विश्वसम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबारको डबलीमा आयोजित समारोहमा पत्रकार दामोदर न्यौपानेको ‘सम्पदा लडाइँ’ पुस्तकको आज सार्वजनिकीकरण गरिएको छ।
वरिष्ठ गीतकार एवं कवि दुर्गालाल श्रेष्ठले उक्त पुस्तकको सार्वजनिकीकरण गर्दै मुलुकमा सम्पदा संरक्षणको लडाइँमा रहनेका लागि पुस्तक ब्रह्मस्त्र जस्तै रहने विश्वास व्यक्त गरे।
सम्पदा संरक्षणमा विशिष्ठ योगदान दिँदै आएका स्रष्टा रवीन पुरीले सम्पदा के हो, किन संरक्षण गर्नुपर्छ भन्ने विषयमा जानकारी दिने उद्देश्यले प्रकाशित पुस्तकमा लेखकले ऐन, सन्धि र ऐतिहासिक दस्तावेजबाट प्रमाणीकरण भएका सम्पदासम्बन्धी तथ्य र तथ्याङ्क हुबुहु प्रस्तुत गर्न सफल भएको बताए।
समालोचक ज्ञानु अधिकारीले ‘सम्पदा लडाइँ’मा ३४ आत्मपरक निबन्धमा काठमाडौँ उपत्यकाका सम्पदा, त्यसमाथि भएको अतिक्रमण र बचाउन गरिएको प्रयासका विषयलाई निकै गहनरुपमा प्रस्तुत गरिएको बताए। अधिवक्ता प्रकाशमणि शर्माले सम्पदा र संस्कृति राष्ट्रको जीवन भएकाले यसको संरक्षण र सम्वद्र्धनका विषयमा सरकार, अभियन्ता र नागरिकबीच मतैक्यता हुनुपर्ने बताए।
पुस्तकका स्रष्टा न्यौपानेले हाम्रा सम्पदा समुन्नतिका प्रतीक र राष्ट्रिय परिचयका संवाहक भए पनि किन उपेक्षित भए, कसले ग¥यो र अब कसरी संरक्षणका लागि एकाकार हुने भन्ने विषय ‘सम्पदा लडाइँ’मा समाविष्ट रहेको जानकारी दिए। स्रष्टाले सम्पदाको दुवाई, रक्षकै भक्षक, काष्ठमण्डपमा उठेको आवाज, सम्पदाको मुटुः जग, पुरातात्विकस्थलको विनाश, विकासको शहीद खुला सङ्ग्रहालय, सम्पदामा ज्यादती, प्राचीन बस्तीमा विकासले दिएको तनाव, विकास होइन विनाश, रानीपोखरी नजिर र जागरणको एक घण्टीलगायत शीर्षकभित्र रहेर सम्पदाको चित्रण गरेका छन्।
सम्पदा र संकृति मुलुकको पहिचान र संस्कृति भएकाले सरकार एकातिर अभियन्ता अर्कोतर्फ सभ्यता, पहिचान र राष्ट्रियताका मुद्दामा एउटै मोर्चामा ‘वाच डग’का रुपमा रहेर लड्नपर्ने आवश्यकतामा स्रष्टाहरुले जोड दिएका थिए। साङ्ग्रीला बुक्सले प्रकाशित गरेको ५११ पृष्ठको ‘सम्पदा लडाइँ’को मूल्य रु ७५० रहेको छ।