‘गोविन्दा चले ससुराल’

बिएल

वीरगञ्जको आदर्शनगरमा अवस्थित होटेल ‘लर्ड्स दियालो’ बाहिर बिहीबार हिन्दी चलचित्रका स्टार अभिनेता गोविन्दाको अनुहार हेर्न आतुर भीडमा एक महिला आफ्नो सहपाठीलाई भन्दै थिइन, ‘गोविन्दा महोत्सवलाई नै भनेर कहाँ आएका हुन्? उनी त ससुराली आउँदा महोत्सवमा पो सहभागी भएका हुन्।’ 

झट्ट हेर्दा महिला सामान्य परिवारको देखिन्थिन्। उनको कुरा सुनेपछि भीडमा हासोको पोहोरा नै छुट्यो। तर, मलाई लाग्यो उनले जायजै कुरा गरेकी हुन्। किनभने यति बेला वीरगञ्जमा एउटा कुराले खुब चर्चा पाएको छ। त्यो के भने, गोविन्दा ससुराली आएका हुन्।

वास्तवमा ससुराली शब्द गोविन्दाका लागि निकै प्रिय हुन थालेको छ। काँचको होस् वा वास्तविक दुनिया, गोविन्दाको जीवनसँग ससुरालीको गहिरो सम्बन्ध छ।

९० को दशकमा निकै लोकप्रिय रहेका गोविन्दाको एउटा फिल्म रिलिज भएको थियो। सन् १९९६ को अप्रिल १२ मा रिलिज भएको त्यो फिल्मको नाम थियो, ‘साजन चले ससुराल’।

गोविन्दाले यस फिल्ममा दुई श्रीमतिको श्रीमानको भूमिका निर्वाह गरेका थिए। हास्य विधामा निर्माण गरिएको यो फिल्मले त्यति बेला खुबै प्रशंसा पाएको थियो। बक्स अफिसमा पनि फिल्म सुपरहिट सावित भयो।

उनको यही फिल्मको ‘टाइटल’ अहिले निजी जीवनमा पनि हिट सावित भएको छ। गत वर्ष नेपाली सिने अवार्डमा भाग लिन आउँदा उनले भनेका थिए, ‘नेपाल मेरो ससुराली देश हो। त्यसैले मलाई नेपालको धेरै माया लाग्छ।’

वीरगञ्जमा बिहीबार भएको महोत्सवमा पनि उनले यही कुरा दोहोर्याए, ‘नेपाल त मेरो ससुराली देश हो।’

यति बेला उनले मञ्चमा उपस्थित नेपाली अभिनेत्रीतर्फ हेर्दै ढट्टा गरे–‘उहाँहरू मेरो साली।’

गोविन्दाले यसो भनिरहँदा नेपाली अभिनेत्रीसँग रातो गाउन र सिन्दुर पोतेमा सजिएकी उनकी श्रीमति सुनिता आहुजा मुस्कुराइरहेकी थिइन। भारतमा बसेपनि गोविन्दाकी श्रीमति सुनिता आफूलाई नेपाली छोरी भन्न रुचाउँछिन्।

गोविन्दाले यसअघि पनि विभिन्न कार्यक्रममा भन्दै आइरहेका छन्– ‘म भारतबाहिर कुनै देशमा जाँदा कसैले भिनाजु भनेर मलाई सम्बोधन गर्यो भने मलाई बुझन् गाह्रो पर्दैन, उ नेपाली हो भनेर।’

उनको यो भनाईले पनि बुझन् सकिन्छ, उनी चलचित्र महोत्सवमा अतिथिको रूपमा मात्र आएका होइनन्, आफ्नो ससुराली देश पनि हेर्न आएका हुन्।

वीरगञ्जमा सम्पन्न चलचित्र महोत्सवमा बलिउड स्टार गोविन्दाले झण्डै २५ मिनेट दर्शकलाई नचाए। कार्यक्रममा उनले आफ्नै आवाजमा रेकर्ड भएको केही चर्चित गीत पनि सुनाए, ‘अगनामे बाबा दुआरे पे मा’, ‘सरकाइले खटिया जाँडा लगे’, ‘लाल दुपटेवाली तेरा नाम तो बता’ र ‘एक दुसरे से करते है प्यार हम’।

कार्यक्रमको अन्त्यमा उनले चर्चित फिल्म ‘दुल्हे राजा’ को एउटा गीत ‘सुनो ससुरजी अब जिद्द छोडो, मानलो मेरी बात, दुल्हन तो जाएगी दुल्हे राजा के साथ,’ गाए। जुन गीतमा निर्माता अकाश अधिकारी मज्जाले नाचेका थिए।

ससुरालाई जिस्क्याइएको यो गीतमा छमछमी नाचेका गोविन्दाले फेरि दर्शक माझ भने– नेपाल त मेरो ससुराली देश हो।

हुनत् गोविन्दा आफ्नो फिल्मको छायाँकनका लागि पहिले पनि नेपाल आउने गर्थे। गोविन्दा र भारतिय अभिनेत्री रमैयाको चर्चित फिल्म ‘बनारसी बाबु’ को अधिकांश छायाँकन नेपाल मै भएको थियो। जसको शिर्षक गीत ‘पान का एक बिडा खिला दो जी’ को पुरै छायाँकन काठमाडौंमा भएको थियो।

त्यति बेला उनले नेपाली मिडियासामू कहिल्यै भनेनन्–नेपाल आफ्नो ससुराली देश हो भनेर। त्यसैले ९० को दशकमा गोविन्दा नेपाल आउँदा नेपाली मिडियाले खासै उनलाई महत्व दिएको थिएन।

तर पछिल्लो समय उनले नेपाल आफ्नो ससुराली देश हो भनेर घोषणा गरेपछि नेपाली दर्शकले उनलाई बलिउडको हिरोको रूपमा मात्र होइन, आफ्नै परिवारको सदस्यको रूपमा बुझ्ने गर्छन।

प्रकाशित मिति: : 2019-11-10 16:50:38

प्रतिकृया दिनुहोस्