काठमाडौंमा पुनः जाग्यो सुदूर–पश्चिम, देवु वोरा एकल नृत्य साँझमा झुमे काठमाडौंबासी

तस्बिरः बिएल नेपाली सेवा

नृत्य निर्देशक देवु वोराले राजधानीमा सुदूर र मध्यपश्चिमका विभिन्न १५ वटा मौलिक गीत संगीतमा नृत्य गर्दै काठमाडौंमा सुदूरपश्चिमलाई जगाएका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबार आयोजित कार्यक्रममा वोराले विभिन्न लोकप्रिय गायकका स्वरमा सजिएका कालजयी १५ वटा गीतमा नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा उनलाई आफ्नै शिष्यहरूले साथ दिएका थिए।

कार्यक्रममा सुदूर–पश्चिमका पुराना देउडा गायक अन्तराम विष्ट र कलाकार देवु वोरालाई यसै वर्ष स्थापित ‘हिमाल देउडा रत्न’ सम्मान दिएको छ। उनीहरूले पुरस्कारस्वरूप ५० हजार नगद राशिसहित सम्मानपत्र पाए।

विगत लामो समयदेखि आफ्नो मौलिक पोशाकमा सुदूर र मध्यपश्चिमको गीत संगीतलाई नृत्यका माध्यमबाट देश विदेशमा चिनाइराखेका देवु वोरा क्यान्डिल नृत्यबाट चिनिएका थिए।

पुर्ख्यौली घर बैतडी भई धनगढी कैलालीमा जन्मिका वोरा प्रतिभाशाली सर्जक हुन्। उनकी जीवनसाथी जमुना नाटक क्षेत्रमा राम्रो अभिनय गर्ने प्रतिभाका रूपमा चिनिन्छन्। सुदूरपश्चिम डोटीमा संयोगले भेटिएका नीर शाहले उनको नृत्य मन पराएपछि उनी काठमाडौं आएका थिए।

शाहले उनलाई नेपाल प्रज्ञा प्रतिष्ठानमा जागिर मिलाइदिनुका साथै विभिन्न कार्यक्रममा नृत्य गर्ने मौकासमेत दिएका थिए।

विभिन्न जातजातिका पोशाक लगाएर नृत्य गर्न सिपालु वोराले सुदूरपूर्वका पनि थुप्रै गीतमा कोरियोग्राफी गर्नुका साथै नृत्य प्रस्तुत गरिसकेका छन्।

काठमाडौंको कालोपुलमा आफ्नै नृत्य केन्द्र चलाएर बसेका वोराका बारेमा धेरै पटक कलम चलाएका हेमन्त विवशकै पहलमा एकल नृत्य साँझको आयोजना भएको हो। कार्यक्रमलाई हिमाल डेन्टल हस्पिटलले आयोजना गरेको हो।

प्रकाशित मिति: : 2019-09-26 19:12:24

प्रतिकृया दिनुहोस्