आज अमेरिकाको पश्चिमतटीय राज्य क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा ठूलो संख्यामा नेपाली कलाकारको जमघट हुँदैछ।
नेपालीहरूको बाक्लो बसोबास रहेका बे एरियामा आयोजना हुने चौथो समारोहमा यो जमघट हुन लागेको हो। अवार्ड समारोह स्थानीय क्ब्रक्लीमा साँंझ ६ बजेदेेखि राति अबेरसम्म आयोजना हुने बताइएको छ।
केही नेपालबाट आएका र केही यतै अमेरिकामा रहेका कलाकारबीचको यो पुनर्मिलन समारोह जस्तै हो। समारोहमा सहभागी हुन अमेरिकाका विभिन्न राज्यमा रहेका कलाकार पनि सानफ्रान्सिस्को पुग्ने क्रम जारी छ।
समारोहमा यस वर्ष बनेका नेपाली चलचित्रका केही चलचित्रकर्मीलाई उत्कृष्ट ठहराइनेछ, केही पुराना चलचित्रकर्मीलाई सम्मान गरिनेछ, केही चलचित्रप्रेमी र मनकारीहरू पनि सम्मानित हुनेछन् । समारोहमा केही सांस्कृतिक बान्कीहरू प्रस्तुत हुनेछन्।
घरदेशमा होस् वा परदेशमा, नेपाली अवार्ड समारोहमा सारमा हुने भनेको यही नै हो । अवार्ड पाउने खुशी हुने र सामाजिक सञ्जाल तताउने, नपाउँने अवार्ड नपाएको दु:खी हुने र पक्षपात भएको सम्म पनि भन्न भ्याउने- यो पनि कुनै नयाँ कुरा हैन ।
अवार्ड समारोह आयोजना गर्नु घरदेशमा होस् वा परदेशमा सजिलो काम हैन । तर, अप्ठ्यारै भए पनि यस्तो काम गर्ने उत्साहित संस्था र व्यक्तिको कमी छैन, यो एक कोणबाट हेर्दा राम्रो कुरा हो । तर, अर्को कोणबाट हेर्दा यति कष्टसाध्य कामको परिणाम चाँहि के त ? यसको उत्तर भने स्वभाविक रूपमा पाइएको छैन। आयोजना गर्ने र अवार्ड पाउँनेले उपलव्धीमुलक भयो भन्नु एउटा कुरा हो।
आयोजना घरदेशमा गरे पनि परदेशमा गरे पनि- धेरै कुरामा समान रहे पनि परदेशमा आयोजना गर्न सहज हुदैन । घरदेशबाट कलाकारलगायतका पाहुना ल्याएर उनीहरूको सारा व्यवस्था गर्नुरपर्यो, कार्यक्रम आयोजना गर्नुपर्यो, दर्शक जुटाउनु पर्यो - यी सबै काम गर्न परदेशको व्यस्त कार्यतालिका र महंगो डलरको खर्च सहज छैन ।
तैपनि परदेशमा नेपाली अवार्ड समारोह आयोजना गर्ने जाँगर केही समययता घटेको छैन, बढेकै छ । जस्तो अप्ठ्यारो परे पनि, जोखिम उठाउन परे पनि हिम्मत गर्नेहरू बढेकै छन् ।
खासगरी परदेशमा हुने आयोजनालाई लिएर मिश्रित प्रतिक्रिया पाइन्छन् । केही सकारात्मक, केही नकारात्मक । यसो हुनु अस्वभाविक पनि हैन ।
सकारात्मक प्रतिक्रियामा यस्ता आयोजनाले नेपाली चलचित्रलाई ग्लोबलाइज्ड गर्न सहयोग गरेको छ भन्ने नै छ । नकरात्मक प्रतिक्रियाको सार भने यस्ता आयोजना मानव तस्करीका लागि प्रयोग भैरहेको भन्ने नै छ ।
यी दुबै पूरै सत्य हैनन् र पूरै असत्य पनि हैनन् । यिनीहरूमा आंशिक सत्यता छ । सामान्यीकरण गर्न मिल्दैन, तर यस्तो आरोप हावादारी हो भनेर पूरै नकार्न पनि सकिदैन।
नेपालमा पछिल्लो समय विकसित देशमा जान चाहनेको कम छैन, कलाकार होस् वा गैरकलाकार । अपवादलाई छोडेर अधिकांशलाई विकसित देशतिर जानै छ। त्यस्मा यस्ता आयोजना माध्यम नहोलान् भन्न सकिन्न। उत्पादन र उपभोक्ता भएपछि बजार बन्नु स्वभाविक हो।
यस्ता कार्यक्रमले नेपाली चलचित्रको प्रवर्द्धन होला ? यी अवार्ड पाउँने कलाकार र उनीहरूको प्रतिभा साँँच्चैकै सम्मानित भैरहेको होला ? स्वदेशमा होस् वा विदेशमा- यस्ता आयोजनालाई लिएर यस्ता प्रश्न उठ्ने गरेका छन्।
तर, जे जसरी आरोप लगाइन्छ त्यति सजिलो र सामान्य पनि हैन। तर, पनि यस्तो प्रयास नहोला भन्न सकिन्न।
योभन्दा पनि महत्वपूर्ण कुरा यस्ता कार्यक्रमले नेपाली चलचित्रको प्रवर्द्धन होला ? यी अवार्ड पाउँने कलाकार र उनीहरूको प्रतिभा साँँच्चैकै सम्मानित भैरहेको होला ? स्वदेशमा होस् वा विदेशमा- यस्ता आयोजनालाई लिएर यस्ता प्रश्न उठ्ने गरेका छन्।
पछिल्लो समयमा संख्यामा देखिएका यस्ता आयोजनाका बारेमा यस्ता प्रश्न उठ्नु अस्वभाविक हैन । स्वयं त्यस क्षेत्रकै मानिस यस्ता आयोजना कोटरीमा बदलिएको र सिन्डिकेट लागु भएको गुनासो गर्छन्। हुन त यसलाई नपाउनेले राखेको नोट अफ डिसेन्ट पनि भन्ने गरिएको छ। तर, त्यति भनेर पूरै पन्छिन सक्न अवस्था भने छैन।
अमेरिकामा आज आयोजना गरिने चौथो ग्लोबल नेपाली फिल्म अवार्ड समारोह पनि यी क्रिया प्रतिक्रियाभन्दा माथि छैन। अमेरिकामा आयोजना हुने भएकाले पनि यस्तो सोचिनु अस्वभाविक हैन। तर, यसअघि तीनपटक आयोजना भैसकेको यो आयोजनामा मानव तस्करी भएको सुन्नमा आएको छैन। यसको सुखद पक्ष नै यही हो ।
यस आयोजनाका स्वप्नद्रष्टा हुन् भेट्रन कलाकार कृष्ण मल्ल । उनले नेपाल फिल्म सोसाइटी बनाएर त्यसैमार्फत् अमेरिकामा रहेका आफ्ना पुराना सहकर्मी कलाकार साथीहरूको सहयोगमा यो आयोजना गर्दै आएका छन्। पछिल्लो समय यस आयोजनामा एनआरएन अमेरिकामा रहेका कलाकर्म पृष्ठभूमिका मानिस पनि जोडिएका छन्। अरू संघसंस्था पनि जोडिएका छन् ।र, यसले संस्थागत स्वरूप लिदै जाँदा कृष्ण मल्ललाई अलि सजिलो पनि हुँदै होला।
नोभेम्बर २३ मा जापानको टोक्योमा दोस्रो सूर्य इन्टरनेशन अवार्ड आयोजना भएको थियो । नेपाली कलाकारको जम्बो टोली गएको समारोहमा दर्शक नै नभएको प्रेक्षालयको तस्वीर सार्वजनिक भएको थियो । हुन त आयोजक र सहभागीले त्यो तस्वीर कार्यक्रम सुरू हुनु ३० मिनेट पहिलेको भनेर स्पष्टिकरण पनि दिए, नेपालबाट पाहुना बनेर त्यहाँ पुगेकाले कसैले चारसय, कसैले सातसय मानिस भएको पनि दाबी गरे। जसले जे गरे पनि विदेशमा दर्श जम्मा पार्ने काम सजिलो हैन। जति नै विदेशमा आयोजना गरिने र अन्तर्राष्ट्रिय भनिए पनि अपवाद बाहेक भेला हुने भनेको नेपाली दर्शक नै हो।
यसै पनि छुट्टीको बेला नेपालीका कार्यक्रम जुध्ने र अनेक पत्र पत्रमा विभाजित नेपाली समुदायका कारण एकले अर्काको खुट्टा तान्ने रोगले पनि प्रेक्षालय भरिभराउ बनाउन सजिलो छैन।
अमेरिकाको नेपाली डायस्पोरा सम्भवत: सबैभन्दा विभाजित डायस्पोरा हो । प्रस्तुत पृष्ठभूमिमा प्रश्न त उठ्ने भयो, टोक्योको रोग सानफ्रान्सिस्कोमा नसर्ला त ? अर्थात् भरिएला त सानफ्रान्सिस्कोको युसी थियटर ?