हात समाई उनलाई खोला तार्नुको मजा बेग्लै थियो ।
सारीको सप्को अलिमाथि सार्नुको मजा बेग्लै थियो ।।
६४ वर्षिय वैंशालु गजलकार प्रकट पंगेनी ‘शिव’ उद्योग वाणिज्य सङ्को सभा हलमा यसरी रङ्गिएपछि दर्शक दीर्घबाट परर ताली पड्कियो।
पछिल्लो समय म्याग्दीमा विभिन्न साहित्यिक संगठनले फरकफरक साहित्यिक स्वादहरु पस्कँदै पछिल्लो युवापुस्तालाई साहित्यतर्फ आकर्षित गर्दै आएका छन्।
त्यस्तै शुक्रबार म्याग्दीको सदरमुकाम बेनीमा प्रणय गजलकार प्रकट पंगेनी ‘शिव’ को उपस्थितिमा दर्जनौं प्रेममय गजलवाचनले उपस्थित साहित्यिक अनुरागीहरुलाई आनन्द दिलाएका थिए ।
युवा सञ्जाल म्याग्दीको आयोजना र म्याग्दी साहित्य सञ्चारको सह–आयोजनामा भएको गजल कार्यक्रममा गजलकार पंगेनीले युवा अवस्थाको प्रेम सम्वन्धहरुबारे चित्रण गर्दै साहित्य अनुरागीहरुलाई मन्त्रमुग्ध बनाएका थिए।
भेल थियो भेलमा उनले डराएर टेक्नै छाडिन्
आलेटाले गर्दै बेला टार्नुको मजा बेग्लै थियो ।
उठ्यो रिमाई फेवातालमा छाल साँझपख ।
हान्यो रिमाई माँझी दाइले जाल साँझपख ।।
तिम्रै हातले भर्दै गिलास पिलाएको छुट्टै मज्जा ।
कोखाई कोखाई गर्दै शितन खुलाएको छुट्टै मज्जा ।।
संसारमा मिलन बिछोड, दुःख सुख जे भए पनि एकअर्कामा प्रेम कहिल्य नमर्ने संदेश पगेनीले गजलबाट दिएका थिए। प्रमुख अतिथि प्रजिअ ज्ञाननाथ ढकालले विभिन्न साहित्यकारुको उपस्थितिले युवापुस्तालाई साहित्यतर्फ रुची र कलम चलाउन सहयोग पुग्ने बताए।
साहित्य अध्ययन तथा लेखनले विभिन्न क्षेत्रमा ब्यस्त रहेका युवा पुस्ताहरुमा क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताए । वरिष्ठ साहित्यकारहरु म्याग्दी भित्र्याएर म्याग्दीको साहित्यलाई राष्ट्रिय स्तरमा पुर्याउन लक्ष्य रहेको म्याग्दी साहित्य सञ्चारका संस्थापक अध्यक्ष घायलश्रीले बताए।
कार्यक्रममा म्याग्दी, पर्वत र वागलुङ्का साहित्यिक सर्जकहरुको उपस्थिति रहेको थियो। युवा सञ्जाल म्याग्दीका अध्यक्ष सन्दिप शर्माको अध्यक्षता, कार्यक्रमका संयोजक दिपक शर्माको स्वागत तथा म्याग्दी साहित्य सञ्चारका अध्यक्ष सन्दिप खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।