जेबी टुहुरेको गीतमा जब मुख्यमन्त्री राई छमछम नाचे

बिएल

शिरमा भदगाउँले टोपी। टिपिकल सर्टपेन्ट र सटमाथि स्टकोटमा सजिएका जनगायक जेबी टुहुरे। शनिबार साँझ विराटनगरस्थित वीरेन्द्र सभागृह हलको मञ्चमा उभिँदा टुहुरेलाई तालीको गडगडाहटसँगै स्वागत नगर्ने कुनै दर्शक थिएनन्। 

जेबी टुहुरे फाउण्डेसनले आयोजना गरेको टुहुरेको एकल सांगीतिक साँझमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सम्मान गरेपछि उनको प्रस्तुति आरम्भ भयो– ‘आमा तिम्रो माया कञ्चन पानी जस्तो.....’ बोलको गीतबाट।

टुहुरेले दोस्रो गीत छोराहरू हो, छोरीहरू हो, वीर छोराछोरीहरू... प्रस्तुत गरिरहँदा हलले ताली बजाएर स्वागत गरेको थियो। ७६ वर्षको उमेरमा पनि युवा जोस जाँगरमा प्रस्तुत भएका टुहुरेले ‘दुःखको बोझ बिसाउन चौतारी बनाउ है... गीत प्रस्तुत गर्दा सबैको आँखा रसाएको थियो।

पञ्चयात कालदेखि जनता जगाउने गीत गाउँदै आएका टुहुरेले २६ वर्षको उमेरमा गाएको ‘बसाइँ हिड्नेको ताँतीले, बस्नेको मन रुवाउँछ... बोलको गीतले सबैलाई भावुक बनायो। टुहुरेले एकल साँझमा कोसीको पानी सलल...., पानी चल्दैन रे, रगत चल्दछ..., बरु मेरो छात्ती छेड.. जस्ता १३ वटा गीत प्रस्तुत गरे।

टुहुरेले कालजयी गीत आमा दिदी बहिनी हो.......... सुरु गर्दा मुख्यमन्त्री राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेसहितले नाचेर उनलाई साथ दिएका थिए।
करिव २ घण्टा लगातार प्रस्तुति दिँदा पनि उनको स्वरमा वृद्धावस्थाको कुनै छनक देखिएन। पुरानै जोसमा उनी प्रस्तुत भएका थिए।

मुख्यमन्त्री शेरधन जेबी टुहुरेलाई सम्मान गर्दै।

टुहुरेलाई साथ दिन मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरे, विराटनगर महानगरपालिका उपप्रमुख इन्दीरा कार्की कार्यक्रमको सुरुदेखि अन्तिमसम्म सभा हलमा उपस्थित थिए।

यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीसहित सांसदहरु, दलका नेता तथा कार्यकर्ता, उद्योगी, व्यापरी र सर्वसाधरणले भरपुर मनोरञ्जन लिएका थिए।

पञ्चायत कालदेखि गीतसंगीतको माध्यमबाट जनतालाई जगाउँदै आफू जन्मे हुर्केको ठाउँमा एकल सांगीतिक प्रस्तुति दिन पाउँदा निक्कै रमाइलो भएको टुहुरेले अनुभूति सुनाए। टुहुरेलाई एकल साँगीतिक साझमा गायिका मधु गुरूङ्ग, गंगा राई, गायक आकाश थापा, सञ्जिव धिमालले साथ दिएका थिए।

कार्यक्रममा मुख्यमन्त्री राईले परिवर्तनको आन्दोलनमा गीत, संगीतको माध्यमबाट जनगायक जेबी टुहुरेले खेलेको भूमिका अतुलनीय रहेको बताए। संघीय गणतन्त्र र लोकतन्त्र स्थापनाको श्रेय पनि जनगायक टुहुरेहरुलाई जाने उनको भनाइ थियो।

विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले परिवर्तनको आन्दोलनमा ठूलो योगदान पु¥याएका टुहुरेको साँगीतिक साँझ विराटनगरमा आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिए ।

 

प्रकाशित मिति: : 2019-09-30 14:58:09

प्रतिकृया दिनुहोस्