माछापुछ्रे शीरको पानि फेवातालमा आइछ।
झल्को किन लाग्यो भन्थेँ भेट हुन पो रैछ।।
माझी दाइ पोखरा फेवा तालको, लाम माया साँच्चैको नलाम भो ख्याल ख्यालको....।
कोही पोखरा घुम्न जाँदैछ, पोखरामै छ, पोखराको बारेमा केही खबर आएका छन् वा पोखरा जान्न्न चाहन्छ भने सबैभन्दा पहिले दिमागले सम्झिइने गीत हो 'माझी दाई पोखरा फोवा तालको....' स्वर मिठो हाोस नहोस् मान्छेले गुनगुनाइदिन्छ, 'माझी दाइ...।'
यो गीत बजारमा आएको धेरै भैसक्यो। पुरानो गीत हो। तर ‘पल्ड इज गाोल्ड' भनेझैं सबैले गनगुनाइरहेका छन्। सबैको ओठ–ओठमा झुन्डिरहेको छ। पोखरा र माझि दाइको एक अनौठो साइनो छ भन्दा फरक नपर्ला। त्यसैले यो गीत सदाबाहार भएर टाँसिएको छ पोखराको सुन्दरतासँग, पोख्रेलीको मनसँग।
पोखरासँग मात्र होइन कालिकोट–जुम्लासँग पनि साइनो गाँसिने गीत अर्को छ, उस्तै रूचाइएको। २०६३ चैत २८ गते कर्णाली राजमार्गको विधिवत रुपमा उद्घाटन भयो। त्यहीबेला एउटा गीत निकै सुनियो, रूचाइयो।
झल्को लाली ओठको...
बाटो खुल्यो, मोटर चल्यो, जुम्ला–कालिकोटको ।।
त्यसपछि पोखरा वा पश्चिमाञ्चलको लोक दोहोरीका पारखीलेमात्र होइन। मध्य र सुदूरपश्चिमका देउडाका उस्दातलेसमेत उही गायकको स्वर रूचाए।
त्यसपछि कालिकोट पँलाताका मान्छेले होसा या सिंजा ओदिका मान्छेले चिने, सुने, पोख्रेलीहरुले झैं माया गरे, चर्चित गायक मिलन लामालाई। दुर दराजका गाउँलेले देखुन वा नदेखुन तर चिन्छन्। गीत सुन्दै उनको चित्र बनाउँछन्, मनमनै।
लामाको माझि दाइ....मा, फेवा ताल र पोखराको सुन्दर भूगोलको मात्र वर्णन गरिएको छैन। यसमा फेवा ताल घुम्न आउने जोडिको पनि चित्रण गरिएको छ। सुन्दर भूगोलमा मिसिएको मायामाप्रेमको प्रभावले नै होला सायद!, पोखरालाई माया नगर्ने कमै होलान्। त्यतिमात्र होइन माया प्रेममा परेर वा बिहे पछि एक पटक प्रेम पोख्न पोखरा नजाने मान्छेहरु कमै भटिएलान्। पोखरा जस्तो माल ठाउँमा, त्यहीँको गीत गाएर कामल गर्दिए, मिलन लामाले।
यति धेरै रूचाइएको गीत गाएका लामा भन्छन्, ‘फेवाताल बाहिरी आँखाले हेर्दा निकै सुन्दर छ, माछाको पुच्छर जस्तै हिमालको चुचुरो भएको । अनि भित्रि आँखाले हेर्दा पनि उत्तिकै सुन्दर छ।’
त्यो एक दिन उनी पोखरा फेवाताल गएका थिए। जब फेवातालको डुङ्गामा चढे। तालको सुन्दर मनमोहक दृश्य हेर्दै गुनगुनाए ‘माछापुछ्रे शीरको पानी फेवातालमा आइछ, झल्को किन लाग्यो भन्थे.....।’ यस्तो जीवन्त गीतमा स्वर दिन पाएकोमा मिलन मख्ख छन्।
सुन्न पाएकोमा हामी मख्ख छौं। यो गीतले मिलन र स्रोताबीच एउटा गज्जबको साइनो स्थापित गर्यो। अझ भनौं यो गीतले, मिलन लामा र स्रोताबीचको सम्बन्धलाई प्रगाढ बनाइदियो।
चितवनमा जन्मिएका मिलन यति बेला गीत कमै मात्रामा गाइरहेका छन्। ‘गलकोटे साइलो’, ‘घरमा पराल बारीमा बन्सो’ लगायत चर्चित गीतबाट स्रोता र दर्शकहरुको मन जितेका लामाले भने शिक्षकको मन जितेका थिएनन्।
किताबसँगको गतिलो साइनो गाँसेका थिएनन्। स्कुले दिनहरु सम्झिदै उनी भन्छन् ‘पढ्दा म पास बहादुर मात्र हो। सानोमा गुच्चा खेल्दा खुब मज्जा आँउथ्यो, निकै रमाइलो हुन्थ्यो। पढाइभन्दा बढी ध्यान खेल्नमा जान्थ्यो। त्यसैले पास बहादुर भन्दा बढी हुने सुर पनि चलेन, रहर पनि जागेन।’
उनी सानो छँदा उनका बाबाले चिया पसल राखेका थिए, उनी त्यतै रमाउँथे। बाल्यकालका हजार स्मृतिहरु एकसाथ लहरै भन्ने उनी साइकल चलाएको, सुँगाका बच्चा छोपेको, पकेट खर्चका लागि बेचेको आदि सम्झिँदा भावुक हुन्छन्। ‘असाध्यै रमाइलो थियो, त्यो बालापन।'
समय उस्तै रहँदैन। संसारमा केही पनि स्थिर छैन। सबै परिवर्तनशील छ। समयले मिलनलाई चर्चित गायक बनायो। सबै समयकै खेल मान्नुपर्छ उनी गायकमा मात्र होइन समाज सेवामा समेत चर्चित छन्।
उनी आफूले गायन क्षेत्रबाट कमाएको पच्चीस प्रतिशत रकम गरिब बालबालिकाहरुको पनपाठनका लागि खर्चिदै आएका छन्। बिएल नेपालीसँग कुरा गर्दै उनले भने ‘सेवा नै धर्म हो ।’
जीवन सँधै एउटै धारमा नबग्ने बताउने मिलन आजभोलि गीत रेकर्ड गराउन भन्दा बढी स्टेजहरुमा व्यस्त छन्। गीत, संगीतको बजार सँधै उस्तै हुँदैन। हिजोको असाध्यै रुचाइएको गायक आज नरुचाइन सक्छ। पुरानाहरु जान्छन्। नयाँहरु आउँछन्। यो परिवर्तित समयको माग हो।
यसो भएन भने गीत संगीतको विकास पनि हुँदैन। तर, बजार माग घटेसँगै गायकहरुमा निराशा छाउन सुरु हुन्छ। आम्दानीको स्रोत विस्तारै कमजोर हुँदै जान्छ र एउटा गायक क्रमश निराश बन्दै जान्छ।
उनी आफ्नै बारेमा भन्छन् ‘हिजो, अस्ति बजारमा मेरो माग थियो। आजभोलि त्यो छैन आजीवन गीत संगीतमा बिताएका गायक, सर्जकलाइ राज्यले हेर्नुपर्छ। उमेरमा सबैको मनमा पस्यो। तर, मर्ने बेलामा न कोही न केही।’
एसएलसीलाई फलामे ढोका नमान्ने मिलनले जिन्दगीको फलामे ढोका अरु थुप्रै हुने बताए। ‘सम्भावना हामी भित्रै हुन्छ। खोज्न मात्र सक्नुपर्छ। त्यो बाहिर ल्याउन सक्नु नै फलामे ढोका पार गर्नु हो।’
चितवनको सामुदायिक विद्यालयमा पढेका मिलनले चौतारी कल्चर हाउस पनि सञ्चालन गरेका थिए। सुरूमा आफ्नो संस्कृतिमुलक गीत गाउने उनी पछि लोक गीत गाउन थाले। लोक गीतमा उनी निकै जमे पनि। २०५९ सालको विनाशकारी बाढीले कल्चर हाउस भत्काइदियो। त्यसले उनलाई निराश बनायो।
‘दुःख पछि सुख आउँछ’ भनेझैं उनको जिन्दगीमा पनि त्यस्तै भयो। निम्न वर्गीय परिवारमा जन्मेका उनलाई गायन क्षेत्रमा स्थापित हुन उती सजिलो थिएन। तर, उनका गीत झैं मिठा संयोग मान्नुपर्छ उनलाई गीत गाउनका लागि मित'बाका छोरा लगानी गरिदिए।
मितबाका छोरा दाता बनेर नआउँदा हुन् त सायद मिलनलाई आज कसैले चिन्ने थिएनन्। राष्ट्रको हिरा समुद्रको गहिराइमै रहने थियो।
पहिलो गीतपछि लामाले संगीत क्षेत्रमा पाइला हाल्न पाए। यसरी संगीत क्षेत्रमा छिरेका पाइला अगाडि चाल्न र बढाइरहन सजिलो थिएन। चानचुने संघर्षले आजको मिलन हुन सकिने थिएन। लामो संघर्षको प्रतिफल, उनी आफ्नो क्षेत्रमा अब्बल सावित भएका छन्।
समाज सेवामा पनि नाम कमाएका उनी आफू चर्चामा आउन चाहँदैनन्। भन्छन् ‘म समाज सेवामा छु भन्ने कुरा बसैलाई थाहा हुनुपर्छ भन्ने छैन। आफ्नो आत्माले थाहा पाए हुन्छ। बुढापाकाले भनेजस्तो ‘दाइने हातले दिएको देब्रे हातले पनि चाल पाउनु हुन्न है बाबु' भनेर।’
तर उनी पछिल्लो समय केही निराश छन्। सर्जकमा राज्यको लगानी नहुँदा उनको मन थोरै खिन्न भएको छ। मौलिक गायक र पुराना सर्जकहरुलाई कसैले पनि बिर्सिन नहुने बताउँदै भन्छन्, ‘यतिबेला म जिन्दगीको डिलमा बसेर हेर्दै छु, क–कस्ले मलाइ सम्झिरहेछ?’