कैलालीकी श्रेष्ठ प्रिया पत्थरलाई ‘गजल प्रतिभा सम्मान -२०७६’ दिइने

दूरपश्चिम कैलालीकी गजलकार श्रेष्ठ प्रिया पत्थर

गजल सन्ध्या पोखराद्वारा प्रदान गरिने ‘गजल प्रतिभा सम्मान -२०७६’ सुदूरपश्चिम कैलालीकी गजलकार श्रेष्ठ प्रिया पत्थरलाई प्रदान गरिने भएको छ।

नेपाली गजलको क्षेत्रमा  महत्वपूर्ण  योगदान पुर्‍याउने  गजलकारहरुलाई  प्रदान गरिने गजल प्रतिभा सम्मानको राशी रु २१हजार १ सय ११ रुपैयाँ  रहेको छ।

सन्ध्याले देशका विभिन्न ठाउँमा रहेर नेपाली गजलको विकास, विस्तार र गुणस्तरीय लेखनमा सक्रिय  गजलकारहरू  मध्येबाट छनोट गरि यो सम्मान प्रदान गर्दै आएको छ।

यही कात्तिक ९ गते शनिबार पोखरामा एक समारोह बिच कवि ढाका थापाले स्थापना गरेको २ लाख रुपैयाँको अक्षयकोष मार्फत गजलकार पत्थरलाई सम्मान गर्ने गजल सन्ध्याले निर्णय गरेको छ। गजलकार दिपक समिपको संयोजकत्वमा बनेको प्रतिभा छनोट समितिले यो निर्णय गरेको हो।

नेपाली  गजलको दायरा फराकिलो बनाउने र बिधालाई मर्यादित तथा ओजपूर्ण बनाउनमा पत्थरको निकै ठूलो योगदान रहेको छ।

२०४३ सालदेखि गजल लेख्न शुरु गरेको पत्थरले २०५३ सालमा ‘पग्लिएका ब्यथाहरू’ नामक गजल सङ्ग्रह  प्रकाशित गरेकी छन्।

यो गजल सङ्ग्रह  नै नेपाली नारी  गजलकारहरु मध्येको   पहिलो गजल सङ्ग्रह  हो।  उनका  अन्य गजल कृतिहरु पत्थरका प्रलापहरु(२०५९) , आँसुको सौगात (२०६०), ओभाएका छैनन् आँखा (२०६७) पनि प्रकाशित छन्। यी लगायत पत्थरका उपन्यास , कथा, कविता , भूमिका गरि १६ थान पुस्तक प्रकाशित छन् ।

यस अघि ज्ञानुवाकर पौडेल, ललिजन रावल,लक्ष्मण थापा,कृष्ण उदासी ,दिलिप दोषी , सरस्वती श्रेष्ठ सरु, प्रकट पंगेनी शिव ,आरवी फ्लेम, ईश्वरमणि अधिकारी ,घनश्याम परिश्रमीलाई गजल प्रतिभा सम्मान प्रदान गरिएको छ।

गजल सन्ध्या नेपाल लामो समय देखि पोखरालाई केन्द्र बनाएर नेपाली गजलको क्षेत्रमा काम गर्ने नेतृत्वदायी संस्था हो। यसले हरेक महिनाको दोस्रो शनिबार नियमित गजल वाचन र तेस्रो शनिबार देशका विभिन्न ठाउँमा पुगेर जीवनजगतको यथार्थबोधका लागि अक्षरयात्रा साहित्यिक अभियान गर्दै आएको छ।

प्रकाशित मिति: : 2019-10-16 09:07:34

प्रतिकृया दिनुहोस्