गाउँमै विताइन्।
गाउँमा हुने पूजाआजामा दोहोरी गाएर रात कटाएकि गुरुङ बेलाबखत सम्झिन्छिन् ती दिनहरु। उनी भन्छिन् –साल त याद छैन तर आफु सानो हुँदा घर मा टिभी थिएन र टिभी हेर्न ठूलो बुवाको घरमा साथीहरुसँग जाने गर्थें।
पछि बुवाले टिभी लिएर आउनु भयो अनि एन्टिना झुन्ड्याएर हेर्ने गर्यौं झ्यारझ्यार गर्दै टिप्ने नेपाल टेलिभिजनलाई।
कुराकानीको सिलसिलामा एकछिन मौन बनेर सम्झिदै उनले सुनाइन्– गीत मैलै १७/१८ वर्षको उमेरबाट गाउन सुरु गरेँ। तर, स्कुलबाट घर फर्किदा घाँस काट्न जान्थेँ अनि अन्य काम गर्दा रेडियोबाट बज्ने गीत सङ्गीत मेरो समय बिताउनको लागि ओखति नै बनेका थिए।
त्यति बेला पोखराको क्षेत्रीय प्रसारण उनी निकै सुन्ने गर्दथिन्। उतिबेला अहिलेको जस्तो पहिले रेडियो थिएन कि त रेडियो नेपाल, होइन भने क्षेत्रीय प्रसारण सुन्नु पर्थ्यो।
२०५५ सालमा पोखरा दोहोरी साँझमा काम गर्ने अवसर स्याङ्जा कै एक जना दाजुले दिनुभएछ। तर, बाबाको रहर छोरी पढोस् र घरजम गरेर बसोस् भन्ने थियो। उनको आफ्नो जीवन भन्नु नै गीत भएको कारणले गर्दा सङ्गीतलाई छोड्न सकिनन्।
उनी भन्छिन– बुवा आमाका अगाडि लोक सङ्गितमा हाम फाल्नका लागि मैले धेरै पापड बेल्नुपर्यो। त्यसै त गुरुङ, उसैमा बाबा इन्डियन आर्मी, निकै कडा स्वभावको हुनुहुन्थ्यो।
गाउँ वरपर साङ्गीतिक कार्यक्रम हुँदा लोकदोहोरीमा भाग लिन जादा आमाले बुवालाई जानकारी नै नदिइकन लुकाएर मलाई पैसा दिनु हुन्थ्यो।
पोखरामा जाँदा पनि नपढेकै कारण उनका बाबा आमाले मान्नु भएको थिएन। छोरी मान्छे घरै बस भन्नु हुन्थ्यो। तर पनि जसो त्यसो गरेर बाबा आमालाई मनाएर उनी पोखरा गइन्। पुकार दोहोरी साँझमा अरु गायक गायिकाहरुलाई जस्तो उनले दुःख पाउन परेन। किनकि, उनको गायन प्रतिभालाई धेरैले मन पराउने गर्थे।
सुरुमै दोहोरी साँझबाट ७ हजार पाउन थालिन्, दोहोरी साँझमा मात्र नभएर विभिन्न प्रतियोगीताहरुमा भाग लिने गर्थिन् उनी। उनी स्वर परीक्षा दिन काठमाडौंमा २०५५ सालको अन्त्यमा आइन् र स्वर परीक्षामा पास हुन सफल पनि भइन गुरूङ।
२०५६ सालमा स्वर परीक्षा दिइसकेपछि भेट भएछ वरिष्ट गायक पुरुषोत्तम न्यौपानेसँग। न्यौपानेले भनेछन्– बहिनी तिम्रो स्वर राम्रो छ मैले तिमीलाई निलो पछ्यौरी बोलको गीत गाउन दिन्छु।
यो नै उनको रेकर्डिङ दुनियाँमा पहिलो अवसर थियो। दस वर्षसम्म विभिन्न दोहोरी साँझमा काम गरिसकेकि दोहोरी खेल्नमा खप्पिस दोहोरी क्वीनको यात्रा सुरु भयो निलो पछ्यऔरीबाट।
रामदी पुल तर्ने बितिक्कै, बाँचे भेट मरे त यति कै हो गीत चर्चामारहे। सबैको जीवनमा नमिठो पल हुने गर्छ त्यस्तै यीनको जिवनमा पनि नमिठो पल छ।
उनी भन्छिन्– पोखराबाट भाइसँग पाल्पा जाने बेलामा ठूलो गाडी दुर्घटनामा हामी पर्यौ, सङ्गीतबाट नै बिदा लिन मन लाग्यो र केही महिना लिएँ पनि। तर, फेरि समालिएँ।
लोकगीतमा आफ्नो विशिष्ट पहिचान बनाएकी गायिका शर्मिला गुरुङ स्टेज कार्यक्रमहरुमा सिङ्गापुर, साउदी कतार, हङ्कङलगायत विभिन्न देशहरुमा घुमिसकेकि छन्।
उनलाई जीवन दुःख सुखको संगमम जस्तो लाग्छ। हिजोका दिनमा अरुको शब्दमा गीत गाइरहने गुरूङ अचेल आफैं शब्द सङ्कलन गरेर पनि गाउने गर्छिन्।
पारिश्रमिकताका विषयमा उनी त्यति खुल्न चाहिनन्। उन्ले भनिन्– यो महङ्गिमा लाउन खान पुगेकै छ, अरूले गीत गाउन दियो भन्दैमा धेरै डिमान्ड गरेर काम छैन त्यहिँ अनुसारको आफूले सिर्जना दिन पनि सक्छ।
विवाहको बारेमा अझै सोँच बनाइ नसकेको बताउने सुरिलो आवाजकी धनी गुरूङ आफ्नो भाषाका गीतहरु दश वटाभन्दा बढिरहेको बताउँछिन्।
मौलिक शब्दहरु मन पराउने शर्मिलाले तीज गीतहरु पनि गाएकि छिन्।। होइन अरूको जाने बेला भएन र?, मनको धनी, हाम फालेर मर्यो कि, त्रिशूलीको पानीमा, भाग्य बिरानो, माइति यसै गरि, मिरमि मुनि कालि थुनेका, मेरो माया छ भने जस्ता चर्चित गीतहरुदेखि रोइला गीतहरुमा के के भन्छु, थाहा छैन।
घाँसले होकि कुँडोले? सालैजो, फूलको थुँगा असिना झार्योलगायतका अन्य गीतहरुमा आवाज दिएकि छिन्।
चर्चित अनि शालिन गायिका शर्मिलाले आगामी दिनमा अझैं सफलताको शिखर चुमुन्। शुभकामना।