हरि शरणम्.....!!
मान्छे जवान भए पनि बुढी आमाको अभिनय गरिरहेकी केहीमा एक देख्नुहुन्छ भने ती लक्ष्मी भुसाल हुन्। यत्ति भइसकेपछि सम्पूर्ण नेपालीको मनमा बस्न सफल हुने नै भइन्।
काठमाडौंको डिल्लीबजारमा जन्मिएकी उनलाई धार्मिक हुन मनपर्छ। उनी एक सामान्य नागरिक हुन्। भन्छिन्, 'तडकभडक गरेको मन पर्दैन।'
उनले लामो समयसम्म रेडियोमा बुढी आमाको अभिनय गरिन्। रेडियोबाटै जेटिएको भूमिका खेलेकी उनले हालसम्म जिरे खुर्सानी, मेरि बास्सै जस्ता टेलिसिरियलमा मात्र नभएर 'शिशिर सोल्टिनी' लगायत १५ भन्दा बढी नेपाली चलचित्रहरुमा गरिसकेकी छिन्।
२०२३ साल मंसिरमा १५ वर्षको उमेरदेखि नै जागिर खाएकी लक्ष्मी भन्छिन्, 'मैले संयोगले जागिर खाएँ।'
उनी संयोगले खान पाएको जागिरको संयोगलाई यसरी व्यक्त गर्छिन्, 'मंसिरको महिना थियो। सिंहदरबारमा एक जना दिदीको काम भएकाले म पनि उहाँको हात समाएर सँगै गएकी थिएँ। त्यति बेला सिंहदरबार जान पास चाहिदैन थियो। अहिलेको भन्दा धेरै स्वतन्त्रता थियो। त्यहाँ गाडी थियो। साथीहरूले भन्ने गर्थ्ये ऐना हेर्दा मान्छे आफैं ऐनामा देखिन्छ। त्यसपछि मैले पनि आफैंलाई ऐनामा हेर्न थालेँ। कृषि सूचना केन्द्रका किरण दिक्षित सरले बोलाउनुभयो। अनि म अफिसमा गएँ। सरले मलाई कफी खान्छौं भनेर सोध्नुभयो। मैले हुन्छ भनेँ।
एकछिन पछि सरले फेरि सोध्नुभयो जागिर खान्छौं भनेर? मलाई जागिर भनेको के हो? थाहा थिएन। तर पनि हुन्छ भनेँ। त्यसको भोलिपल्टबाट १५ वर्षको कलिलो उमेरमा डिल्लिबजारबाट सिंहदरबारसम्मको यात्रा सुरु भयो।'
कफी खाँदाखाँदै जागिर सुरु गरेकी भुसालसँग जीवनका थुप्रै रोचक अनुभूति छन्। उनीसँग बस्दा फिल्मको रिलझैं उल्टो घुमाउँदै आफ्नो विगतसम्म पुगाउँछिन्।
कृषि सूचना केन्द्रमा लामो समय काम गरेकी उनी पढाइमा पनि अब्बल थिइन्। घरमा बुवाले श्री स्वस्थानी व्रत कथा पढ्दा निकै ध्यान दिएर सुन्ने हुनाले नैं उनी धार्मिक भएकी हुन्।
बुढी आमाको अभिनय गर्ने उनको हरि शरणम! भन्ने थेगो सबैले मन पराएका छन्। त्यसैले अहिले पनि उनलाई सबैले रेडियो नेपालकी बुढी आमा भनेर चिन्छन्।
घरका पाँच छोराछोरी मध्ये उनी काँइली हुन्। उनका बुवा नेपाल प्रहरीमा जागिरे थिए।
हाल लक्ष्मी जोरपाटीमा बस्दै आएकी छिन्। रेडियो नेपालको कृषि कार्यक्रममा बुढी आमाको भूमिकामा सुनिने उनको आवाजले नै उनलाई लोकप्रिय बनाएको हो। उनले खेलेका अरू नाटक र फिल्म भन्दा पनि आम मान्छेले उनलाई बुढी आमाबाट नै चिन्छन्।
उनले दरबार स्कुलमा शिक्षा हासिल गरेकी हुन्। बुवा सरकारी जागिरे भएकाले उनको पढाइ लेखाइमा समस्या आएन। तर, आफ्नै जागिर जीवन भने बढो चुनौतिपूर्ण भयो।
उनले अभिनय गर्दा जत्तिको सारा नेपाली मख्ख पर्थे। त्यति घर परिवार र चिनजानका मान्छेहरु पर्दैन थिए। अभिनय एउटा कला हो। एउटा पेसा हो। सानो काम हो। यसरी भन्दा भुसालले रेडियोको काम समग्र कामको हिस्सामा एउटा तिल बराबर मात्र हो। तर, समय नै त्यस्तो थियो, तिललाई पहाड बनाउने। उनको घरपरिवारले पनि त्यसलाई पहाड नै बनायो। बहिष्करणको शृङ्खला त्यहीँबाट सुरू भयो। संघर्षको मैदानमा उत्रन पनि त्यसैले सिकायो।
उनी १७ वर्षकी हुँदा घरबाट लखेटिन पनि पर्यो। घरबाट लखेटिनुको कारण अरु केही थिएन। उहीँ रेडियोमा गरिने अभिनय र जागिर थियो। उतिबेलाको जमानामा रेडियोमा बोल्ने मान्छेको चरित्र नराम्रो हुन्छ भन्ने थियो। उनले रेडियोमा नाटक खेल्न लागेको कसैलाई थाहा थिएन। एक दिन उनले घरमा जानकारी दिनुपर्छ भन्ने लागेर भनिन्। उनलाई लागेको थियो बुवाआमा खुसी हुन्छन् भनेर। तर, त्यसले उनीहरुलाई निकै दुःखी बनायो।
जसको परिणाम उनलाई घर छेड्नुपर्ने बाध्यता आइलाग्यो। घर छोड्नु पर्यो, छोडिन् पनि। तर, उनले जागिर छोडिनन्। हाल उनी कृषि सूचना केन्द्रको अधिकृत छन्।
सानैदेखि बुवा आमाको लाड प्यारमा हुर्केकी उनलाई त्यो समयमा बुवा आमाले माया नगर्दा मर्न मन लागेर आयो। तनाब भुल्न ठूला मान्छेले चुरोट खाएको देखेर उनले पनि चुरोट खाइन्।
एक दिन उनी साथिहरुसँग मिलेर मर्न भनेर इनार नजिक गइन्। तीन जना साथी थिए। त्यहीँ बसेर सबैले चुरोट खाए। अनि इनारमा हाम्फ हालेर मर्ने योजना थियो। तर को अगाडि हाम्फ हाल्ने भन्ने कुरा नमिलेपछि त्यो आत्महत्याको योजना तुहियो।
कृषि कार्यक्रममा अभिनय गर्दाका उनका थुप्रै अनुभवहरु छन्। कति मिठा छन् त कति अमिला। कतिपय रमाइला पनि छन्। त्यही कार्यक्रमले नै उनी धेरैको प्रेरणाको स्रोत बन्न सकिन्। उनीले नाटकबाट दिएको सल्लाहकै कारण धेरैले कृषि कर्म थालेका थिए।
केही रमाइला क्षणहरु पनि छन्। एक दिन उनी नजिकैको दोकानमा मसला किन्न गएकी थिइन्। दोकानवाला उनको कार्यक्रम सुन्दै बसेका थिए। उनकी श्रीमती छतमा बसकी थिइन्। उनले भुसालको अभिनयको तारिफ गर्दै श्रीमतीलाई गाली गरे। 'रेडियोकी बुढीले कति राम्रो कुरा गर्छिन् तँ खालि सुतेरै मात्र बस्।' त्यहीबेला श्रीमतीले भुसाललाई रिस पोखीन, 'त्यो बुढिले गर्दा जहिले पनि हाम्रो घरमा झगडा हुन्छ। त्यो बुढी मरे पनि हुन्थ्यो।' बुढाबुढी झगडा गर्दै थिए। उनी मुसुमुसु हाँस्दै त्यहाँबाट लागिन्।
आफ्नै घरबाट बहिस्करणमा परेकी उनले जीवनभर थुप्रै संघर्ष गरिन्। लामो समय कोठाभाडामा बसिन्। काठमाडौंमा कोठा भाडामा बस्दाका दिनहरु याद गर्दै अभिलेख राखियो भने पनि महाभारत जत्तिको कथा बन्छ होला।
उनी १८-१९ वर्षकी हुँदा मान्छेहरुले सजिलै कोठा भाडा दिन मान्दैन थिए। कति पटक घरबेटिलाई ढाँडेर बस्नुपर्यो।
ती दिनहरु सम्झिदा उनी अहिले पनि नोस्टाल्जिक हुन्छिन्, 'धेरै मान्छेले सोध्थे, श्रीमान खोई?, बच्चाबच्ची खोई? म गाउँतिरै छन् भन्थे।' उनले थपिन्, '५३-५४ वर्ष अघि मट्टीतेल एक रूपैया पचास पैसामा पाइने भएकोले गर्दा खासै समस्या भएन।'
उनले पुरै जीवन कृषि कार्यक्रमलाई दिइन्। सारा नेपालीले उनलाई सुनिदिए। उनलाई मन पराइदिए। हाल उनी धार्मिक गतिविधिमा सक्रिय हुन थालेकी छिन्। भजन गाउने र लेख्ने गर्छिन्।
भुसाल भन्छिन्, 'जीवन संघर्ष रहेछ। सानो उमेरमा बुवा आमासँग संघर्ष गरेँ, अहिले बुढेसकालमा प्रेसर र सुगरसँग लडिरहेकी छु।' यत्ति भन्दै गर्दा उनको मुखबाट एक वाक्य फुत्किन्छ, 'हरि शरणम्...!!'