नेपाली सिने जगतका चर्चित अभिनेता भुवन केसी पर्सा आफ्नो मामा घर भएको बताउँछन्।
नेपाली चलचित्र स्वर्णिम महोत्सवको अवसरमा वीरगन्ज आईपुगेका अभिनेता भुवन केसीले वीरगन्ज शहरमा आफू अतिथिको रूपमा नभई आफ्नै शहरमा आईपुगेको दाबी गर्छन्।
पर्साको महुवन गर्दौलमा मामा घर हुँदा बाल्यकालमा प्रत्येक वर्ष वीरगन्ज आईरहने उनी हजुरआमा बितेपछि लामो समय यता आउनन्।
२० वर्ष पछि वीरगन्ज महोत्सवको मौका छोपेर उनी वीरगन्ज शहरमा आउँदा पुरानो दिन झल्झली सम्झिए।
बाल्यकालमा मामा घर आउँदाको रमाईलो पल अविस्मरणीय सम्झना बनेर उनको मनमा बसिरहेको छ।
वीरगन्ज आउदाँ उनी बयल गाडामा चढेर नहरको बाटो हुँदै मामा घर गएको सुनाउँछन्।
‘बयल गाडामा बसेर मामा घर जाँदा २ घण्टा समय लाग्थ्यो,’आफ्नो रमाईलो बालापन स्मरण गर्दै उनले मामाघरको खेत बारी डुल्दा भएको रमाइलो लाग्ने बताए।
मामा माईजुले गाउँ छोडे पनि अझै खेत बारी बाँकी रहेको भन्दै कलाकार केसीले दिदीको घर अहिले पनि श्रीपुरमा रहेको र वीरगन्जको आदर्शनगरमा केही आफन्तजन रहेको बताए।
२० वर्षको लामो समय पछि वीरगंज आउँदा शहरको खाली बस्ती घना बस्तिमा परीणत भएको र सडकहरु अलि साघुँरो भएको पाए। तर, वीरगंज आज पनि बाल्यकाल जत्तिकै रमाईलो भएको उनको अनुभव छ।
वीरगन्जवासीको माया र प्रेममा कुनै फरक नभएको बताउँदै उनले आफू फिल्ममा निकै व्यस्त भएकाले वीरगन्ज लामो समय देखि आउन नसकेको बताए।
वीरगन्जवासीले नेपाली सिनेमालाई हिन्दी सिनेमा जत्तिकै मन पराउने गरेको उनको विश्वास छ। तर, कतिपय नेपाली फिल्म तराईका जिल्लामा खासै प्रचार प्रसार नभएकाले दर्शकलाई जानकारी नहुँदा फिल्म नचलेको बताए।
नेपाली फिल्मको बजारलाई तराईमा खासै ध्यान नदिएकाले पनि वीरगन्जलगायतका क्षेत्रमा नेपाली फिल्म नचलेको उनको बुझाई छ।
तर अहिले भएको नेपाली चलचित्र स्वर्णिम महोत्सवले गर्दा नेपाली फिल्मप्रति वीरगन्ज बासीको ध्यान पुग्ने र धेरै प्रभावकारी महोत्सव भएको अभिनेता केसीले दाबी गरे।
नेपालमा डिङ्गो किङ भनेर चिनिने अभिनेता भुवन केसी नै हुन्। बुटको फेशन चलाएका कलाकार केसी भन्छन्—‘डिङ्गो बुट आफ्नो लागि लक्की रहेकाले कुनै पनि समारोहमा नछुटाउने गरेको र अधिंकाश समय यहि जुत्ता लगाउने गरेको छु।’
नेपाली सिने जगतमा स्वर्णिम युगका कलाकारको रुपमा ख्याति पाएका कलाकार भुवन केसी जति नै अहिले उनका छोरा अनमोल केसीले नयाँ पुस्ताको नेतृत्व गरिरहेका छन्।
नयाँ पुस्ता माँझ बुवा जस्तै लोकप्रिय भएका छोराको नेपाली चलचित्र क्षेत्रमा भईरहेको उन्नतीप्रति आफू एकदमै खुसी भएको उनले बताए।
अभिनेता केसीका बुवा नेपाल आर्मीमा भए पनि उनलाई कहिल्यै केसीलाई आर्मी बन्ने ईन्छा भएन। र उनले पनि छोरालाई कलाकारनै बन्नुपर्छ भनेर भनेन्।
तर उनका छोराले बाबुकै पेशा अंगाले। ‘एक पिताको नाताले आफ्नो सन्तानले पनि आफूले काम गर्दै आएको पेशा अपनाउँदा निकै नै गर्व महशुस हुन्छ,’ केसीले भने।
नेपाली सिनमाप्रति आफ्नो माया र छोराको झुकावले अनमोल केसी पनि अरू क्षेत्र भन्दा फिल्म मै आफ्नो भविष्य खोजेको अभिनेता केसीको भनाई छ ।
छोरा अनमोल साहसी तथा कामप्रति लगनशील र अनुशासित भएको बानी भुवन केसीलाई मन पर्छ।
छोरा सानैदेखि भगवानप्रति आस्था राख्ने कृष्ण भक्त रहेको र शुद्ध शाकाहारी रहेकोले आफू भाग्यमानी बुवा भएको उनको भनाई छ।
आफू जस्तै भोलिका दिनसम्म दर्शक बीच लोकप्रिय कलाकार बनिरहन सधै छोरालाई कामप्रति लगनशिल र मेहनति भईरहने सुझाव दिने गरेको उनले बताए।
अभिनेता केसी भन्छन्,‘एक सफल कलाकार हुन कलाकारलाई सधै नम्र र मिलनसार हुनुपर्छ अनि मात्र दर्शकको मनमा बस्न सफल भईरहन्छ।’
उनले नयाँ कलाकारलाई फिल्ममा काम गर्दा पैसाको साथै सधै फिल्मको कथा माथि पनि ध्यान दिन सुझाव दिन्छन्।