‘प्रेम नाम हे मेरा’, हिन्दी फिल्म रुचाउने जो कोहीका लागि यो संवाद नयाँ र अनौंठो होइन। हिन्दी चलचित्र उद्योग ‘बलिउड’ को कुरा आउँदा जो कसैको आँखामा घुम्ने ३–४ जना खलनायकको तस्वीर भित्र अटाउँछन्, प्रेम चोपडा।
उनी बलिउडका यस्ता कलाकार हुन्, जसले खलनायक विद्यालाई नयाँ आयाम दिएका थिए। बलिउडमा उनको विशिष्ट पहिचान छ।
हिन्दी फिल्मका यिनै चर्चित खलनायक प्रेम चोपडा २३ सेप्टेम्बरका दिन ८४ मा टेकेका छन्।
प्रेम चोपडाको जन्म १९३५ मा पाकिस्तानको लाहोरमा भएको थियो। त्यति बेला भारत र पाकिस्तानबीच विभाजन भइसकेको थिएन। उनी चोपडा परिवारको ६ भाईबहिनीमध्ये तेस्रो नम्बरमा जन्मिएका थिए।
सन् १९४७ मा भारत र पाकिस्तानबीच विभाजन भएपछि उनको परिवार भारतको सिमलामा आएर बसेको थियो। प्रेम चोपडाले आफ्नो प्रारम्भिक शिक्षा पनि त्यहीँबाट पुरा गरे।
उनले पञ्जाव विश्वविद्यालयबाट स्नातक गरेका छन्। उनी कलेज जीवनदेखि नै अभिनयतर्फ मोडिएका थिए। उनको बुवाको सपना थियो, छोरालाई डाक्टर बनाउने।
तर, उनले बुवालाई स्पष्ट पारिसकेका थिए, आफ्नो रुचिको बारेमा।
उनी पचासको दशकमै हिरो बन्ने सपना बोकेर ‘मायानगरी’ मुम्बईं हानिएका थिए। तर, उनले सोचे जस्तो सजिलो भएन। उनले सुरुका दिनमा कसैले नपाएको दुःख पाए।
यसैबीच उनले एउटा पञ्जावी फिल्म ‘चौधरी कर्नेल सिंह’ मा काम गर्ने अवसर पाए। यो फिल्म सुपरहिट सावित भयो। यसले उनलाई दर्शकमाझ पहिचान बनाउन सहयोग गर्यो।
सन् १९८४ मै प्रेम चोपडाले हिन्दी फिल्म ‘वो कौन थी’ मा प्रभावशाली भूमिका प्राप्त गरे। राज खोसलाको निर्देशनमा निर्माण भएको यो फिल्ममा त्यति बेलाका सुपर स्टार मनोज कुमार र साधनाको मुख्य भूमिका थियो।
रहस्य र रोमाञ्चकताले भरिएको फिल्ममा प्रेम चोपडाले खलनायकको भूमिका निर्वाह गर्ने मौका पाएका थिए। फिल्म सुपरडुपर हिट भयो। यही फिल्मका कारण प्रेम चोपडाको पहिचान नै खलनायकको बन्न पुग्यो।
सन् १९६५ मा प्रेम चोपडाले देशभक्तिबाट ओतप्रोत भएको फिल्म ‘शहिद’ मा पनि भूमिका निर्वाह गर्ने मौका नपाएका होइनन्। उनको अभिनयबाट दर्शकले चित्त पनि बुझाएका थिए। तर, दर्शकहरूलाई ‘वो कौन थी’ जस्तो मजा आएन। यसबीचमा प्रेम चोपडाले ‘तीसरी मञ्जिल’, ‘मेरा साया’ जस्तो फिल्ममा पनि अभिनय गर्ने मौका पाए। यी फिल्महरूमा उनी विविध भूमिकामा देखा परे।
सन् १९६७ मा उनले मनोज कुमारको अर्को फिल्म ‘उपकार’ मा पनि काम गर्ने मौका पाए। भारतका पूर्वप्रधानमन्त्री लालबहादुर शास्त्रीको नारा ‘जय जवान, जय किशान’ बाट प्रभावित यस फिल्ममा प्रेम चोपडाले मनोज कुमारको भाईको भूमिका निर्वाह गरेका थिए।
‘उपकार’ को सफलतापछि प्रेम चोपडालाई ठूलो ब्यानरबाट फिल्मको प्रस्ताव आउन थाल्यो। उनले ‘अराउन्ड द वर्ल्ड’, ‘झुक गया आसमान’, ‘डोली’, ‘दो रास्ते’, ‘पुरब और पश्चिम’, ‘प्रेम पुजारी’, ‘कटी पतंग’, ‘दो रास्ते’, ‘हरे रामा हरे कृष्णा’, ‘गोरा और काला’, ‘अपराधी’ जस्ता फिल्ममा अभिनय गरे।
सन् १९७३ मा सार्वजनिक भएको फिल्म ‘बबी’ प्रेम चोपडाको सिने करिअरका लागि ‘माइलस्टोन’ सावित भयो। भारतीय सिनेमाका ‘सोम्यान’ मानिने राजकपुरको निर्देशनमा बनेको यो फिल्ममा प्रेम चोपडा एउटा स्थानीय गुन्डाको छोटो भूमिकामा देखा परेका थिए। फिल्ममा उनले बोलेको संवाद ‘प्रेम नाम हे मेरा’ यति ठूलो हिट सावित भयो। आज पनि खलनायकको भूमिकालाई दर्शाउनु पर्दा धेरैले यही संवाद दोहर्याउने गर्छन्।
प्रेम चोपडाले आफ्नो ५ दशक लामो फिल्मी करिअरमा लगभग ३ सय ८० फिल्ममा अभिनय गरेका छन्।
प्रेम चोपडाले नेपालको पहिलो व्यवसायिक फिल्म ‘माइतीघर’ मा पनि अभिनय गरेका थिए। देव आनन्दले निर्माण गरेको ‘हरे रामा हरे कृष्णा’ फिल्मको सुटिङका लागि पनि उनी काठमाडौं आएका थिए।