‘भर्सटायल’ नेपाली गायकको सूचीमा राजेशपायल राईको नाम अग्रपंक्तिमा आउँछ । खोटाङको लेक्पामा जन्मेका राईको सांगीतिक उडान धेरैका लागि प्रेरणादायी छ । झण्डै अढाई दशकको सांगीतिक यात्रामा राईका १८ वटा गीति एल्वम निस्केका छन् । थुप्रै ‘कीर्तिमान’ बनाएका राई सबैभन्दा धेरै गीत गाउने नेपाली गायक हुन् ।
झण्डै पाँच सय नेपाली फिल्मका एक हजार पाँच सय जति गीतमा स्वर दिएका छन् । उनको स्वरमा जम्मा ७ देखि ८ हजार गीत रेकर्ड छन् । यतिमात्र होइन, एकैदिनमा ९ गीत रेकर्ड गर्ने, नेपाली फिल्ममा अभिनय गर्ने, गायनकै लागि नाइजेरियासम्म पुग्ने, राष्ट्रियगानमा स्वर दिने, एकैपल्ट ४ गीति एल्वम सार्वजनिक गर्ने गायकको कीर्तिमान राजेशपायलका नाममा छन् ।
कुनैबेला अत्यधिक मदिरा सेवनले मृत्युको मुखमा पुगेका राई अहिले सबैखाले नशा छोडेर तन्दुरुस्त छन् । नेपाली सांगीतिक जगतमा सधैं नाम, काम, दाम र सम्मान पाइरहेका उनै राजेशपायल राई भरखरै क्यानडाको टोरन्टोमा कन्सर्ट गरेर फर्केका छन्।
प्रस्तुत छ, ‘राई इज किङ’ समेत भनेर परिचित उनै गायक राईसँग सांगीतिक करिअर, विदेश भ्रमण, फ्यान फलोइङ, वैवाहिक योजना आदिको सेरोफेरोमा रहेर ‘ब्रेक एण्ड लिंक्स’का लागि टोरन्टोमा गरिएको कुराकानी।
० बाहिर हिउँ पर्नै लाग्दा तपाईंले १२/१५ गीत निरन्तर गाउनु भयो, दर्शक नाचेर पसिनै पसिना भए, कसरी आउँछ यस्तो ऊर्जा ?
सुरुमै म आफैंले खोजिरहेको तर जवाफ फेला नपारेको प्रश्न गर्नुभयो । आफैंलाई सोध्दै आएको छु, यो देश विदेशबाट सधैंभर आउने निम्तो, फ्यानको कहिले नघट्ने क्रेज र सधैंको व्यस्त सेड्युलको राज के हो ? कोही कोही बेला आफैंलाई चिमोट्छु र सोध्छु, ‘के म ठीकै त छु ?’ चिमोट्दा दुख्छ, अनि सोच्छु– सबै ठीकै त छ । र, निर्क्यौल निकाल्छु, संगीतप्रतिको समर्पणले प्राप्त सफलता नै यसको राज हो । अर्को कुरा पनि भनिहालुँ, गाउनुअघि म आजकल अभ्यास पनि गर्दिनँ । ६०/७० गीतको ट्रयाक भएको ल्यापटप बोकेर हिँड्छु । उस्तै परे २५/३० गीत निरन्तर गाउन सक्छु ।
० आजकल ४० काट्नुलाई घरजम गरेर रमाउने उमेर भन्छन्, तपाईं भने उही अल्लारेपारामा गाइरहनु भएको छ, नचाइरहनु भएको छ ?
कोही पहिल्यैदेखि रमाइरहेको छ, गाइरहेको छ, नाचिरहेको छ भने किन ४० नै पर्खिनुपर्यो र ? म किशोरावस्थाबाटै संगीतमा लागें । यसैबाट नाम, दाम र सम्मान कमाएँ । संगीतमै सुख र दुःख भोगें । संगीत सिर्जनात्मक काम हो, यसमा रिटायर भइन्नँ । बाँचुञ्जेल संगीतमै केही न केही गरिन्छ । रह्यो घरजमको कुरा, त्यो त एकदिन पक्कै होला नि !
पानीपँधेरै त नभनौं, आउजाउ बाक्लिएको चाहिँ पक्कै हो । अमेरिका ९ र क्यानडा ४ पटक आउजाउ गरेंछु ।
० राजेशपायल राईले ‘घरजम गर्ने’ त्यो ‘एकदिन’ कहिले आउला, कि यो पहिल्यै जस्तो दर्शक स्रोता झुक्याउने ‘गफ’ मात्र हो ?
हेर्नुस्, म विवाहबारे नकारात्मक मान्छे होइन । नेपाली समाजमा किशोरावस्था पार गरेपछि नै विवाहको मेलोमेसो सुरु हुन्छ । त्यस अर्थमा मात्र म ढिलो भएको हुँ । बुबाआमा, आफन्तजन र शुभेच्छुकले झक्झक्याइरहने पनि यही विवाहकै कुरामा हो । म पक्कै गर्नेछु, तर कहिले भन्ने चाहिँ अहिले ठोकुवा गर्न सक्दिनँ ।
० ‘हुनेवाली बेहुलीबारे छिट्टै बताउँछु’ भने झैं लाग्छ, विवाह जहिले गरे पनि आज बताइदिनुस् को बन्दैछिन् तपाईंकी अर्धाङ्गिनी ?
ट्रयापमा नपार्नुस् न, त्यस्तो हेराहेर भएको, देखाभेट भएको र डेटिङसेटिङ भएको भए पहिल्यै भनिहाल्थें नि । विवाह पक्कै गर्नेछु तर कहिले, कहाँ र कसलाई भन्ने टुंगो छैन । मेरो संगीतप्रतिको मरिमेटाइ बुझ्ने र सांगीतिक यात्रामा साथ दिने भेट्नसके राम्रो । परिवारको जस्तै आफ्नो पनि चाहना भरसक आफ्नै समुदायको भए झनै उत्तम ।
० अब सांगीतिक यात्रातर्फ नै फर्कौं, तपाईंलाई पहिले हङकङ, कोरिया र खाडी राष्ट्रहरु पानीपँधेरोझैं थियो, अहिले उत्तरअमेरिका त्यस्तै हो ?
पानीपँधेरै त नभनौं, आउजाउ बाक्लिएको चाहिँ पक्कै हो । गन्नैपर्दा अमेरिका ९ र क्यानडा ४ पटक आउजाउ गरेंछु । आफूले चाहेरभन्दा पनि दर्शक/स्रोताले खोजेर त्यस्तो भएको हो । जताबाट अनुरोध आउँछ, कलाकार त्यतै जाने हो । अर्को भुल्न नहुने कुरा, पहिले खाडीतिर मात्रै धेरै नेपाली थिए । अहिले फैलिँदै युरोप, अमेरिका सबैतिर पुगे । एउटा सत्य चाहिँ के हो भने ४/५ बर्षयता हङकङ, कोरिया र खाडी राष्ट्रहरुभन्दा अष्ट्रेलिया, जापान, बेलायत, युरोपसँगै उत्तरअमेरिकातिर बढी गाइरहेको छु ।
अहिले चलाइरहेको १२औं पासपोर्ट हो। ११ पासपोर्ट भिसाका स्ट्याम्पले भरिएपछि १२ औं बनाएको हो।
० नेपाल छोडेको तीन महिना नाघ्यो क्यारे, क्यानडाबाट फेरि अमेरिका नै फर्किंदै हुनुहुन्छ, लगत्तै जापान, कहिलेसम्म यस्तो दौडधूप ?
बर्षमा ६ महिनाभन्दा धेरै विदेशै हुन्छु । अहिले चलाइरहेको १२औं पासपोर्ट हो । ११ पासपोर्ट भिसाका स्ट्याम्पले भरिएपछि १२औं बनाएको हुँ । स्वदेश हुँदा जिल्ला–जिल्ला पुगिरहन्छु । सुरुमा अर्को हप्ता के गर्ने भन्ने हुन्थ्यो ? पछि अर्को महिना के गर्छु भन्ने भो ? अहिले अर्को बर्षको सेड्युल अघिल्लै बर्ष बन्न थाल्यो । रोजेको, खोजेको र चाहेको एक मात्र काम संगीत हो । त्यसरी अपहत्ते गरेको रुचिमा जतिसुकै दौडधुप गर्नपरे पनि कमै थकान हुन्छ । आफ्नो स्वरले सिर्जना गरेको गोरेटोलाई सधैंको साधनाले फराकिलो पार्दै जाँदा सर्वत्र यात्रा गर्दै कन्सर्ट गर्न सकेको हुँ । यस्तोमा गलें, थाकें भन्नुपर्ने सवालै छैन ।
पहिलो विदेश यात्रा र विदेशी कन्सर्ट कहाँ कहिले थियो, सम्झिनुहुन्छ ?
सम्झिन्छु नि । ‘मुर्च्छना’ एल्वम निस्किएपछि हङकङ गएको थिएँ । हङकङमै थियो पहिलो कन्सर्ट पनि । यो सन् १९९७ को कुरा हो । भूतपूर्व सैनिक संघ हङकङले कन्सर्ट गरेको थियो । यति मात्रै होइन, त्यो कन्सर्टमा ‘नमाग मसँग सहारा नमाग...’ र नारायणगोपालको ‘लौ सुन म भन्छु मेरो रामकहानी...’ गीत गाएको कहिल्यै बिसिन्नँ ।
० त्यो पहिलो कन्सर्टपछि तपाईंका लागि हङकङ चाहिँ साँच्चिकै पानीपँधेरो भयो क्यारे ?
यस् अफ कोर्स । हङकङलाई चाहिँ पानीपँधेरै भन्दा हुन्छ । तर, एउटा कुरा भुल्न हुँदैन । हामीलाई पानीको जति महत्व हुन्छ, पँधेराको उत्तिकै । नजिक भएर पनि पँधेरो कहिल्यै हेलामा पर्दैन । हङकङमा मैले २७ पल्ट कन्सर्ट गरिसकेको छु । कुनै नेपाली कलाकारले तत्कालै मेरो यो रेकर्ड ब्रेक गर्ला भन्ने लाग्दैन । त्यही पनि अझै हङकङ जाउँ जाउँ लाग्छ । किनकि, हङकङका नेपालीले मलाई बिछट्टै माया गर्छन् । अर्को भुल्न नहुने कुरा, रक्सीको नशाले धूत भएर गाउनै नसक्दा हङकङले मलाई माफी दियो अनि इमिग्रेसनको कुरामा मतभेद हुँदा हिरासतमा पनि बस्नुपर्यो ।
० सबैभन्दा धेरै विदेशमा कन्सर्ट गर्ने नेपाली गायक हुनुहुन्छ, विदेश यात्राका अनेकौं तीतामिठा क्षणमध्ये कुनै एउटा सम्झिनुहुन्छ ?
गन्तव्य नयाँ होस् वा पुरानै, हरेकपल्ट गरिने यात्रा नयाँ हुन्छन् । पहिले पत्रिका र किताव पढ्दै उडिन्थ्यो, अहिले फिल्म र गीत हेर्दै/सुन्दै उडिन्छ । परिवर्तन प्रविधिमा मात्र होइन, नियम कानुनमा पनि भएको छ । त्यही नियम कानुन फेरिँदा हङकङमै २४ घण्टा हिरासतमा बस्नुपर्यो । ‘वर्क पर्मिटबिनै कन्सर्टमा गाएर पैसा लिने’ भन्ने कुरामा मिस अन्डरस्ट्याण्डिङ हुँदा एअरपोर्टबाटै हिरासतमा लगियो ।
देश विदेशमा हुने सबै कन्सर्टमा पैसाकै लागि मात्र गाउने ‘चुईंयाँ’ गायक होइन म ।
० हङकङको हिरासतपछि त्यस्तो घटना दोहोरिन नदिन अहिले के गर्नुहुन्छ ? विदेशमा गाउनेक्रममा कानुनी फन्दामा नपर्न के गर्नुहुन्छ ?
प्रायः आयोजकले कन्सर्टबारे सम्वन्धित देशको आधिकारिक निकायमा जानकारी गराउँछन् । कहाँ, कहिले, कसले कन्सर्ट गर्दैछ भन्ने कुरा गर्छन् । कतै, नेपाली समुदायका चाडपर्व विशेषमा रम्न रमाउन, खुसी साट्नलाई गाउन लागेको भनेर बताउँछन् । आखिर, विदेशमा हुने कन्सर्ट यस्तै चाडपर्वकै बेलामा त हुन्छन् । बाह्रैमास गाउन विदेश गइन्नँ । तर, उड्नुअघि जाँदै गरेको मुलुकबारे नियम कानुन बुझेर जानु राम्रो हुन्छ । कतिपय ठाउँमा निश्चित कर वा शुल्क तिर्नुपर्ने हुनसक्छ, त्यो तिर्दै आएको छु ।
० ‘महंगो नेपाली गायक’ भनेर पनि चिनिनुहुन्छ, विदेशमा एउटा कन्सर्टको कति लिनुहुन्छ ?
कन्सर्टको उद्देश्य, भइरहेको स्थान र आयोजकको हैसियत हेरेर पारिश्रमिक लिन्छु । सामान्यतः आजकल बेलायतमा हुने कन्सर्टको दुईहजार पाउण्ड लिन्छु । अमेरिकामा तीनहजार डलर । क्यानडामा २५ सय क्यानेडियन डलर । खाडी मुलुकमा दुई हजारदेखि २५ सय डलरसम्म । अर्थात्, दुई लाख रुपैयाँभन्दा माथि नै लिन्छु ।
० नेपालभित्रै चाहिँ कति लिनुहुन्छ ? कि त्यहाँ पनि डलर कन्भर्ट गरेर दुई लाखभन्दा माथि नै ?
स्वदेशभित्र त्यस्तो हुँदैन, अलि ‘सस्तै’ छु । एक लाख रुपैयाँभन्दा कममा चाहिँ गर्दिनँ । अनि, देश विदेशमा हुने सबै कन्सर्टमा पैसाकै लागि मात्र गाउने ‘चुईंयाँ’ गायक होइन म । जस्तो, म जन्मेको खोटाङमा हो । त्यहाँको दिक्तेलमा कन्सर्ट थियो । लिएको डेढ लाख पारिश्रमिक ‘जिल्लाकै विकासका लागि खर्चिनू’ भनेर लगत्तै फर्काएँ । त्यस्तै बेलायतको एक प्रस्तुतिमा लिएको दुई हजार पाउण्ड ‘खेमराज गुरुङ ट्रष्ट’का लागि फर्काएँ । दर्जनौं स्थानमा यसरी सित्तैमा प्रस्तुति दिएको छु ।
मेरो हकमा काठमाडौंमा दुईटा घर हुनु कुन ठूलो कुरा भयो र ?
० एकथरी कलाकार ‘नाचेर गाएर मात्रै बाचिँदैन’ भन्दै विदेशिन हत्ते गर्छन्, तपाईंले भने गाएरै काठमाडौंमा दुईटा घर जोड्नुभयो होइन ?
‘तातै खाउँ जली मरुँ’ टाइपका कलाकार जस्तो होइन नि म । अर्थात्, संगीतमा लागेको छोटो समयमै घर र गाडी मात्र होइन, रातारात भाइरल हुने र ट्रेण्डिङमा आउने तर ६ महिनापछि अत्तोपत्तो नहुनेहरु निकै देखेको छु । सफलता तिनले मात्र पाउँछन्, जसले अविछिन्न साधना गर्छन् । बाँकी त पलायनै हुने हो । यस्तै साधना गर्दै २२ बर्ष पार गरिन्छ भने त्यसैअनुसारको कमाई पनि त हुनुपर्यो । मेरो हकमा काठमाडौंमा दुईटा घर हुनु कुन ठूलो कुरा भयो र ?
० जसरी नेपाली गीत गाउनुहुन्छ, फ्यान पनि नेपाली नै हुने भए। तर, ती फ्यान स्वदेशमा बढी छन् कि विदेशमा?
प्रश्न अलिक सुहाउँदो भएन । नेपाली गीत गाउनेका नेपाली मात्रै फ्यान हुन्नन् जसरी हिन्दी गाउनेका भारतीय मात्र फ्यान हुँदैनन् । नेपालीको संख्या विदेशमा फैलिएसँगै नेपाली भाषाको लहरो पनि फैलिएको छ । तिब्बती र भुटानीमूलका नेपाली पनि मेरा फ्यान हुन् । अमेरिकाको टेक्सस होस् वा डेनमार्कको आरुष, खोटाङको बुइपा होस वा अष्ट्रेलियाको तासमेनिया, इन्टरनेटको पहुँचले नेपाली गीत जुनसुकै कुनामा सुन्न सकिन्छ । क्यानडा होस् वा कोरिया, बहराइन होस् या बेलायत, मेरो कन्सर्टमा नाचेर पसिना निकाल्ने फ्यान असंख्य छन् । त्यो भीडमा अर्कै भाषा बोल्ने र बुर्का लगाउने पनि छन् ।
० विदेशी नेपाली गीतका फ्यान, त्यसमाथि बुर्का लगाउने पनि, यसबारे अलि विस्तृतमा बताउन मिल्दैन ?
हो, मुस्लिम समुदायकी एक विदेशी महिला जो बुर्का पहिरिन्छिन्, उनी पनि मेरी जर्बजस्त फ्यान रहिछन् । नेपालभित्रै भए यो सामान्य हुन्थ्यो, किनकि नेपाली मुस्लिमहरु पनि मेरा फ्यान छन् । तर, यो ओमनको कुरा हो । त्यहाँ कन्सर्ट सकेर नेपाली दर्शक स्रोतासँग भलाकुसारी गर्दैथिएँ । त्यत्तिकैमा कालो बुर्काले शिरदेखि पाउसम्मै छोपेकी एक महिलाले मसँग फोटो खिच्न चाहिन् । सुरुमा छक्क परें, पछि कुरा बुझ्दै जाँदा उनले मेरा धेरै गीत सुनेकी रहिछन् । उनको घरमा नेपाली बस्दारहेछन्, ती नेपालीमार्फत मेरो स्वर सुनेकी रहिछन् । उनीसँग फोटो खिच्दाको त्यो क्षण कहिल्यै भुल्दिनँ ।
० तपाईंलाई ‘जनजाति भएकाले विदेशमा बढी चलेको गायक’ भन्ने आरोप लगाउने पनि छन्, यसबारे के भन्नुहुन्छ ?
नेपाली गीत गाउने जनजाति गायक म मात्रै होइन, दर्जनौं छन् । अनि विदेश बस्ने नेपालीमा अहिले जनजाति मात्र छैनन्, सबै समुदायका उत्तिकै छन् । अर्काको सफलताबाट जल्नेले यस्तो आरोप लगाउने हुन् । मैले जसरी सबै जात जातिलाई उत्तिकै सम्मान गर्छु, मलाई पनि सबैले उत्तिकै रुचाएको पाउँछु । त्यस्तो आरोपबारे मेरो नो कमेन्ट । अर्को भुल्न नहुने कुरा, नेपाल हुञ्जेल ‘मेरो देश, मेरो माटो, मेरो संगीत’ भन्ने कतिपय गायक गायिका पनि विदेश पुगेपछि त्यो राष्ट्रभक्ति भुलेर ग्रीनकार्ड र पीआर लिन उतै भासिन्छन् । मेरो परिवारै बेलायतमा भए पनि मैंले विदेशमा सेटल हुनेबारे कहिले सोचिनँ ।
केही हप्ताभित्रै एउटा गीत रेकर्डनिम्ति मुम्बई जाँदैछु । स्रोताले त्यो गीतमा मेरोसँगै नेहा कक्करको स्वर सुन्नु हुनेछ ।
० २२ बर्षे करिअरमा तीन पुस्ताले नाच्ने गाउने गीत गाउनुभयो, कन्सर्टको यो दौडधूपमाझ सिर्जनाको समय कसरी मिल्छ ?
खोटाङबाट काठमाडौं आएपछि संगीतमा लाग्दा सुरुवाती समयमा नीर शाह, भुवन केसी, नारायण पुरी, शोभित बस्नेत, झरना थापाहरुले निर्माण तथा अभिनय गर्ने फिल्ममा गाएको थिएँ । अहिले उनीहरुका छोरा छोरी स्वयं फिल्म खेल्दैछन्, त्यो पनि मेरै गीतमा नाच्ने गरी । यसरी हेर्दा दुई/तीन पुस्तालाई गाउन नाच्नसक्ने बनाएकोमा खुसी लाग्छ । रह्यो, सिर्जनाको कुरा, स्वदेश विदेश जहाँ बसे पनि नयाँ गीतबारे सोच्छु । शब्द र संगीतबारे गम्छु । रेकर्डिङको काम चाहिँ प्रायः काठमाडौंमै हुन्छ ।
० अन्त्यमा, पुराना गीत गाउँदै कन्सर्ट मात्रै गर्ने कि नयाँ पनि गाउने ? अबको नयाँ सांगीतिक योजना के छ ?
मैंले पुराना मात्र गीत गाएको छैन । बरु तपाईंले मेरा नयाँ गीत नसुने जस्तो लाग्यो । काठमाडौं हुँदा म कहिले दिनैपिच्छे त कहिले हप्तैपिच्छे नयाँ गीत रेकर्ड गराइरहेको हुन्छु । कतिपय फिल्म र एल्वमका साथीहरुले नयाँ गीत रेकर्ड गर्न महिनौंदेखि मलाई पर्खेर बसेका हुन्छन् । ती सबैलाई समय दिएर कन्सर्ट पनि भ्याइरहेको छु । जाँदाजाँदै एउटा कुरा, केही हप्ताभित्रै एउटा गीत रेकर्डनिम्ति मुम्बई जाँदैछु । स्रोताले त्यो गीतमा मेरोसँगै नेहा कक्करको स्वर सुन्नु हुनेछ ।